तिमीलाई जन्मदिनको शुभकामना !

अजात काधिरा

काठमाडाैं
Breaknlinks
Breaknlinks

प्रिय साथी कमल,

तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!
तिमीलाई तिम्रो हितको सबै कामका लागि शुभकामना!

म तिम्रो साथी बन्न सकेकोमा गर्व गर्दै तिमीलाई तिम्रो जन्मदिनमा मैले कुनै भौतिक उपहार नदिई उल्लेखित शब्द समीकरणसहितको समय उपहार दिन चाहेँ। आशा छ, तिमीले यसलाई सहर्ष स्वीकार्ने छौ।

आज तिम्रो जन्मदिन, सर्वप्रथम त यस पावन दिनको अवसरमा तिमीलाई विगतका पलहरुले कहिल्यै नसताओस् अनि आगामी जीवनमा कहिल्यै पछाडि फर्केर निराश हुन नपरोस्, जन्मदिनको एक भूगोल शुभकामना टक्र्याउँदछु, स्विकार्नु ल।

प्रिय साथी, मैले तिमीलाई त्यति त बुझेको छैन होला तर जति बुझेको छु महसुस भने धेरै नै गरेको छु। हुन त तिम्रो र मेरो भावनाको नाता जोडिएको त्यति धेरै वर्ष भएको छैन तर हामी वर्षौदेखिको पुरानो साथी-सम्बन्ध हो भन्ने आभास हुन्छ मलाई।

तिमीलाई याद छ, हामीले सुरुको भेटमा लबिम मलको अगाडि रहेको ‘मट्का चिया’मा चियाको चुस्कीसँगै हाम्रा संघर्षशील यात्राको कुरा एक अर्कासँग साटासाट गरेको? हो त्यही दिनदेखि मैले तिमीलाई मजस्तै देखेँ।

हुन त हाम्रो जन्म, हुकाइ, पढाइ र बढाइ फरक ठाउँ र परिस्थितीमा भएको हो। हाम्रो भोगाइ पनि फरक थियो तर भोगाइको अनुभव भने एउटै थियो। त्यसैले म भन्छु नि तिमी मेरो सधैंको अन्तरआत्माको साथी हौ।

तिमीसँगको हरेक वार्तालापछि म हरेक समय नै सोच्छु साँच्चै नै तिम्रो सुदूरपश्चिमदेखि काठमाडाैँसम्मको यात्रा कति गाह्रो थियो होला है? हुन त म आफैँ पनि त्यही अवस्थाहरु पार गर्दै ती दु:खहरुलाई तह लगाउँदै एकदिन राम्रो होला नि भन्ने आशा बोकेर हिँडेको मान्छे, तर तिम्रा संघर्षहरुलाई एकटहले नियाल्दा मैले त के गरेको छु र भन्ने लाग्छ।

बझाङ बसेर काठमाडाैँको उच्च शिक्षाको सपनाहरु देख्दै ती सपनाहरु सजाउँदै त्यही सपनाहरुलाई पछ्याउनु र काठमाडाैँको यात्रा सुरु गर्नु साँच्चै नै चुनौतीपूर्ण अवस्था हो। तर, तिमीले त्यो चुनौतीलाई कहिले आफ्नो कमजोरी बनाएनौ, केहिले पनि डगमगाएनौ, हार खाएनौ। हरेकदिन नयाँ सपना बुन्ने आशामा आफूलाई अगाडि बढायौ। त्यसैले त तिम्रो हरेक सफलतामा अर्को सफलताले इँटा थपेको छ। त्यसैले त म भन्छु तिमी मेरो लागि उदाहरण हौ, प्रेरणाको पात्र हौ।

तिम्रो शालीनता, स्पष्टता, धैर्यता र मेहनतीपनको त म सधैं नै प्रशंसक हुँ। तिमी जस्तोसुकै परिस्थितिमा शान्त रहन्छौ र आफ्नो उत्तरदायित्वलाई निरन्तरता दिइरहन्छौ। तिमी एउटा नि:स्वार्थ भाव भएको मान्छे हौ। तिमी कसैलाई नराम्रो भन्दैनौ र उत्तिकै सम्मान दिन्छौ। हुन त तिमी अरुलाई सिकाउछाै आफूलाई प्राथमिकतामा राख्नुपर्छ भनेर तर तिमी नै आफूलाई भन्दा अरुलाई प्राथमिकतामा राखिदिन्छौ। तिम्रो लागि खुसी भन्नु नै अरुको मुहारमा हाँसो देखिनु हो। त्यसैले त म पनि तिमीलाई आज भन्छु केही कुरा आफ्नो लागि सोच, आफूलाई पनि ध्यान दिने गर है।

मैले तिमीलाई भेट्दाको समयमा म निकै नै विक्षिप्त अवस्थामा गुज्रिरहेको थिएँ। किनकि, मैले मेरो बुबा गुमाएकी थिएँ। म एक्लो छु भन्ने हुन्थ्यो र मेरो कोही आफ्नो छ भन्ने भ्रमबाट बाहिर निस्किएकी थिएँ। तिमीलाई मेरो एक्लोपनको कथा सुनाइरहँदा तिमीले भनेको थियौ, ‘म बुबाजस्तै त हुन सक्दिनँ तर तिमीलाई केही कुराले गाह्रो हुँदा आइ एम अलवेज दिअर फर यू’। याे कुराले मलाई साच्चै नै भावुक बनाएको थियो र अझै पनि बनाउँछ। अहिलेको समयमा अरुलाई अप्रिसियट गर्न जो कोहिले सक्दैन, हामीमा खुलेर तारिफ गर्ने ताकत नै छैन। तर, तिमी एउटा जो हौ मेरो खुसी र प्रगतीमा थप खुसी थपिदिन्छौ। तिमी एउटा यस्तो नि:स्वार्थ पात्र हौ जो खुलेरै प्रशंसा गर्छाै र गर्व गर्छौ। त्यसैले त म भन्छु नि तिमी मेरो अभिभावक हौ। हो, साँच्चै नै म एक्लिएको अवस्थामा तिमी भेटिनुले मेरो जीवनमा खास अर्थ राखेको छ।

तिम्रो हरेक कुरामा भएको दखलता देखेर म दङ्ग हुन्छु। तिमी मेरो आदर्शको पात्र हौ। तिम्रो समाजसँगको बुझाइ, सामाजिक विषयहरुमा भएको बुझाइ धेरै अब्बल लाग्छ। तिमीबाट धेरै कुरा सिकेको छु मैले। तिमी कुनै पनि व्यक्तिलाई परिबन्धनमा पार्नुभन्दा पनि उसको स्वतन्त्रतालाई ख्याल गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छौ। स्वतन्त्रतालाई तिमी जिउने आधार हो भन्छौ। तिम्रो बुझाइ अन्य व्यक्तिको भन्दा फरक छ तिमी हरेक कुरामा तर्ककका साथ प्रस्तुत हुन्छौ। तिमीलाई कुनैबेला मैले र्‍यान्डम्ली सोधेको प्रश्न थियो, जीवन साथी कस्तो हुनुपर्ला? तिमीले त्यतिखेर भनेको थियौ, ‘श्रीमान र श्रीमती’ हौ भनेर सीमित घेरामा बाँधिनुभन्दा पनि एकअर्का बिचको सम्बन्ध ‘बेष्ट फ्रेन्ड’को जस्तो हुनुपर्छ। हरेक परिस्थितिमा एकअर्काको सहयोगी बन्नुपर्छ, साहारा बन्नुपर्छ र एक अर्कालाई इनकरेजमेन्ट गर्ने हुनुपर्छ। तिम्रो यो सोच साँच्चै नै दमदार लाग्छ मलाई। त्यसैमा तिमीले जोडेका थियौ, हाम्रो समाज पितृसत्ताको मुकुट लगाएर बसको छ त्यसैले पनि हरेक कुरामा परिवर्तन गर्न गाह्रो छ जस्तैः चाहे त्यो जातीय विभेद होस्, सामाजिक अन्याय होस्, लैङ्गिक विभेद होस् वा अन्य कुनै, परिवर्तन, एककदम आफैँ नै अगाडि सर्नुपर्छ भनेको कुरा साह्रै नै सराहनीय छ।

यो त एउटा उदाहरणमात्र हो तर तिमीले गर्ने हरेक तर्क संगत फिलोसफिकल कुरा सुन्दा, दार्शनिक विचारहरुलाई अवलम्बन गरेर बोल्दै गर्दा घरिघरि मलाई डाहा हुन्छ, म तिमीजस्तो इन्टलक्चुल व्यक्तिलाई ऊ मरो बेष्ट फ्रेन्ड हो भन्न पाउनुमा गर्व गर्छु।

तिमी मेरो लागि हेलो-साथी, भलो-साथी, युवा-साथीभन्दा निकै माथि ‘निरपेक्ष मित्र’को रूपमा रह्यौ र छौ त्यतिमात्र नभएर तिमी मेरो अभिभावक हौ। परिवारको एक हिस्सा हौ, जो एक हृदयको ऐनाजस्तै छ। वर्तमान समयमा जीवनका हरेक प्रहरहरूमा प्रेरणा र मार्गदर्शन प्रदान गर्ने अर्थात् भलो चिताउने सायद कमै पात्रमात्र भेटिन्छन् जुन पात्रको स्थानमा तिमीले आफ्नो स्थान सुरक्षित राख्न सफल भयौ, त्यसको लागि तिमीलाई हार्दिक बधाई छ।

तिमीलाई थाहा छ, ‘उत्तम मित्रहरूले जवाफ दिँदैनन्, उनीहरू आफैँमा उत्तर खोज्ने इच्छा जगाउँदछन्’। हो यो तिमीले धेरै कुरामा पुष्टि गर्दै आइरहेको छौ। प्रगाढ सम्बन्ध भन्ने कुरा शब्दले भन्दा सामीप्यताले नजिक भइने रहेछ। अक्सर यहाँ कसैलाई गरेको प्रशंसा कसैलाई आलोचना, त कसैलाई गरेको आलोचना कसैलाई प्रशंसा हुन पुग्दो रहेछ। आज मन परेको मान्छे भोलि मन नपर्न सक्दो रहेछ। आज भेटेको मान्छे भोलि नभेटिन सक्दो रहेछ। तर, तिमी यी सबै कुराभन्दा माथि छौ, त्यसैले त सबै कुरामा परफेक्ट हुनुमा म तिमीलाई सधैं उत्तिकै सम्मान गर्छु।

मलाई तिमीसँगको साथित्वको नाता सर्वप्रिय लाग्छ। म तिमीलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद यो मानेमा कि तिमी नि:स्वार्थ, समर्पित, मेहनती छौ र तिमीसँग प्रशंसा, भक्ति, प्रेरणा र आत्मीयता जो छ त्यसको लागि म सधैं तिमीलाई सम्झिने गर्दछु।

तिमी खुसी, आनन्दित र एकदम सुन्दरमात्र नभई तिमीसँग सुनको मुटु र जादुगर व्यक्तित्व छ। तिम्रो जीवनले आजबाट अझ नयाँ अर्थ, स्मारक सफलता, असीम दशकहरू, स्वस्थ जीवन, वर्षौँको जीवन्तताका साथै समृद्धि प्राप्त गरोस्। तिम्रो यस जन्मदिनमा म तिमीलाई शुद्ध खुसी, निर्मल र अद्भूत जीवनको शुभकामना व्यक्त गर्दछु।

तिम्रो बहादुरी र कडा परिश्रम तिम्रोमात्र नभई तिम्रो घर, परिवार, समाज र राष्ट्रकै लागि गर्व गर्न लायक छ र रहिरहोस्। तिमी तिम्रा सबै प्रयासहरूको लागि प्रशंसाको हकदार छौ। तिम्रो जन्मदिनमा तिम्रा सबै शुभचिन्तकहरूबाट तिमीलाई प्राप्त सबै शुभकामनाहरु र आशिर्वादहरु तिम्रा लागि योग्य छन्। तिम्रो यो सबभन्दा राम्रो दिनमा विगतमा मेरा ज्ञात, अज्ञात गल्तीहरू र यो पत्रमा ‘तिमी’ भनेर गरेको सम्बोधनको साँचो क्षमाको लागि समेत तिमीलाई निवेदन गर्न चाहन्छु।

प्रिय साथी कमल, हामी फेरि चिया गफको लागि छिट्टै भेट्ने छौँ र समयलाई यादगार बनाउनेछौँ। तिमीलाई फेरि पनि जन्मदिनको शुभकामना।

उही तिम्रो साथी

अजात काधिरा

प्रकाशित मिति: : 2024-04-05 06:00:00

प्रतिकृया दिनुहोस्

    मेरो जन्मदिनको अवसरमा मलाई आशिर्वाद प्रदान गर्ने प्रीय साथी काधिरा अजात संगै यो शुभकामना पत्र प्रकाशन गरि सहयोग गरिदिने Breaknlinks.com प्रति पनि हार्दिक आभार!!

    • 3 हप्ता अगाडि
    • Kamal venus

    मेरो जन्मदिनको अवसरमा यति उत्कृष्ट ढंगले आशिर्वाद प्रदान गरेकोमा मेरो हरदमको प्रीय साथी काधिरा अजात लाई हृदय देखि आभार प्रकट गर्न चाहान्छु। म एक भुंई मान्छे भित्र येतिका धेरै सम्भावना देख्ने तिम्रा निस्वार्थ नयनलाई हार्दिक धन्यवाद !

    • 3 हप्ता अगाडि
    • Kamal Venus