थारुगाउँमा माझिएकाे एउटा आवाज

BreaknLinks
BreaknLinks

सूर्यका किरणले नेटो काट्दै थिए। फोटो पत्रकार तथा वृत्तचित्र निर्माता सौरभ रानाले भने, ‘अहिले जाउँ दाइ लक्ष्मीलाई भेट्न।’

कैलालीको धनगढीस्थित राजपुर भन्ने ठाउँमा बस्तीको बीचको टीनको छानो। लक्ष्मीको घर सोध्दै गर्दा औँलाले त्यही छानोलाई देखाउँथे स्थानीयहरु।

थोरै खप्रेल र बढी मात्रामा टिनले छाएको उक्त घर थियो गायिका लक्ष्मी रानाको। आँगनमा तीनवटा च्याङ्ग्रा डोर्‍याइरहेकी थिइन् उनकी हजुरआमा करुवा राना। लक्ष्मी सांगीतिक कार्यक्रममा भारतको खटीमा पुगेकी थिइन्। घरका अरु सदस्यहरु कामबाट फर्केका थिएनन्। ज्याला मजदुरी गरेर गुजरा गरिरहेको परिवार भएतापनि लक्ष्मीका बुवा बलदेवले छोराछोरी पढाउनमा कुनै कसर बाँकी राखेका छैनन्।

भोलिपल्ट बिहान जाँदा बलदेव काममा निस्किसकेका थिए। ‘तरकारी लेलो’ भन्दै बस्तीतिर करारहने उनकी आमाको स्वर पनि नजिकमा सुनिएन त्यो दिन। सायद टाढै पुगेकी हुनुपर्छ टाउकोमा तरकारीको डालो बोकेर। घरमा हजुरआमा र लक्ष्मीकी दिदी मात्र थिए।

तेस्राे दिन बिहान आँगनमा हलचल भइरहेको थियो। अरु सबैजना घरमै थिए। आमा घरमा थिइनन्। काममा व्यस्त भइरहने जिन्दगीको चक्र चलिरहेकै हुन्छ कुमालेको चक्रझैँ। बुवाबाजेको पालामा केही जमिन थियो। विस्तारै सिद्धिँदै गयो। लक्ष्मीका बुवाका तीन जना दाजुभाइको अंश लाग्दा अलिअलि भाग पर्यो। जसमा खेती गरेर घर धान्न सकिनेवाला थिएन। त्यसपछि अरुको अधिया कमाउन सुरु गरे।

आफ्नो जमिनमा अलिकति तरकारी रोप्छन्। त्यही तरकारी बिहानबिहानै बजारमा बेच्न निस्किन्छिन्, लक्ष्मीकी आमा। अधियाबाट भित्र्याइएको अनाजले खानलाई पुग्छ। लुगाफाटो, छोराछोरीको पढाइ शुल्क र नुन तेलका लागि दैनिक ज्यालादारी काम गरिरहनुपर्छ।

जीवनको मर्म एकातिर छ, मजदुरी दिनचर्याको कथाव्यथा आफ्नै ठाउँमा छ। उसो त भनिन्छ, संघर्ष नै सफलता र जीवनको सार हो। त्यही संघर्षले सिकाएको अर्थपूर्ण जिन्दगी बाँच्न पनि।

हिजोआज निकै नै खुसी देखिन्छ लक्ष्मीका बाआमाको मुहारमा। लक्ष्मी पछिल्लो समय भ्वाइस अफ नेपाल सिजन ५ मा देखापरेपछि हर्षित बनेको कुरा बताउँछन् बलदेव। भन्छन्, ‘अचेल छोरीको गीतको कुरा हुन्छ। गाउँ टोलमा सबैले कुरा गर्छन्। सांगीतिक कार्यक्रममा उसलाई अरु ठाउँमा बोलाइरहेका हुन्छन्। छोरीले हामीलाई पनि चिनाउन थालेकी छ। निकै नै खुसी लाग्छ।’

पछिल्लो समय अरुको घर बनाउने काम गरिरहेका बलदेवले आफ्नै पक्की घर बनाउन सकेका छैनन्। ‘कमाएको पैसा छोराछोरीकै पढाइलेखाइमा लगाउनुपर्दा अहिलेसम्म घरको छानो फेर्न सकेको छैन। गर्मीमा टीनमुनि बस्दा निकै गाह्रो हुन्छ। यस्तै छ’, छानातिर दृष्टि फाल्दै बताए।

लक्ष्मीको स्वरमा थुप्रै गीतहरु रेकर्ड भैसकेका छन्। विभिन्न मिडियामा उनका अन्तर्वार्ता र गीत सुन्दा विगत सम्झिन्छन् उनी, ‘आर्थिक अवस्था निकै कमजोर थियो। छोराछोरीलाई एउटा साइकलसम्म किन्न सकेको थिइनँ। छोरीले कहिलेदेखि गीत गाउन थाली भन्नेकुरा एकैपल्ट ऊ ११ कक्षामा पुगेपछि जब गीतारको माग गरी बल्ल थाहा पाएँ।’

नजिकमा संगीत सिकाउने गुरु थिएनन्। जिल्लामा त्यस्तो संगीतिक माहोल नै थिएन। वरपर गीत गाउने र संगीत सिक्ने पनि कोही देखिँदैन थिए। रेडियोमा बजेका गीत सुन्दै गुनगुनाउने बानी परेकी उनले त्यसरी बज्ने गीतका शब्द कपिमा उतार्न थालिन्। ती गीतका शब्दहरु रट्न थालिन्।

सानैदेखि गीतसंगीतको प्यासी बनेकी लक्ष्मीले बल्लतल्ल भेटाइन् सांगीतिक गुरु। ती गुरु थिए, देवीचरण पुन। ‘गुरुले सिकाउने ठाउँसम्म पुग्न डेढ/दुई घन्टा हिँड्नुपर्ने हुन्थ्यो। रिक्सा अथवा गाडीमा जान पैसा हुँदैन थियो। घरमा एउटा मात्रै साइकल थियो, जुन बाबालाई काममा जान आवश्यक पर्थ्याे। ती गुरुसँग सिक्न थालेपछि थाहा पाएँकी हुँ सुर, तालका बारेमा,’ विगत सम्झिन्।

केही महिना धनगढीमै संगीत सिकेकी उनले जब १२ कक्षा पास गरिन्, तब घरमा इच्छा जाहेर गरिन् काठमाडौँ जाने। काठमाडौँ उनको सपनाको सहर थियो। मनभरि गायक बन्ने सपना बोकेकी लक्ष्मीले पद्मकन्या क्याम्पसमा छात्रवासको सुविधा छ भन्ने सुनेर मूल विषय संगीत लिई बिएमा भर्ना गरिन्।

तर, झण्डै २ वर्षसम्म छात्रावासमा बस्ने अवसर पाइनन्। त्यो समयमा भाडामा बस्दा भोगेका अनुभव र पीडा थुप्रै छन् उनीसँग। त्यो सहरमा न कुनै आफन्त थिए, न त सहरको बारेमा केही थाहा थियो। पहिलोपल्ट जिन्दगीका कयौँ अप्ठ्यारा मोडहरुसँग सघर्ष गर्दै गर्नु परेको यात्रा निकै नै बलशाली बनेर बसेको छ स्मृति पटलमा।

छात्रवृत्ति पाएर पिके क्याम्पसमा अध्ययनरत लक्ष्मी फुर्सदको बेला संकृतिसम्बन्धी पुस्तक पढ्न रुचाउँछिन्। आफ्नो पहिचान नै गायन र संस्कृति ठान्ने उनले राना थारुकै गीत गाएर सांगीतिक यात्रा सुरु गरेकी छन्। झण्डै दुई दर्जन गीत रेकर्ड गराइसकेकी लक्ष्मी भ्वाइस अफ नेपालको कार्यक्रममा पुग्दा पनि आफ्नै मौलिक पहिरनमा देखापरेकी थिइन्। त्यो पहिरन र गरगहनाप्रति उनको छुट्टै लगाव छ।

उनी भन्छिन्, ‘अडिसन राउन्डमा जाँदा छनौट भए नि, नभए नि म मेरो अफ्नो पहिरनमा राना थारु भाषाको गीत सुनाएर आउँछु भनेर गएकी थिएँ। निर्णायकहरुले मन पराइदिनुभयो, छनौट भएँ। यतिखेर सबैको माया, स्नेह र आशीर्वाद पाइरहेकी छु।’

सुरु सुरुमा अरुको सामु गाउन डराउने लक्ष्मी पछिल्लो समय नेपाल मात्र नभएर सीमापारि भारतका केही सहरमा पनि पुगिरहेकी छन् गीत गाउन। निम्तो आउँछ, उता बसोबास गरिरहेका थारु समुदायबाट। ती दिनको याद बोकेर र पछिल्लो समय सांगीतिक गोरेटोमा यात्रारत छन् उनी। गीत गायरै आफ्नो खर्च चलाइरहेकी छन्। पछिल्लो समय घरबाट खर्च माग्न परेको छैन।

आफ्नो समुदायका पुराना लोकभाका गाउन मनपर्छ उनलाई। ती पुराना गीतहरु जो लोपोन्मुख छन्, तिनलाई रेकर्ड गरेर श्रोतासामु ल्याउने सोच छँदैछ। यसका अलावा उनले भर्सटायल गायिका बन्ने सपना पालेकै छिन्। आधुनिक, लोक, पप सबै किसिमका गीत गाइरहेकी लक्ष्मी भ्वाइस अफ नेपाल सिजन ५ मा बाजी मार्ने हेतुले मेहनत गरिरहेकी छन्। आफ्नो मौलिक पहिरनमा स्टेजमा देखापरिरहेकी लक्ष्मी यतिखेर चर्चाको शिखरमा छिन्। चारैतिरबाट शुभकामना र प्रशंसाका शब्दहरु बर्सिरहेका छन्।

हाम्राे पनि शुभकामना!

प्रकाशित मिति: : 2023-11-09 20:23:00

प्रतिकृया दिनुहोस्

    सान्दार

    • 5 महिना अगाडि
    • Ganesh Nepali