प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन्।
गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए।
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए।
प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन्।
यस्तै सरकारले आजै जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल रु पाँच/पाँच करोड बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ।
भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।