बिना अर्थका कुरा गरेर अरुलाई ‘पट्याउन’ खाेज्नु पनि मानसिक राेग हाे

प्रसङ्ग नं. १ :

केही वर्ष अघिको कुरा हो, त्यसबेला पङ्तिकार मासाचुसेटको रकपोर्टमा बस्थ्यो। बोस्टनबाट रकपोर्ट पुग्न रेलमा एक घण्टा लाग्छ। र, रकपोर्ट अन्तिम स्टेसन हो।

एकदिन म  डेरा फर्कँदै थिएँ। रेलमा एक नेपाली (सायद भुटानी)ले मलाई हार्वर्ड अर्थात् हार्वर्ड विश्वविद्यालयमा पिएचडी गर्दै गरेको बतायो। मैले के गर्दै हो? भनेर नसोधेकोमा उसको कुरा सुनेर अच्चम लाग्नु स्वाभाविकै हो। तर, मैले केवल ‘राम्रो’मात्र भनेर उत्तर दिएँ।

त्यसपछि उसले मलाई तपाईं के गर्नुहुन्छ? भनेर सोध्यो। मलाई यस्तो अनावश्यक प्रश्न र उत्तरमा रुचि नभएको कारण अलि झर्को मान्दै म त्यही विश्वविद्यालयको ‘प्रोफेसर हुँ’ भनेँ। तर, उसलाई मेरो उत्तर यति नराम्रो लाग्यो कि ऊ रिसाएर मेरो नजिकबाट टाढा बस्न गयो।

अब भन्नुस्, उसले हावादारी गफ दिन नहुने तर मैले दिन किन नहुने?

प्रसङ्ग नं. २ :

पङ्तिकारले हाल घण्टे-मजदुरी गर्ने एमजोन कम्पनीमा ताप्लेजुङ्गका एक नेपाली पनि मजस्तै कुल्ली काम गर्छन्। मभन्दा दुई हप्तापछि काममा लागेका उनले मलाई सँधै सोध्ने प्रश्न, ‘यो भन्दा पहिले तपाईं के कम गर्नु हुन्थ्यो?’ आफूले त्यस्तो उच्चस्तरको काम नगरेको र मजदुरी जता पनि उस्तै प्रकारको हुने कारण मलाई यस्तो र उस्तो काम भनेर बताउन मन लाग्दैन। सायद यो मेरो हिन-भावना पनि हो कि? हरेक भेटमा एउटै र रुचि नभएको प्रश्नले वाक्क भएर मैले ‘म नासामा वैज्ञानिकको रुपमा काम गर्थेँ, अमेरिकी सरकारले मंगल ग्रहमा सरुवा गरेकोले त्यो काम गर्न मन नलागेर राजीनामा  दिएर आएको’ भनेको उनलाई यति नराम्रो लागेछ, होला हाल उनी मसँग तर्केर अर्कै बाटो लाग्छन।

प्रसङ्ग नं. ३ :

मेरै घर नजिक एक मान्यवर बस्छन्, काठमाडौँका बासिन्दा। काठमाडौँकै बासिन्दा भएको कारण धेरै कुरामा समानता हुने कारण उनलाई भेटेर मलाई खुसी लागेको थियो। तर, त्यो खुसी दुई-चार भेटमै पानीको फोका जसरी उड्यो।

नेपालका सबै क्षेत्रका लोकप्रिय मान्छेसँग एउटा न एउटा कथा जोडिएको उनको कुरामा मलाई त्यति विश्वास लागेको थिएन। तर, आफूलाई कुनै हानी नहुने कारण ‘हजुर-हजुर’ भनेर सुनेको जस्तो अभिनय गर्थेँ।

आफ्ना छोरा-छोरी अमेरिकी सरकारको अतिगोप्य स्थानमा काम गर्ने तर त्यो ठाउँ कुन हो भन्न नमिल्ने जस्ता बेप्रसङ्गका कुरा गरेर ठुलो हुन खोज्ने त्यी मान्यवरले एकदिन आफूसँग नेपालमा २० करोड जति नगद भएको र त्यो पैसा स्विस बैंकमा कसरी राख्ने भनेर मलाई सोधे। नेपाली बैंकमा सय-दुई सय रुपैयाँ हुने पङ्तिकारजस्तो अतिसामान्य मान्छेलाई स्विस बैंक भनेको ‘लुतो न कनाइ’जस्तै हो र त्यस विषयमा कुनै पनि जानकारी राख्नुको कुनै अर्थ रहने कुरा आएन। मैले त्यसपछि उनीसँगको भेटलाई पनि कम गर्दै लागेको छु।

सायद उनले पनि बुझे होलान्। भेट नभएको निकै दिन भयो।

प्रसङ्ग नं. ४ :

वालमार्टमा एक नेपाली-भाषीसँग भेट भयो। झापाको भुटानी शरणार्थी क्याम्पमा जीवन बिताएर अमेरिका आएका उनले काठमाडौँ देखेको सायद अमेरिका आउने बेलामा मात्र हुनपर्छ।

उनले मलाई पहिले तपाईं कुन क्याम्पको हो? अर्थात्, तपाईं पनि शरणार्थी नै हो भनेर सोधे। मैले आफू नेपाली भएको र मेरो घर काठमाडौँमा भन्दा उनले मलाई ‘चोकैमा?’ भनेर प्रश्न राखे।

अब आदरणीय पाठकबृन्दले नै भन्नुस्, यो प्रश्नको जवाफ के हुन सक्छ?

मलाई भने यसको के जवाफ दिने त्यो निर्णय नै गर्न सकेको छैन।

प्रसङ्ग नं. ५ :

पङ्तिकार नर्थ क्यारोलिना बस्दाको कुरा हो। चितवनका एक दम्पती छिमेकी थिए। डिभी चिठ्ठा परेर अमेरिका आएर अधिकांश नेपालीजस्तै घण्टे मजदुरी गर्ने त्यो दम्पतीलाई आफूहरु अमेरिका आएर अमेरिकी सरकारलाई ठुलो गुन लगाएको जस्तो भ्रम थियो।

प्राय: सधै ‘कस्तो नरमाइलो ठाउँ’ भनेर गनगन गरिरहने उनीहरु अमेरिका आएर अमेरिकाको प्रतिव्यक्ति आय र जि.डि.पि.मा कति वृद्धि भयो? त्यो पङ्तिकार जस्तो अनपढले बुझ्न सक्ने कुरा भएन। एकदिन उनीहरुले आफ्नो दुई वर्षको बच्चालाई नेपाल पठाए।

‘नाबालक बच्चालाई किन पठाएको?’ भन्दा केही वर्ष नेपालमै बसेर नेपाली भाषा र संस्कृति सिक्न नेपाल पठाएको उनीहरुको (कु) तर्क थियो। त्यसको जवाफमा मैले सिधै भनेँ, ‘भयो नि बच्चाको डाइपर किन्न महंगो भयो अनि पठाएको भनेर भन्दा हुन्छ’ भनेको उनीहरु मसँग यति क्रुद्ध भए कि बोल्ने छोडे।

बेप्रसङ्गको कुरा गर्नु, आफ्नो गलत परिचय दिनु, अरुको अध्यागमन स्थितिबारे ठोकुवा गरेर बोल्नु, कसैको गोप्य कुराको जानकारी छ भने सबैलाई भन्दै हिँड्नु, अरुको श्रीमतीसँग आफ्नो यौन सम्पर्क छ भनेर भन्नु, सामान्य मजदुरी गरेर कुनै हैसियत नै नभएको अबको राष्ट्रपतिको चुनावमा कसले जित्छ? र उसले जितेपछि यो-यो काम गर्छ भनेर बिना अर्थको विवाद गर्नु हामी सबै नेपालीहरुको साझा विशेषता हो।

र, पङ्तिकार पनि यो विषयमा अपवाद होइन। आजको दिनमा आर्थिक रुपमा बलियो हुन सक्दा मात्र जीवन चाल्ने तिताे यथार्थ भएको र आफूलाई अभियन्ता भन्दा भन्दै धेरैले आत्महत्या गरेर आफ्नो जीवन समाप्त पारेको सबैले देखेको र सुनेको नै छन्। आफूभन्दा ठुलो सत्य कुनै नभएको र त्यसैलाई सत्य मानेर हिँड्न सक्यो भने मात्र जीवन सरल हुने कुरामा दुई मत छैन।

यस्तो स्तरहीन गफ दिएर अरुलाई आकर्षित बनाउन खोज्नु भनेको मुर्खतामात्र भएको र त्यस्ता कर्म नगर्न सबैलाई सुझाव छ, जसले त्यस्ता काम गरेका छैनन्, उनीहरुले कुनै प्रकारको प्रतिक्रिया दिनुपर्ने कारण छैन।

अर्थहीन र स्तरहीन कुरा गरेर अरुलाई प्रभावित पार्न खोज्नु पनि एक प्रकारको मानसिक रोग भएको कारण त्यसको पाटोमा पनि सोच्न जरुरी छ। @twitter#naviinr

प्रकाशित मिति: : 2024-02-26 18:45:00

प्रतिकृया दिनुहोस्