सहरमा फेरिँदो यौन व्यवसायः सडक बार्गेनिङदेखि अनलाइन ‘अफर’सम्म

मंसिर १० गते प्रहरीले ‘नुवाकोटे व्युटीपार्लर एण्ड स्पा सेन्टर’मा छापा हान्यो। काठमाडौं– ९ रातोपुलमा रहेको स्पा सेन्टरमा नाबागमाथि यौन शोषण भएको सूचनापछि छापा हान्दा तीन जना फेला परे, दुई जना नाबालिग र एक जना युवती।

उनीहरुलाई आकर्षक तलब दिने भन्दै स्पा सेन्टरमा काम लगाइएको थियो। गाउँबाट काम खोज्दै काठमाडौँ आएका उनीहरु तलबमा लोभिए। व्युटीपार्लर र मसाजको काम गर्न पनि थाले।

तर, काम गर्दै जाँदा उनीहरुलाई साहुले अर्को दबाब दिन थाले, ग्राहकसँग शारीरिक सम्पर्क राख्न। शारीरिक सम्पर्क नराखे ज्यान जोखिममा हुनेसम्मको धम्की साहुबाट आउन थाल्यो।

कहिले त कुटपिट पनि गरे। साहुले एक ठाउँमात्र उनीहरुलाई काममा लगाएनन्। उनको दुई वटा स्पा सेन्टर रहेछ। रातोपुल र एयरपोर्ट नजिकै। एक ठाउँमा मात्र होइन, दुवै ठाउँमा साहुले ती बालिगलाई काममा लगाए।

पछि-पछि साहुले शारीरिक सम्पर्क नराखेमा अश्लील क्रियाकलापको तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखिदिने धम्की दिन थाले। दुई ठाउँमा मसाजको काम, त्यसमा पनि शारीरिक सम्पर्क गर्नुपर्ने अर्को बाध्यता।

उनीहरु तनावमा थिए। भाग्ने घर नजिक छैन। नभाग्ने दैनिकी जोखिमपूर्ण छ। त्यसपछि खबर प्रहरीमा पुग्यो। प्रहरीले स्पा सेन्टरमा छापा हान्यो। दुई नाबालिगसहित तीन जनाको उद्धार गर्‍याे।

स्पा सञ्चालक संखुवासभा चिचिला गाउँपालिका– १ घर भएका ४३ वर्षीय दिनेश पौडेल पक्राउ परे। उनले गाउँबाट आर्थिक अवस्था कमजोर भएका, कम पढे/लेखेका नाबालिग, युवती ल्याउँदै शोषण गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गरिबी, अशिक्षाको फाइदा उठाउँदै दलालहरुले बालबालिका तथा युवतीहरुलाई शारीरिक शोषण गर्ने गरेको यो एक घटना हो।

काठमाडौँमा पछिल्लो हप्ता दिनमा जबर्जस्त यौन व्यवसायमा लगाएका यस्ता घटना बाहिरिरहेका छन्। प्रहरीले विभिन्न होटल, स्पासेन्टरबाट पीडितहरुको उद्धार गरिरहेको छ।

मंसिर १४ गते पनि प्रहरीले तीन जना नाबालिगलाई उद्धार गरेको थियो। विभिन्न गेष्ठ हाउसमा १० महिनादेखि ती नाबालिगलाई यौन गतिविधिमा लगाएको प्रहरी अनुसन्धाबाट खुलेको छ।

गाउँबाट रोजगारीका लागि काठमाडौं ल्याएर ती नाबालिगलाई यौन गतिविधि गर्न बाध्य पारेको प्रहरीले जनाएको छ। यौन गतिविधिमा लगाएको आरोपमा तनहुँको भिमदत्त नगरपालिका– २ की २५ वर्षीया पूजा रानालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यी नाबालिगलाई काठमाडौंमा घरायसी काम लगाउन भनेर ल्याइएको थियो।

निकै न्यून संख्यामा उद्धार

रोजगार खोज्दै गाउँ छाड्ने संख्या ठुलो छ। पढे/लेखेका हुन् वा कम पढे/लेखेका, सहरमा रोजगारको अवसर खोज्दै गाउँ छाड्नेकाे संख्या ठुलै छ। जसको असर गाउँ रित्तिँदै गएको छ।

बेरोजगारी, आर्थिक अभाव, अशिक्षाका कारण गाउँका सिधा/सादा युवतीहरुलाई दलालहरुले सहरमा ल्याउँदै यौन व्यवसायमा संलग्न गराइरहेका छन्। कतिपय नाबालिगहरुसमेत राम्रो रोजगारको सपनामा सहर आएर यौन शोषण पर्ने गरेका छन्।

तर, राज्य यस विषयमा गम्भीर बन्न सकेको छैन। कहिलेकाहिँ यौन शोषणमा परेकाहरुको उद्धार गर्नमा नै सरकार खुसी देखिन्छ। प्रहरीले यौन शोषणमा परेकाहरुको उद्धार गरेको संख्या नै उदेकलाग्दो छ।

पछिल्लो तीन वर्षमा देशभर प्रहरीले दुई सयलाई पनि उद्धार गर्न सकेको छैन। आर्थिक वर्ष २०७७/७८मा ४१ जना, ०७८/७९मा ६० जना, ०७९/८०मा ५५ जना र चालुआर्थिक वर्षको कात्तिकसम्म ३१ जना गरी कूल १८७ जनालाई प्रहरीले उद्धार गरेको छ।

के देशभर यौन शोषणमा परेको संख्या यत्ति हो त? होइन। काठमाडौं, धरान, चितवन, बुटवल, पोखराजस्ता ठुला सहरमा लुकुछुपी यौन धन्दा चलिरहेको छ। जसमा दलालहरु अभाव झेलिरहेकालाई रोजगारको नाममा यौन शोषण गरिरहेको अधिकारकर्मी बताउँछन्।

एक संस्थाकाअनुसार देशभर ५० हजार बढी यौनकर्मी महिला–पुरुषहरु छन्। जसमा आर्थिक अभाव, रोजगारको अभाव देखाउँदै उनीहरु यो व्यवसाय गर्न बाध्य भएका छन्। कतिपयलाई बाध्य पारिएको छ।

प्रहरी अधिकृतहरु नै यो व्यवसायमा लाग्ने संख्या ठुलै रहेपनि उनीहरुलाई उद्धार गरिहाल्ने अवस्था नरहेको बताउँछन्। यस व्यवसायमा लाग्नेहरु नै खुल्न नचाहने गरेको एक प्रहरी अधिकृतले बताए।

‘सबै होटलमा, स्पामा गएर छापा हान्ने कुरा भएन। सूचना आएमा हामीले छापा मार्ने हो। उद्धार गर्ने हो,’ ती प्रहरी अधिकृत भन्छन्, ‘यौन व्यवसायमा बाध्य भएर लाग्नेहरु पनि धेरै छन्। तर, उनीहरु हामीमा आउन चाहँदेनन्। उद्धार गरेर ल्याए पनि बोल्न मान्दैनन्।’

किनभने, उनीहरुको इज्जतसँग डराइरहेका छन्। आर्थिक अभाव झेलिरहेका हुन्छन्। पछिल्लो समय यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने आवाजसमेत उठिरहेको छ। बेरोजगारी बढ्दा यौन व्यवसायमा लाग्ने पनि बढिरहेको अधिकारकर्मी बताउँछन्।

दलित समुदायकाे हित तथा मनोरञ्जन क्षेत्रमा काम गरिरहेको सामरी उत्थान केन्द्रका चितवन संयोजक बाबुराम विश्वकर्मा राजधानी बाहिरका सहरमा पनि यौन व्यवसायमा चलिरहेको बताउँछन्।

उनकाअनुसार गाउँबाट रोजगारी दिने भनेर सहर ल्याउने र यौन व्यवसायमा लगाइने गरिएको छ। ‘पहिले सहरमा राम्रो रोजगारी पाइन्छ भन्दै ल्याइन्छ। त्यसपछि क्रमशः यौन व्यवसायमा लगाउने गरेको पाइन्छ,’ उनले भने।

कोहीपनि यौन व्यवसाय गर्छु भनेर यस व्यवसायमा नआउने गरेको विश्वकर्मा बताउँछन्।

यौन व्यवसायको फेरिँदो तरिका

प्रविधिको विकाससँगै यौन व्यवसाय पनि फेरिँदै गएको छ। कुनै समय एउटा जातमा केन्द्रित रहेको यौन व्यवसाय आज त्यस्तो छैन। सहरमा यौन व्यवसाय गर्ने बढिरहेका छन्। हिजो सडक छेउ र होटलमा बार्गेनिङ गर्नेहरु आज अनलाइनमा बार्गेनिङ गरेर व्यवसाय गरिरहेका छन्।

हप्ता दिनअघि काठमाडौंको विभिन्न ठाउँबाट प्रहरीले अनलाइनमार्फत् यौन व्यवसाय गरेको आरोपमा पाँच जनालाई पक्राउ गर्‍याे। काठमाडौँको नयाँ बसपार्क, दरबारमार्ग, बानेश्वरलगायत ठाउँबाट पाँच जनालाई पक्राउ गरेको थियो।

उनीहरु दलाल (एजेन्ट) हुन्। उनीहरुले महिला र ग्राहकलाई मिलाउने काम गर्ने गर्थे। प्रहरीले अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको सूचनापछि पाँच जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया चलाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले अनलाइनमार्फत् यौन व्यवसाय गर्नेहरु बढ्दै गएको बताउँछन्। ‘अहिले म्यासेन्जर, ह्वाटस् एप, टिकटकजस्ता माध्यमबाट व्यवसाय गर्नेहरु बढ्दै गएका छन्’, उनले भने, ‘हिजोजस्तो सडक पिँढीमा बस्ने। होटलमै बस्नुपर्ने अवस्था छैन।’

नेपालको कानुनमा यौन व्यवसाय गर्न पाइँदैन। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ मा कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउन नपाइने व्यवस्था छ।

तर, कानुनलाई चुनौती दिँदै दलालहरु गरिबी, बरोजगारी, अशिक्षाको फाइदा उठाउँदै यौन व्यवसाय सञ्चालन गरिरहेका छन्। यस्ता व्यवसाय गर्ने केहीलाई प्रहरीले पक्राउ पनि गर्ने गरेको छ।

पछिल्लो तीन वर्षमा यौन व्यसायमा लगाउने दुई सय जनालाई पक्राउ गरेको छ। यसरी व्यवसाय गर्नेमा महिला र पुरुष करिब बराबरी जस्तै छन्। आर्थिक वर्ष २०७७/७८मा ३९ जना पुरुष र १५ जना महिला यौन व्यवसायी पक्राउ परे।

यस्तै आ.व. ०७८/७९मा ४९ जना पुरुष र ३० जना महिला, ०७९/८०मा २९ जना पुरुष र १० जना महिला र चालु आर्थिक वर्षको ७ महिनामा १० जना पुरुष र ८ जना महिला दलालहरुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2023-12-10 18:25:00

प्रतिकृया दिनुहोस्