जोखबहादुर महरा: ‘प्रचण्डका स्वकीय’देखि मुख्यमन्त्रीसम्म

Breaknlinks
Breaknlinks

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा नियुक्त भएका छन्। 

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनलाई नेकपा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा (एकीकृत समाजवादी) पार्टी १ र १ जना स्वतन्त्रसहित ४८ जना प्रदेशसभा सदस्यकाे समर्थन रहेकाे छ।

महरा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दल नेता र पार्टी स्थायी कमिटी सदस्य हुन्। 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि बहुमत जुटाएर महरा पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्ति भएका हुन्।

महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

को हुन् महरा

वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ (साविक गजुल गा.वि.स–२) मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका महराले राजनीतिमा पाइला टेक्नुअघि र पछि पनि लामो समय प्रा.वि र मा.वि शिक्षकको रुपमा काम गरे।

अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु दाङको सचिव बने। त्योसँगै नेकपा (मशाल) को पार्टी सदस्यता लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बने।

२०५१ सालमा नेकपा (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनले २०५४ सालमा क्षेत्रीय ब्यूराे सदस्य र २०५६ सालदेखि ४ वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए।

२०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएका थिए।

संविधान सभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव नै बनेका थिए।

प्रकाशित मिति: : 2024-04-05 18:38:00

प्रतिकृया दिनुहोस्