बलात्कारपछि घाँटी थिचेर हत्या, ओढारमा भेटियो सात वर्षीया अमृताको शव

कमल विक

काठमाडौं

साथीहरूसँग ‘फ्रि–फायर’ खेल्न भन्दै बिहीबार साँझ घरबाट निस्किएकी अमृता राई त्यसपछि भेटिइनन्।

आमचोक गाउँपालिका– ६, भोजपुरकी ७ वर्षीया अमृता राई घरबाट निस्किएपछि केहीबेर त सधैंजस्तै छोरी कतै खेल्न गएकी होलिन् भनेर उनका बुबा–आमाले वास्ता गरेनन्। तर, अमृता रातिसम्म पनि घर फर्किनन्।

बुबा देवचन्द्र राईसहित गाउँलेहरू अमृताको खोजीमा लागे। रातभरि खोज्दा पनि अमृता भेटिइनन्। रातभर गाउँका सबै घर र आफन्तहरूको पुगेर खोज्दा पनि अमृता भेटिइनन्। त्यसपछि शुक्रबार बिहानै परिवारले अमृता हराएको खबर टेलिफोनमार्फत् प्रहरीलाई गरायो।

चार कक्षामा पढ्ने ७ वर्षीया बालिका हराएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीप पाठकले इलाका प्रहरी कार्यालय बोयाङ र घोडेटारलाई घटनाबारे जानकारी गराए। र, जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक विशाल लिम्बुको कमाण्डमा टाेली परिचालन गरे।

डिएसपी पाठकको निर्देशनअनुासार दुवै प्रहरी निरीक्षक लिम्बुसहित इलाका प्रहरी कार्यालयको टोली अमृताको घर पुग्यो। घर पुगेर सुरुमा परिवारलाई सोधपुच्छ गर्‍यो। सोधपुच्छका क्रममा प्रहरीले एक युवकप्रति शंका गर्‍यो।

ती युवक थिए, २१ वर्षीय दीपचन्द्र राई।

दीपचन्द्र अमृताका छिमेकी हुन्। उनको घरमा तीन साताकी सुत्केरी श्रीमती र बच्चा छन्। प्रहरीका नजर पर्दा दीपचन्द्र मादक पदार्थले लठ्ठिएका थिए।

प्रहरीले दीपचन्द्रको बारेमा गाउँलेहरूसँग गोप्य रुपमा सोधपुच्छ पनि गर्‍यो। त्यसक्रममा बिहीबार साँझ उनले नै अमृतालाई फ्रि–फायर खेल्न मोबाइल दिने आश्वासन दिएर घरबाट लिएर गएको पुष्टि भयो।

‘फ्रि–फायर खेल्न भनी साँझ दीपचन्द्र र अमृता घरबाहिर गएको तर फर्किंदा दीपचन्द्र एक्लै फर्किएको’ बयान गाउँलेले प्रहरीलाई दिएका थिए।

त्यसपछि बिहान ११ बजेतिर प्रहरीले दीपचन्द्रलाई नियन्त्रणमा लियो। प्रहरी त्यसका लागि उनको आनीबानी, स्वभाव र पृष्ठभूमिबारे अध्ययन गरेको थियो।

घरमा २१ दिनकी सुत्केरी श्रीमती रहेको र ती युवकले मादक पदार्थ पनि सेवन गर्ने भएका कारण प्रहरीले उनीमाथि अझ बढी शंका र निगरानी बढाएको थियो।

घटनास्थलमा खटिएको प्रहरी टोलीले यो सबै कुरा डिएसपी पाठकलाई फोनमार्फत् बताइरहेका थिए। जिल्ला सदरमुकाम रहेका पाठकले टोलीलाई वस्त्र खोलेर जाँच्न लगाए।

त्यसक्रममा दीपचन्द्रकाे शरीरको पछाडिको भागमा चिथोरिएका दुई वटा धर्सा देखा परे। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा गयो।

प्रहरीले दीपचन्द्रलाई लिएर जाँदासम्म प्रहरीको अर्को टोलीले अृमताको खोजी गरिरहेको थियो।

प्रहरीले नियन्त्रणमा लिनुअघि दीपचन्द्र पनि अमृताको खोजीमा सक्रियताका साथ लागेका थिए। त्यसैले अमृताको परिवारले दीपचन्द्रलाई नसमाउन बिन्ती गरे। तर, प्रहरीको आशंका उनी माथि नै थियो।

अनि, नियन्त्रणमा रहेका दीपचन्द्रलाई प्रहरीले राति अबेरसम्म केरकार गर्‍यो। अन्तत: राति शुक्रबार १ बजे परिवारले शंका नै नगरेका ती २१ वर्षीय युवक दीपचन्द्रले अमृतालाई बलात्कार गरेर हत्या गरेकाे स्वीकार गरे।

दीपचन्द्रले अमृतालाई त्यसदिन साँझ घरबाट करिब ४ किलोमिटर पर रहेको खोला छेउमा ओढारमा बलात्कारपछि हात्या गरेको प्रहरीलाई बताए।

प्रहरी, गाउँले र जनप्रतिनिधिसहितकाे टाेली आज (शनिबार) बिहान दीपचन्द्रले ठेगान दिएको ओढारमा पुग्यो। त्यही ओढारमा मृत भेटिइन्, अमृता।

‘ती युवकले बताएअनुसार हाम्रो टोली बिहान ओढारमा पुग्यो। त्यसक्रममा ती बालिका मृत भेटिइन्,’ डिएसपी पाठकले बिएल नेपाली सेवासँग भने, ‘मृत अवस्थामा भेटिइएकी बालिकाको शरीरको तल्लो भागको लुगा खोलिएको थियो।’

बालिकाको शव पोस्टमार्टमका लागि धरान पठाइएको डिएसपी पाठकले जानकारी दिए।

‘अमृता बलात्कारको क्रमममा चिच्याएपछि घाँटी च्यापेर मारेको’ दीपचन्द्रले स्वीकार गरेका छन्। गाउँमा प्रहरी नियन्त्रण्मा रहेका दीपचन्द्रलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा लगिँदैछ।

दीपचन्द्र सामान्य किसान हुन्। प्रहरीले उनीमाथि थप सोधपुछ र अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-10-21 18:37:00

प्रतिकृया दिनुहोस्