नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ। इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन्।
लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन्। नागरिकतालगायत अन्य प्रशासनिक काममासमेत बाधा पुगेकाे छ।
इलाका प्रशासनबाट हुने सम्पूर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन्। लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तै घर फर्कन बाध्य भएको नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताएका छन्।
कार्यालय बन्द हुँदा नागरिकले भदौँ महिनादेखि नागरिकता बनाउनसमेत नपाएको अध्यक्ष थापाले बताएका छन्। नागरिकता मात्र नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उनले बताएका छन्।
कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरू समस्यामा परेको सर्केगाड गाउँपालिका–१ जैरका युवराज रावतले गुनासो गरेका छन्। नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो।
जैर गाउँबाट झन्डै तीन घण्टा हिँडेर सर्केगाड आइपुगेको भए पनि कार्यालयमा पुग्दा सेवाग्राहीका लागि सेवा दिने कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको रावतले बताएका छन्। कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ।