काँग्रेसमा बल्झिरहेको ‘गठबन्धन’ गाँठो

‘हामी कति दिन कम्युनिस्टको पछि लाग्ने हो?’ आइतबार आफ्ना पक्षका नेता कार्यकर्ता बटुलेर नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रश्न गरे ‘हामी एक्लै लड्न सक्ने कहिले हुन्छौं?’

यो कोइराला आफैले रचेको वाक्य थिएन। यसअघि उनी गाउँघर घुम्दा उनलाई उनका कार्यकर्ताले सोधेका प्रश्नहरूको यो एउटा प्याकेज थियो, जहाँ नेपाली काँग्रेसको अस्तित्व र भविष्य पनि गाँसिएको थियो।

र, उनले आफ्ना पक्षका यी नेता अनि कार्यकर्ताहरूलाई महासमिति बैठक हुनुभन्दा अघिल्लो सन्ध्यामा बटुलेका थिए। महासमिति बैठक जो, चौधौं महाधिवेशनपछि पहिलोपटक सोमबार सुरु भएको छ।

केन्द्रीय समितिलाई ‘दिशानिर्देश’ गर्ने अधिकार सम्पन्न महासमिति नेपाली काँग्रेसको पार्टी जीवनमा एउटा सर्वोच्च निकाय पनि हो। जसले पार्टीको केन्द्रीय समितिलाई ‘सही’ मार्गमा डोर्‍याउने हिम्मत र अधिकार पनि राख्दछ। 

महाधिवेशनपछि  पहिलोचोटी महासमितिको बैठक भइरहँदा भने काँग्रेस बृत्तमा अनेक दृश्यहरू सामुन्नेमा आए।

एकातिर केही काँग्रेसीले ‘हिन्दु राष्ट्र’को महाअभियान ब्यूँताउने प्रयास गरिरहेका छन् भने काँग्रेसभित्रका ‘सनातन’ गुट, उपगुट र समूहहरू पनि जाग्न थाले। 

यद्यपि काँग्रेसभित्रको एउटा गुटको प्रस्ट रेखा चौधौं महाधिवेशनमा नेता शेखर कोइरालाले नै कोरिसकेका थिए। जसलाई उनले अहिले झन चम्किलो पारेका छन्। पार्टी नेतृत्व बाहेक अर्को समूहले पनि यो रेखाको प्रकाशमुनि अझ झुम्मिने मौका पाएका छन्।

प्रजातन्त्र दिवसको दिन महासमितिको बैठक बसाएको नेपाली काँग्रेस आफै यो दिवसको ऐतिहासिक साक्षी पनि हो। जहाँ उसका आदिम पदचापहरू उत्तिकै ताजा छन् तर यो बेला नेपाली काँग्रेस त्यो काँग्रेस छैन। जहाँ उसका चार ताराहरू तेजिला थिए।

काँग्रेसका आदर्शमानव बिपी कोइरालाले भनेजस्तै ‘हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन्, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराको अभाव नहोस् त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा छौं।’

यही महासमितिको बैठकमा प्रस्तुत गर्नका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बिपीको यो उवाचलाई आफ्नो सांगठनिक ‘प्रस्ताव’मा लेखेका छन्।

यो त्यही प्रस्ताव हो जहाँ महामन्त्री थापाले प्रचीन पदचापमाथि नेपाली काँग्रेसको नवीन पथका रेखाहरू कोर्न सकेका छन्। आफ्नै आदिम गौरब र इतिहासबाट बिचलित, बिश्रृङ्खलित र स्खलित हुँदै–हुँदै कम्युनिस्टको ‘ठ्याङ्ग्रा’ समाउन पुगेको आजको नेपाली काँग्रेसको यो नयाँ बाटोलाई भने नेतृत्वले स्वीकार  गर्न सकिरहेको छैन। त्यसैको एउटा झिल्को हो, सभापति देउवाको ‘गठबन्धन’ रटान महामन्त्री गगनको ‘हठ’।

प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको बाटो। यी सब नेपाली काँग्रेसका लागि ओराली बाटा बने। जहाँबाट नेपाली काँग्रेस उस्किन त मुस्किल छ तर असम्भव भने होइन। देउवाले समाइराखेको कम्युनिस्ट गठबन्धनको ठ्याङ्ग्रो त्यसैको एउटा बलियो नमुना हो। जसलाई देउवाले छोड्नै चाहन्नन्।

कोइरालाको त्यही ‘बिम्ब’लाई महामन्त्री थापाले आफ्नो सांगठिन प्रतिवेदनमा बिम्बित गरेका हुन्, जसलाई देउवाले मेटाउन खोजिरहेका छन्। महासमिति बैठक हुनुअघि र पछिका बैठकहरू पनि त्यसैमा केन्द्रित रहे। 

सदस्य ८ लाख ६९ हजार ५५१ सक्रिय सदस्य र १ लाख १४ हजार ५ सय २५ निर्वाचित  क्षेत्रीय प्रतिनिधिलाई गोलबद्ध गरेको नेपाली काँग्रेस  महासमिति बैठकअघि आफूले आफैलाई ‘समुदाय’मा खोज्दै हिँड्यो। तर काँग्रेसले यो कुरा बिर्सियो कि समुदाय छ र काँग्रेस छ। समुदाय थियो र नेपाली काँग्रेस थियो। आज काँग्रेससँग न समुदाय र रह्यो न ‘नेपाली’ मात्रै काँग्रेसी रुखको मधुरो छाँया शिवाय।

महामन्त्री थापाले काँग्रेसको यो सच्चाई र उसको धरातललाई राम्रोसँग केलाएका पनि छन्।

‘पार्टी र सरकारबीचको समन्वय, संवाद र सम्बन्धका सन्दर्भमा विगतदेखि नै पार्टीले गरेका प्रयासमा कहिँ न कहिँ अपर्याप्तता छ। सबै तहगत सरकारमा यो दूरी झन बढ्दो छ। कतै संवाद छैन। समन्वय छैन। जवाफदेहिता कसैको पनि छैन। यो दूरीलाई कम गर्नुपर्नेछ’ थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् ‘सरकार र पार्टीको सम्बन्ध हुन सकेन भने त्यसले सरकारको विश्वसनियता र स्थिरतामा समेत असर गर्छ। त्यसैले यो विषयमा सैद्धान्तिकमात्रै होइन व्यवहारिक ढंगले समाधान खोज्न अपरिहार्य छ।’

गठबन्धनको ठ्याङ्ग्रो

अघिल्लो चुनावमा कम्युनिस्ट गठबन्धनका अघि मात खाएको नेपाली काँग्रेसले तत्कालीन ‘नेकपा’भित्रको एउटा तप्कालाई बेरेर आधा कम्युनिस्टसँग यसपालिको चुनावमा गठबन्धन गर्‍यो। सरकार गठनका बेला अलिकति हल्लिएका प्रचण्डलाई फेरि पनि देउवलाई आफ्नै ‘साइज’मा ल्याइदिए। 

त्यसपछि न नेपाली काँग्रेसले यो गठबन्धनको रटान छोड्न सकेको छ न प्रचण्डहरूले। काँग्रेसभित्र केही ‘तातो रगत’ भएका काँग्रेसीहरू यसलाई भत्काउन खोजिरहेका छन्। जसको नेतृत्व गगनहरू गर्छन्। माओवादीभित्र र गठबन्धनका अरु दलभित्र पनि यस्ता केही पात्र छन्, जसलाई देउवा र प्रचण्डहरूको छाँयाले पुरिदिएको छ।

‘एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली काँग्रेसले निर्वाचन अगाडी गठबन्धनको नेतृत्व गर्नुपर्‍यो। गत निर्वाचनमा नेपाली काँग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ, गर्छौं’ थापाले भनेका छन् ‘हाम्रो निवाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ तर निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै हामी संकल्प गर्छौं कि ‘नेपाली काँग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचन पूर्व गठबन्धन(प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन।’

लामो रस्साकस्सीपछि कार्यकर्तालाई सम्बोधन गर्दै महासमितिको बैठकमा देउवाले पनि यो कुरा स्वीकार गरेका छन्। तर उनले त्यसको भाव भने देखाएनन्। बरु उनले घुमाउरो पाराले त्यसको जिम्मा महासमितिलाई नै छोडे। 

‘हाम्रो निर्वाचन प्रणाली नै कुनै पनि दलको बहुमत नआउनेखालको छ। त्यसैले हामीले गठबन्धन गरेका हौं। यसो गर्दा नेपाली काँग्रेस पहिलो दल बनेको छ’ उनले भने ‘आगामी दिनमा गठबन्धन गर्ने  कि नगर्ने यसबारे महासमिति बैठकमा छलफल हुने नै छ। तर गठबन्धनको औचित्य अनि सान्दर्भिकता तत्कालीन परिस्थितिमा निर्भर हुनेछ।’ 

देउवाले काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान र अरु उपलब्धिहरूलाई रक्षा गर्नका लागि तत्कालीन परिस्थितिको आवश्यकताअनुसार काँग्रेसकै पहलमा गठबन्धन बनेको अनि अहिले पनि यसको औचित्य बाँकी नै रहेको पनि प्रस्ट्याउन खोजेका थिए। 

तर थापाले भनेका छन् ‘हाम्रै नेतृत्वमा बनेको संविधान छ निर्वाचन जितेर ३३२ स्थानीय सरकारमा नेतृत्वमा छौं। प्रदेशहरूमा सरकारको नेतृत्व र प्रमुख साझेदार छौं। संघीय सरकारमा छौं। अत: यो बेलामा कुनै लघुताभास लिएर वा रक्षात्मक भएर होइन उच्च मनोबलका साथ हाम्रो नेतृत्वमा भएका तमाम आन्दोलनको उपलब्धिमा गौरव गर्दै हामीले बनाएको संविधानको स्वामित्व लिने र यसको कार्यान्वयनको नेतृत्व गर्नुपर्नेछ।’

सोमबारदेखि गोदावारी काँग्रेसमय भएको छ। देशकै ठूलो सभाहलमा उपस्थित काँग्रेसीहरू महासमिति बैठकमा अनेक गुनासाका पोका लिएर आएका छन्।

मंगलबारबाट हुने ‘बन्दसस्त्र’मा देशभरिबाट आएका महासिमित सदस्यहरूले ती गुनासाहरू त फुकाउने छन्। तर उद्घाटन सत्रले धेरै काँग्रेसीलाई खुसी बनाएको छैन।

खासमा पदाधिकारीबीच बढेको विवाद र काँग्रेसको नीति, सिद्धान्तका बारेमा चलिरहेको सतही बहसहरूले उनीहरूलाई अलि निराश बनाएको छ।

प्रकाशित मिति: : 2024-02-19 20:29:00

प्रतिकृया दिनुहोस्