तिहारपछि गुड्दैछ 'द्रुत बस सेवा'

दसैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ।

सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। 

यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ।

दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए। ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ,’ उनले भने।

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ। असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा सुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ। 

एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात ब्यवसायीले त्यसको अनुभव लिएका छन्। सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन्।

प्रकाशित मिति: : 2023-10-30 21:02:00

प्रतिकृया दिनुहोस्