काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले निजी संस्थासँग पैसा उठाएर बैठक राखिएकाेले बैठक बहिष्कार गरेकाे प्रतिक्रिया दिएका छन्।
बालेनले मंगलबार काठमाडाैँकाे बूढानीलकण्डस्थित पार्क भिलेजमा आयाेजित काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’को बैठक बहिष्कार गरेका थिए। बैठकमा सहभागी उनी ललितपुरका मेयर चिरिबाबू महर्जनसँग जंगिएर बैठकबाट बाहिरिएका थिए।
बैठकबाट तात्तिएर हिँडेका मेयर साहले बुधबार साँझ सामाजिक सञ्जालबाट बैठक बहिष्कार गरेकाेबारे बताएका हुन्। बैठक निजी कम्पनीकाे सहयाेगमा आयाेजना गरिएकाेले बहिष्कार गरेकाे उनकाे भनाइ छ।
‘१७ वटा नगरपालिकाले कुनै Private Company (निजी कम्पनी)बाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,’ साहले लेखेका छन्।
साहले बैठक बहिष्कार गरेकाे कारणमात्र खुलाएका छैनन् अन्य नेताहरुलाई पनि श्रापेका छन्। उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भो तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरुले पूरै देश नै बेच्नु भो भनेपनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ।’