राजनीतिक शक्ति-केन्द्रको सिधा ‘टकराव’: इलाम- २

कमल प्रभात

काठमाडाैँ

आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन कार्य तालिकाअनुसार शनिबार १२ राजनीतिक दल र ८ स्वतन्त्र व्यक्तिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी (मनोनयन) दर्ता गराएका हुन्।

जसअनुसार नेकपा (माओवादी केन्द्र)सहितको समर्थनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ, नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एकीकृत समाजवादी पार्टीका जीतबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङयाङ लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की लक्ष्मी गुरुङ, जनमतका प्रेमकुमार थाम्सुहाङ, राप्रपा नेपालका गणेशबहादुर चौहानलगायत रहेका छन्।

त्यस्तै डकेन्द्रसिंह लिम्बु, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतमलगायत ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन्। 

त्यही क्षेत्रबाट निर्वाचित सुवासचन्द्रको निधनपछि एमालेले बुबाको विरासत जोगाउने गरी सुहाङलाई अगाडि सारेको छ। अनुभवी र पार्टीका लागि जीवनभर मरिमेटेका आधा दर्जन आकांक्षीलाई रोकेर अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई अगाडि सारेका हुन्।

अध्ययनसँगै खेलकुदका गतिविधि र कानुन व्यवसायीका रुपमा सक्रिय सुहाङलाई एमालेले गत मंसिरमा सम्पन्न‘मध्यपहाडी लोकमार्ग यात्रा’बाट राजनीतिमा ‘प्रोजेक्ट’ गरेको हो। 

त्यसयता सुहाङ पार्टीका गतिविधिमा सक्रिय छन्।

उनले बुबाको योगदान र आफ्नो आकांक्षाले निर्वाचन जित्नेमा आफू ढुक्क भएको बताउँदै आएका छन्।

सुहाङलाई एमालेसँगै माओवादी केन्द्रको पनि साथ छ। अब नेम्वाङका लागि केपी शर्मा ओलीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत मत माग्नेछन्।

नेम्वाङको विरासत ढाल्न नेपाली काँग्रेसले डम्बर खड्कालाई अगाडि सारेको छ। पार्टी सभापति शेरबहादुर देउवाले चार दिनसम्म लगातार छलफल गएर अन्तिममा आफैले छानेका खड्कालाई अगाडि ल्याएका हुन्। खड्काको उम्मेवारीलाई काँग्रेस पदाधिकारीहरूले अस्विकार गरेपनि अन्तिममा उनकै नाममा सहमति जुट्यो। 

खड्का तीनै व्यक्ति हुन्, जो अघिल्लो निर्वाचन (२०७९)मा सुवास नेम्वाङसँग १ सय १४ मतले मात्रै पराजित भएका थिए। त्यतिबेला खड्कालाई तत्कालीन गठबन्धन (काँग्रेस–माओवादी–एकीकृत समाजवादीलगायत)को साथ थियो। त्यसबेला नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत ल्याएका थिए।

माओवादीको मत भने यसपालि सुहाङलाई जानेछ जो मत अघिल्लोपटक खड्काले  पाएका थिए। तर, पनि निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी खड्काको छ। 

‘इलामेली जनताले यो परिपक्क छ, यसले काम गर्न सक्छ, यसले हिजोदेखि दुःख गरिरहेको छ। हामीलाई दुःखमा साथ दिने मान्छे हो भनेर विश्वास गर्नु भएको छ,’ उम्मेदवारी दर्तापछि खड्काले भने, ‘अरु गठबन्धन भन्दा पनि मेरो आत्मीय गठबन्धन छ, म जित्छु।’

काँग्रेस–एमाले बिचको विगतदेखि लडाईंबाट फाइदा उठाउने गरी रास्वपाले माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई अगाडि सारेको छ। 

लिम्बु उम्मेदवारी घोषणा गर्नुअघि नेकपा (माओवादी केन्द्र)निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा आबद्ध थिए। सुरुमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका उनलाई पछि रास्वपाले ‘घण्टी’ थमाएको हो।

निर्वाचन मिति घोषणा भएलगत्तै रास्वपाले शुक्ष्मरुपमा इलामेलीको नाडी छामेको थियो। रास्वपाले सुरुमा सोही निर्वाचन क्षेत्रमा पर्ने ६ स्थानीय तहमा ६ संसादलाई पठाएर इलामेली जनताको धारणा बुझेको थियो।

त्यसपछि सह–महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा टोली बनाएर इलाम– २ मा परिचालन गरेको थियो।

निर्वाचन मिति घोषणा भएयता पटक–पटक गरी रास्वपाका लगभग सबै माथिल्लो तहका नेताले इलाममा पाइला टेकेर माटो छामिसकेका छन्। 

यसै हप्ता पार्टी सभापति तथा देशका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले इलाम पुगेर लिम्बुको उम्मेदवारी घोषणा गर्दै इलामेली मतदातासँग मत मागेको थिए। भने, लिम्बुको उम्मेदवारी दर्ता गराउन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका पार्टी उपसभापति डोलप्रसाद अर्याल इलाम पुगेका थिए।

उम्मेदवारी दर्तापछि लिम्बुले इलामेली जनताले आफूलाई निर्वाचित गराउनेमा ढुक्क रहेको बताए। 

‘इलामेली जनताको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी हो, म इलामेली जनतको पक्षमा काम गर्नका लागि म अहिले मैदान उत्रिएको छु। इलामको भूगोललाई सबैभन्दा चिन्ने, यो माटोलाई सबैभन्दा बुझेको, यो माटोमा सबैभन्दा धेरै खाएर खेलेर हुर्किएको मान्छे म हुँ। यहाँको समस्या, यहाँको सम्भावना सबै बुझेकोले मेरो उम्मेदवारी हो, यसपालि इलामेली जनताले जिताएर पठाउनुहुनेछ भन्नेमा म विश्वस्त छु,’ उम्मेदवारी दर्तापछि लिम्बुले भनेका छन्। 

वैशाख १५ मा बझाङमा पनि उप-निर्वाचन हुनेछ। तर, अहिले लगभग सबैजसो राजनीतिक शक्तिकेन्द्र भने इलाम- २ मै केन्द्रित छन्। उम्मेदवारका रुपमा पार्टीहरूले आ-आफ्ना स्थानीय व्यक्ति खडा गरे पनि यो चुनावी लडाइँ भने सिधै शीर्ष दलीय नेतृत्वबीच नै हुनेछ। एकातिर सत्ता समीकरणमा गाँसिएका दलहरूले आफ्ना उम्मेदवार खडा गरेका छन् भने ‘एक्लै लड्ने’ घोषणा गरेर सरकारबाट बाहिरिएको नेपाली काँग्रेसका लागि पनि यो चुनाव पहिलो ‘अस्तित्व’को लडाइँ हुनेछ।

आसन्न उपनिर्वाचन र गठबन्धनको भविष्य

प्रकाशित मिति: : 2024-04-06 19:52:00

प्रतिकृया दिनुहोस्