जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
सो अस्पतालमा जाजरकोटबाट सातजना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
जाजरकोटको खलङ्गाकाबाट बिहान ३ बजे एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो। घाइते बिरामीहरुको शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिए।
उनका अनुसार भूकम्पमा परी घाइते सातजनाको भेरीमा उपचार भइरहेको छ भने दश जनालाई हेलिकप्टरबाट राँझा ल्याइँदैछ।
घाइते बिरामीहरुको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए। बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँचवटा शय्यासमेत तयारी अवस्थामा राखिएको उनले बताए।
प्रजिअ पोखरेलेका अनुसार हेलिकप्टरबाट ल्याइने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ। हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए।
गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ।