‘बंकर’भित्रको कथाः भाग्यले बाँचेका जिन्दगीहरू

जीवन डाँगी

काठमाडौं
AP/Aljazeera/Reuters

‘हामीहरू युद्धभूमिमै छौँ, इजरायलको गाजापट्टी छौँ। बंकर सानो छ, एक हप्तादेखि बंकरभित्रै छौँ। पानी र चाउचाउ खाँदै दिनरात काटिरहेका छौँ। हामीहरूलाई इजरायली सेनाले सुरक्षा दिइरहेको छ। अर्कोतिर आतंकवादीहरूले आतंक मच्चाइरहेका छन्,’ तीन वर्षदेखि इजरायल बसिरहेका राजेन्द्रले भने, ‘हामीहरू मृत्युबाट छलिएका मानिसहरू छौँ। हामीहरू केराबारी र च्याउबारीमा काम गछौँ। अहिले काम ठप्प छ, खाल्डोभित्रै थुनिएका छौँ।’

युद्धग्रस्त इजरायल–गाजाक्षेत्रमै छन्, राेल्पाका राजेन्द्र। अघिल्लो शुक्रबारसम्म उनी कृषि फर्ममै काम गर्थे। तर अहिले काम रोकिएको छ। उनी बंकरभित्र छन्। इजरायलमा युद्ध जारी छ।

बेलाबेला बज्ने ‘साइरन र बमबारी’ राजेन्द्रका लागि नौलो लाग्दैनथ्याे। तर शनिबार एकाबिहानै हमासले गरेको अप्रत्यासित आक्रमण भने डरलाग्दो थियो।

‘आतंकवादीहरू मानिसजस्ता थिएनन्, उनीहरू जनावरजस्तै थिए। हामी यहूदी होइनौँ भन्दापनि गोली हाने, मेराे साथी मारे,’ उनले भने।

‘ज्यान जोगाउँदै, पैसा कमाउँदै’ 

गाजाछेउको इजरायली बंकरमा नेपाली राजेन्द्रजस्ता दर्जनौँ विदेशी कामदारहरू छन्। हमासको आक्रमणमा परी उनका तीनजना थाई साथीहरूले ज्यान गुमाए। उनीहरू सँगसँगै केराबारीमा काम गर्थे। सँगसँगै खाना खान्थे। सँगसँगै छुट्टी मनाउथे। तर राजेन्द्रले तिनै साथीहरू गुमाएका छन्।

राजेन्द्र हिजोआज नेपाल फर्किने सूरमा छैनन्। उनी जन्मभूमिलाई शान्तिभूमि मान्छन् तर सम्भावनाको भूमि मान्दैनन्। इजरायल युद्धभूमि भएपनि ‘ज्यान जोगाउँदै, पैसा कमाउँदै’ बंकरमुनि लुकेकाे बताउँछन् उनी। राजेन्द्रको एउटै कामना छ– ‘आतंकवादीहरूको हार होस्, इजरायलले युद्ध जितोस्।’

सपना बोकेर इजरायल गएका साथीहरू गुमाएँ

प्यालेस्टाइनी लडाकु समूह ‘हमासको आतंक’ छिचोल्दै इजरायलबाट शुक्रबार एकाबिहानै जन्मभूमि फर्किए– दर्जनौँ नेपाली। एघार महिना इजरायलमै बस्नेगरी गएका नेपालीहरू ‘एक महिना नपुग्दै खाली हात’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए।

नेपाल सरकारको पहलमा स्वदेश फर्किने २ सय ५४ नेपालीमध्ये एक थिए– किशोर। उनी र उनीजस्ता दर्जनौँ नेपाली विद्यार्थीहरू ‘मध्यपूर्वको द्वन्द्व छल्दै’ जन्मभूमि फर्किएका छन्। र, दशैँ मनाउन काठमाडौँबाट गाउँतिर हिँडिसके।

कालीकोटका धनकृष्ण आचार्य अर्थात् ‘किशोर’ इजरायलले युद्धको ऐलान गर्दा लेबनानपट्टी थिए। उनी गाजापट्टीमा बमबारी हुँदा बंकरभित्र लुकिरहेका थिए। ‘महसुस हुनेगरी युद्ध आफ्नै आँखाले देखियो। छोटो समयको इजरायल बसाइँमा धेरै कुराहरू सिकियो,’ उनी भन्छन्।

‘आंतकवादी’हरूले अघिल्लो हप्ता इजरायलमाथि एकाएक आक्रमण गर्दा उत्तरपट्टी थिए उनी। तर, हानाहान भइरहेको थियो गाजापट्टी। र, ’बेस्सरी आतंक‘ फैलिँदै थियो देशभर।

अघिल्लो शुक्रबार यहूदीहरू धर्म–उत्सवमा थिए। सूर्य अस्ताएपछि ‘झण्डै २५ घण्टा’ शनिबार सूर्य नअस्ताउन्जेल ‘सब्बात’को समय थियो। यहूदीहरू ‘सब्बात’मा सबै कामकाज भुलिदिन्छन्। बाँकी दिनहरूमा चाहीँ निकै काम गर्छन्। 

इजरायलीहरूका लागि शुक्रबार छुट्टीको समय थियो। मानिसहरू ‘सब्बात’ मनाइरहेका थिए। तर, त्यो मौन–समयको मौका छोपेर ‘आतंकवादी हमास’ले जल, जमिन र आकाशबाट गाजापट्टी आक्रमण गर्‍यो।

बम पड्किँदा जमिनमुनि लुकेकाे र दर्जनौँ देशका साथी–सँगसँगै काम गर्दाका अनेकौँ किस्सा छन् उनीसित। र, अघिल्लो शनिबार जीवनमा एकैपटक आइलाग्यो– अलिकति डर, अलिकति त्रास र अलिकति रहर। एकतिर बमबारी, अर्कोतिर ठूलो समूहमा भागाभाग।

किशोर घर फर्किन पाउँदा जति खुसी छन् त्योभन्दा धेरै उनी दुःखी पनि छन्। हमासको आक्रमणबाट ज्यान गुमाएका १० नेपालीलाई सम्झिरहेका छन्।

‘नेपाल सरकारलाई धन्यवाद छ। म चाडै घर आइपुगेको छु, म खुसी छु। तर मेराेजस्तै सपना बोकेर इजरायल गएका नेपाली साथीहरू हामीसँगै आकाशबाट आएनन्, म निकै पीडामा छु,’ किशोरले भने।

‘हमास लडाकूहरूको आक्रमणबाट कसरी मारिए नेपाली’ भन्ने शंका सबैतिर छ। तर नेपालीहरू कसरी मारिए– एउटा सग्लो प्रश्न पनि छ।

‘हाम्रा साथीहरू बंकरमा थिए, आतंकवादीहरूले बंकरभित्र दुइटा ग्रिनेड फ्याँक्दा ज्यान गुमाएको मैले सुनेँ। पहिलो ग्रिनेड विपिन भन्ने साथीले हमासतिरै फर्कादिएका थिए रे, दोस्रो ग्रिनेड छुन नपाउँदै पड्कियो। र, हमासले अन्धाधुन्ध गोली चलाउँदा १० नेपालीको मृत्यु भयो। अहिले ती विपिन भन्ने साथी बेपत्ता छन्,’ किशोर सुनाउँछन् इजरायलको कहानी।

भात खाँदाखाँदै थाल समातेर बंकरभित्र भाग्यौँ

अघिल्लो हप्तादेखि इजरायल युद्धको सनसनीपूर्ण खबर सबैतिर फैलियो। मिडिया र सामाजिक सञ्जालमा युद्धका दृश्यबाहेक केही छैनन्। तर हमासले इजरायलमाथि आक्रमण गर्दा ‘किशोर’हरू च्याउ टिप्ने काममै थिए। ‘साउथमा निकै आतंक थियो। नर्थतिर त्रस मात्र थियो। बिहानको समय थियो, हामीहरू भने काममा गर्‍यो। ४ घण्टा काम गरेपछि खाना खाँदैथियौँ। एकाएक साइरन बज्यो। खाँदाखाँदै थाल समातेर बंकरभित्र भाग्यौँ,’ उनले भने।

दसैंको मुखका ‘दशा’ बनेर आइलागेको ‘इजरायल–हमास युद्ध’ले १० नेपालीको ज्यान लग्यो। शुक्रबार साढे दुईसय नेपाली विद्यार्थीहरू काठमाडौँ फर्किएपनि काम खोज्दै इजरायल गएका सयौँ मानिसहरू ‘युद्धभूमि’मै छन्। इजरायल ‘शव’हरूकाे राजधानीजस्तै छ। हजाराैँ शव फ्रिजमा राखिएको अधिकारीहरू बताउँछन्।

युद्धको भुमरीमा छ– इजरायल। ‘अरबी र यहूदीबीच मर्ने–मार्ने’ क्रम जारी छ। दुवैपट्टी चार हजारभन्दा बढीले ज्यान गुमाइसके, लाखौँ विस्थापित छन्। गाजापट्टी कुहिँरोभित्र रुमल्लिएको छ। इजरायली सेनाका ट्रकहरूले इजरायल–गाजापट्टीको सडक जाम छ।

इजरायली सेनाले शनिबार गाजामा रहेका ११ लाख मानिसलाई दक्षिणतिर भाग्न उर्दी जारी गरेको छ। गाजामा पानी र बिजुलीको आपूर्ति बन्द गरिएको छ। युद्ध देशभर फैलिएको छ, आतंक संसारभर।

इजरायल–हमास युद्धले सामाजिक कार्यकर्तासहित स्थलगत रिपोर्टिङमा खटिएका दर्जनौँ  पत्रकारहरूकाे  ज्यान लगेको छ। इजरायलबाट हानिएको मिसाइलबाट शुक्रबार रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको छ। अलजजिरा र एएफपी पत्रकार घाइते छन्। गाजा र इजरायलको राजधानी क्षेत्रको रिपोर्टिङमा खटिएका पत्रकारहरू सुरक्षित छैनन्, तैपनि युद्धको कहालीलाग्दो कथा–व्यथा सुनाइरहेका छन्।

‘युद्धले सबै भत्काउँदो रहेछ। भौतिक संरचना मात्र होइन, यहूदीहरूको मन पनि भत्किएको छ। मैले धेरै नागरिकसँग कुराकानी गरेँ, उनीहरू लड्ने–भिड्ने कुरा मात्रै गर्छन्। बालबालिकाहरूको अवस्था सबैभन्दा दयनीय छ। आतंकवादीहरूले क्रूर ढंगले मानिसहरूको मारेको सुन्दा आँखा रसाउँछ,’ भारतीय पत्रकार वैभव पलनीटकरले भनेका छन्। उनी यतिबेला युद्धभूमिमै छन्।

 ‘साच्चिकै सरकार छ भन्ने महसुस भयो’

इजरायलमा फसेका नेपालीलाई बेलैमा घर ल्याउँदा नेपाल सरकार र परराष्ट्रमन्त्री एनपी साउदले राम्रो प्रसंसा बढुलेका छन्। उनी आफैं इजरायलको राजधानी तेल अवीभ पुगे।

र, नेपाल वायुसेवा निगमको वाइडबडी विमानभित्र पालैपालो इजरायलमा फसेका विद्यार्थीहरूलाई स्वागत गरे। ‘यसपालि साच्चिकै सरकार छ भन्ने महसुस भयो,’ मन्त्रीसँगै नेपाल फर्किएका किशोरले भने।

इजरायलमा अलपत्रका बाँकी नेपालीहरूलाई पनि नेपाल फर्काउने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्।

ग्रिनेडको छर्राबाट घाइते भएका तीनजना नेपाली इजरायलमै छन्। उनीहरूको उपचार जारी छ।

र, ‘आतंकवादी हमास’को आक्रमणबाट गत शुक्रबार ज्यान गुमाएका नेपालीहरूको शव ल्याउने प्रक्रियासमेत थालिएको छ। मृतकका परिवार र आफन्तले शव कुरिरहेका छन्।

‘इजरायल–हमास’ युद्धको नमिठो कथा नेपालीहरूले सुनिरहेकै कथा हो। तर शुक्रबार हमासले गरेको आक्रमण र त्यसपछि इजरायल सरकारले घोषणा गरेको युद्धले चाहीँ नेपालीसमेत ‘त्यो युद्धको चपेटा’मा परे।

‘नेपालीहरूको मृत्युको मूल्य साह्रै सस्तो भयो! जहाँपनि हामीहरू नै मर्नुपर्दोरहेछ। अहिले म गाजापट्टीको बंकरभित्र छु, भाग्यले बलियाे रहेछ, अहिलेसम्म बाँचिएकाे छ।,’ युद्धग्रस्त इजरायलबाट राजेन्द्रले भने।


युद्धग्रस्त इजरायबाट शुक्रबार फर्किएका किशोरबाटै सुनौँ ‘किशोरको इजरायल अनुभव’—

प्रकाशित मिति: : 2023-10-15 18:15:00

प्रतिकृया दिनुहोस्

    For this conflict to end countries should stop standing with one instead sit down with both of them that's the first step towards peace now and for posterity.

    • 6 महिना अगाडि
    • Rajeen Chetry