नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ।
सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपंक्ति, जनवर्गी सङ्गठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरे।
गए राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ।
भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गरेका हुन्। उनले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिएका छन्।
विपद्को यस घडीमा घाइतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनःस्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग उनले माग गरेका छन्।