डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसमेनका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाका पहिलो नेपाली मुलका राज्य सांसद डा. ह्यारी भण्डारीले औपचारिक रूपमा अमेरिकाको संघीय संसद कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेमेनन) का लागि उम्मेद्वारी दर्ता गरेका छन्। 

उनले मेरिल्याण्ड राज्यको कंग्रेसनल डिस्ट्रिक्ट २ का लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।

शुक्रबार मेरिल्याण्डको स्टेट बोर्ड अफ इलेक्सनको कार्यालयमा गएर उनले उम्मेद्वारी दर्ता गरेका हुन् ।

यो उम्मेद्वारी दर्तासँगै आगामी मे १४ मा हुने डेमोक्रेटिक प्राइमरी चुनावको मतपत्रमा उनको नाम हुने छ। 

डा. भण्डारीकै गृहक्षेत्रको कंग्रेस सिट २१ वर्षपछि ओपन सिट भएपछि उनले यही साताको सोमबार उम्मेदवारी घोषणा गरेका थिए । यस क्षेत्रमा सन् २००३ देखि कंग्रसमेन रहदै आएका डच रूपेसबर्गरले अवकाश घोषणा गरेपछि यो ओपन सिट भएको हो । अमेरिकामा बहालवाला जनप्रतिनिधिले उम्मेद्वारी दिएन भने त्यस्तो स्थानलाई ओपन सिट भनिन्छ र यस्तो सिट कुनै पनि मानिसको सक्रिय जीवनमा एकपटक मातेर आउँछ । 

अमेरिकामा एकपटक चुनाव जितेका जनप्रतिनिधिले स्वेच्छिक अवकाश नलिएसम्म वा उनीहरू कुनै फौजदारी अभियोगमा दोषी प्रमाणित नभएसम्म आवधिक निर्वाचन जिती नै रहन्छन् । यदाकदा प्रतिस्पर्धात्मक चुनावी क्षेत्रमा भने अर्को दलले जित्ने सम्भावना पनि हुन्छ। 

डा. भण्डारीले उम्मेद्वारी दिएको निर्वाचन क्षेत्र सन् २००२ मा कंग्रेसमेन डच रूपेसबर्गरले रिपब्लिकन पार्टीबाट खोसेका थिए । त्यसयता नीलो रहदै आएको यो क्षेत्रमा ५९.२ प्रतिशत मतका साथ रूपेसबर्गरले जितेका थिए । अहिले यो क्षेत्र क्रमश: प्रतिस्पर्धात्मक हुँदैगएको छ । यद्यपि, यसपटक पनि यस क्षेत्रबाट डेमोक्रेटिक उम्मेद्वारकै जीत हुने देखिन्छ। 

मे १४ मा हुने डेमोक्रेटिक प्राइमरीमा जित्ने उम्मेद्वार नै नोभेम्बर ५ मा हुने आम निर्वाचन पनि जित्ने स्थिति छ । त्यसैले डा. भण्डारीका लागि मे १४ को डेमोक्रेटिक प्राइमरी नै खड्गोका रूपमा रहेको छ ।

यसै निर्वाचन क्षेत्रका बासिन्दा डा. भण्डारी २०१८ देखि मेरिल्याण्ड हाउस अफ एसेम्बेलीका निर्वाचित सदस्य हुन् । यस क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर जितेका उनी डेमोक्रेटिक राज्यसभा सांसदमा पनि सबैभन्दा बरिष्ठ हुन् ।
 

प्रकाशित मिति: : 2024-02-03 11:34:00

प्रतिकृया दिनुहोस्