पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ।
जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो।
आइतबार दिउँसो १ः४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो।
उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए। शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।
प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ। मगर सोही कम्पनीमा आबद्ध भई काम गरिरहेका थिए।