पोखरा सहरको बिचोबीच ‘ग्ल्याम्पिङ बास’ (फोटो/भिडियो)

फाेटाे/भिडियो : भवानी शिलाकार
फाेटाे/भिडियो : भवानी शिलाकार

एडभेन्चर यात्रामा निस्किएकाहरूलाई क्याम्पिङ टेन्टको अनुभव खासै नयाँ कुरा होइन। हाईकिङ या ट्रेकिङमा निस्किँदा सुनसान ठाउँ, जंगल, डाँडा वा खोला-नदी किनारमा टेन्ट लगाएर प्रकृतिको समीप अद्वितीय अनुभव लिँदै रात काट्नुको मज्जा बेग्लै हुन्छ।

कल्पना गर्नुस् एकपल्ट सहरको बिचोबीच, जहाँ सामान्यदेखि सुविधा सम्पन्न होटलहरू उपलब्ध भएको ठाउँमा सुविधायुक्त टेन्टमा रात बिताउन पाए कस्तो होला?

सुन्दर नगरी पोखराको पर्यटकीय हब लेकसाडमा ‘कलश पार्केज एण्ड टेन्टइन’ ले आगन्तुकलाई ‘ग्ल्याम्पिङ बास’को सुविधा ल्याएको छ।

बाहिरबाट झट्ट हेर्दा त्यो टेन्ट नै हो। तर भित्र सुविधासम्पन्न होटलभन्दा कत्ति कम छैन। सफा अनि सजिसजाउ कोठा, शानदार र आरामदायी बेड, कुनामा टेबल, कुलर र एटेच बाथरुम पनि।

परम्परागत क्याम्पिङभन्दा बढी सुविधाहरू समावेश गरिएको विलासी आवासको रूप हो ग्ल्याम्पिङ।

‘सम्भवत: सहरबीचमा खोलिएको नेपालको पहिलो टेन्टइन हो, जसले उत्कृष्ट ग्ल्याम्पिङ अनुभव प्रदान गर्दछ,’ सञ्चालक तथा प्रबन्ध निर्देशक सनोज पहारी भन्छन्।

क्याम्पिङ टेन्टमा बाहिर (आउटडोर) खुला चौरमा टाँग्ने गरिन्छ भने सुविधासहित इनडोर टेन्टलाई ग्ल्याम्पिङ भनिन्छ। सहरी क्षेत्रमा ग्ल्याम्पिङ टेन्टलाई प्रवर्द्धन गर्ने मूल उद्देश्य साथ खोलिएको उनी बताउँछन्।

यहाँका विलासी टेन्टहरूभित्र साहसिक र आरामदायी आवासको अद्वितीय मिश्रणयुक्त स्वाद चाख्न पाइन्छ, जहाँ प्रत्येक कोठाहरु स्तरीय होटलमा पाइने सुविधायुक्त छ।

त्यहाँ बस्न चाहनेहरूका लागि सहरको मध्य भागमा चाहे रोमान्टिक समय बिताउन होस् या परिवार वा साथीभाइसँग शान्त वातावारणमा छुट्टी मनाउन ग्ल्याम्पिङले अविस्मरणीय अनुभव प्रदान गर्ने सञ्चालक पहारीको दावी छ।

१० कोठाको टेन्टइनमा डिलक्स किङसाइज रुम, ट्वीन रुम र फ्यामिली सुईट रुमहरू उपलब्ध छन्।

प्रत्येक रुममा प्राइभेट बाथरुमसहित कुलर जडान गरिएको छ। ग्राउन्ड फ्लोरमा निशुल्क पार्किङको व्यवस्था छ। रमाइलो गफ-गाफसँगै, भेटघाट र मनोरञ्जन गर्न चाहनेलाई टेरेस सोलारियम पनि उपलब्ध छ।

सहरभित्र आरामदायी र सुरक्षित क्याम्पिङ बासस्थानमा गुणस्तरीय समय बिताउन चाहना राख्ने आगन्तुकका लागि नौलो किसिमको संरचनासहितको टेन्टइनमा फरक स्वाद र अनुभव लिन पोखरा लेकसाइडमा २ महिनाअघि युवा पर्यटन उद्यमी सनोज पहारीको अवधारणामा खोलिएको हो।

पोखरा लेकसाइडमा जन्मेहुर्केका ३५ वर्षका सनोज पहारी सरकारी जागिरे पिताका तीन भाइ छोरामध्ये कान्छा सन्तान हुन्। उनका दुईजना दाइ अमेरिकातिर छन् भने उनी नेपालमै पर्यटन क्षेत्रमा केही नयाँपन गर्नुपर्छ भनेर कस्सिकएका छन्।

लेकसाइडस्थित स्ट्रिट-१५ मा रहेको पुर्ख्यौली जमिनमा करिब ४ करोड लगानी गरेर संरचनामा उनले पार्किङसहित ग्ल्याम्पिङ बास खोलेका हुन्।

‘लेकसाइडमा आरसिसी भवनका होटलहरु सयौँ छन्’, उनले भने, ‘आवास व्यापारमा केही नौलो स्वाद र प्रोडक्कटमा नयाँपन दिनलाई टेन्टइन खोलेका हौँ।’

ग्ल्याम्पिङ बाससहित क्याफे, रेस्टुरेन्ट र पार्किङको सुविधा पनि छ। यहाँ आउने हरेक पाहुना ग्ल्याम्पिङको अनुभवले सन्तुष्ट रहेको उनले बताए। पहिलो चरणमा प्रवर्द्धनात्मक प्याकेजका लागि ट्विन र डिलक्स रुमको मूल्य रू २५ सय र फ्यामिलीको रू ४००० राखिएको छ। यसको साथै प्याकेजमा पोखरा भ्यालीभित्र निशुल्क पिकअप सुविधा दिएको छ।

१० वटा कोठा रहेको टेन्टइनमा २५ जना पर्यटक बस्न मिल्छ। सुरक्षाको लागि ६ वटा सिसी क्यामेरासहित रातभर रोमिङ गार्ड छन्। त्यहाँ बस्नका लागि ट्रिप एडभाइजरी, बुकिङ डटकम, ‘कलश पार्केज एण्ड टेन्टइनको वेभसाइट र फोनमार्फत अग्रिम बुकिङ गर्न पनि सकिन्छ।

ग्ल्याम्पिङ बासको परिकल्पना

सनोजले कुश्मामा बञ्जी जम्प गर्न जाँदा टेन्टको संरचना देखे र पोखराको लेकसाइडमा पनि यस्तै नयाँ शैलीको अकोमोडेशन खोल्ने सोच पलायो।

ग्ल्याम्पिङ बासमा पर्यटकले बन्द कोठा नभएर खुला वातावारणमा बासको अनुभव लिन सक्छन्। पोखरामै नौलो स्वाद पस्किन र कुनै पनि स्ट्यान्डर्ड होटलमा पाउने सुविधामा केही कमी नरहेको उनको दावी छ।

लेकसाइडमै जन्मिएर विश्वभरका पर्यटकसँगै घुलमिल गर्दै हुर्किएका हुन् सनोज।

पढाइको सिलसिलामा केही समय काठमाडौँ पनि बसे। काठमाडौँमा उच्च शिक्षाको लागि करिब १० वर्ष बिताएर फेरि उनी आफ्नै थालो फर्किए। त्यसपछि केही समय बैङ्किङ क्षेत्रमा काम गरे।

११ वर्षको बैङ्किङ करियरमा दुईपटक युरोपको यात्रा गरे। युरोप भ्रमणको बेला जागिरे र विदेशी जीवनभन्दा आफ्नै जन्मथलो पोखरामा केही नयाँ गर्नुपर्छ भन्ने सोच पलायो।

यही सोचलाई पछ्याउँदै उनी नेपाल फर्किएपछि ग्ल्याम्पिङ सुरु गरे। नेपालका धेरै युवाहरू विदेशिएको देख्दा उनलाई दु:ख लाग्छ। देशका लाखौँ युवा विदेश भासिएका छन्, यही ठूलो जमातका युवामाझ स्वदेशमै गर्न सकिन्छ भन्ने आँट लिएर युवा उद्यमीका रुपमा उभिएका छन्।

आफ्ना दुईजना दाइहरू पनि विदेशमै छन्। युवा पुस्तालाई आफ्नै देशमा केही गर्न सकिन्छ कि भन्ने सकरात्मक सन्देश दिएका छन् सनोजले।

परीक्षण र शोखका लागि खोलिएको टेन्टइन सहरभित्र नौलो टुरिज्म प्रोडक्ट हो। मागअनुसार भविष्यमा अगाडिको संरचनालाई अपार्टमेन्ट टेन्टको रुपमा विस्तारित गर्ने उनको योजना छ।

दुई महिनाअघिमात्रै सञ्चालनमा आएको टेन्टइनमा दैनिक ४-५ वटा कोठाहरू बुकिङ हुन थालेका छन्।

‘भर्खर दुई महिना भयो खुलेको, धमाधम इन्क्वाईरी र पर्यटकहरूले चासो देखाइरहेका छन्’, पहारी आशावादी हुँदै भन्छन्।

‘आउनुहोस्, अनुभव लिनुस् र सल्लाह सुझाव दिनुस्’ टेन्टइनमा सनोजको चुले निम्तो छ। 

प्रकाशित मिति: : 2023-11-25 14:44:00

प्रतिकृया दिनुहोस्