पोखरा महानगरबाट भूकम्प प्रभावित क्षेत्रमा राहतसहित उद्धार टोली

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएकाे छ।

महानगरले वडाध्यक्षद्धय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित आज साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको जनाएका छन्।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठूलो मानवीय तथा भौतिक क्षति भएका छन्।

महानगर प्रमुख धनराज आचार्यले दुईवटा सानो गाडी र एक ट्रकमा राहत सामग्री सहित १७ जनाको उद्धार टोली प्रभावित क्षेत्र रुकुम र जाजरकोट प्रस्थान गरेको जानकारी दिए। महानगरको टोली आवश्यकतानुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ।

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्याङ्केट र औषधि एवं उपचारका आवश्यक सामग्री गएको प्रमुख आचार्यले जानकारी दिए। उनले भने, ‘भूकम्पका कारण सिर्जित हृदयविदारक घटनामा राहत तथा उद्धारमा सहभागी हुनु हाम्रो पनि कर्तव्य हो। प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा पोखरा महानगरले सहयोग गर्नेछ।’

महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगको घोषणासमेत गरेका छन्। महानगर प्रमुख आचार्यले पहिलो चरणमा महानगरका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापत रु १३ लाख १५ हजार राहत प्रदान गरिने जानकारी दिए। राहतका लागि नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च व्यहोरिने र रु ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने महानगरले जनाएका छन्।

यसैगरी गण्डकी प्रदेश सरकारले पनि प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि चिकित्सक टोली पठाएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए।

सरकारले प्रदेश सरकारमातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो। स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइते भएकाको उपचारमा खटिने बताएका छन्।

प्रकाशित मिति: : 2023-11-04 22:38:00

प्रतिकृया दिनुहोस्