स्कुलका नाममा के छ? (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

निजी स्कुल अर्थात बोर्डिङ भन्नासाथ- झट्ट अंग्रेजी नामको झल्को आउँछ।

साना-ठूला सबैजसो निजी विद्यालयहरूले अर्थ न वर्थका अंग्रेजी नामहरू झुन्ड्याउन थालेको लामो समयपछि काठमाडौं महानगरले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयलाई नेपाली नामाकरण गर्न आदेश दिएको छ। 

अब काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने छ।

पछिल्ला समय विदेशी नाममा विद्यालय खोल्नको संख्या बढेको र नेपालीपनलाई संरक्षण गर्न नसकेको कारण देखाउँदै महानगरले अंग्रेजीमा राखिएको स्कुलको नाम फेर्न लगाएकाे छ। 

नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक समेत गर्ने महानगरको चेतवनी छ। 

काठमाडौं उपत्यका मात्र नभएर अन्य जिल्लाहरूमा पनि स्कुललाई फरक देखाउनका लागि विद्यालयको नाम अंग्रेजीमा राखिएको छ। तर त्यसो गर्नाले नेपालीपन हराउँदै गएको महानगरको ठहर छ। 

महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२३ वटा रहेको महानगरपालिकाका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोख्रेलले जानकारी दिइन्।

‘ती स्कुलको नाम रुजु गर्ने काम भइरहेकाले सङ्ख्यामा तलमाथि हुन सक्छ’, उनले भनिन्। 

रुजु गरिसकेपछि सबै विद्यालयलाई लिखित पत्राचार गरेर नेपालीपन झल्कने नाम राख्न बिहीबारदेखि पत्राचार गर्ने काम भइरहेको छ। 

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ

बुधबार सार्वजनिक सूचना जारी गरेर विद्यालयको मौलिक नामकरण गर्ने प्रक्रिया अगाडि नबढाए नयाँ शैक्षिक सत्रमा भर्ना प्रक्रिया अघि बढाउनसमेत रोक लगाइने महानगरपालिकाले जनाएको छ।

उनका अनुसार सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने छ।

महानगरले गरेको निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ।

अहिले विद्यालयको नाम परिवर्तन गर्न चाहने विद्यालयसँग महानगरपालिकाले पचास हजार रूपैयाँ राजस्व लिँदै आएको छ। सोहीअनुसार नेपाली नाम परिवर्तन गराउनका लागि स्कुल र कलेजहरूले पचास हजार तिनुपर्ने काठमाडौं महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले बताए।

‘हामीले कानुन र नियमअनुसार स्कुल र कलेजलाई अंग्रेजी नाम फेर्न लगाएका हौं। विद्यालयसम्बन्धि नियम पहिलै बनिसकेको थियो। हामीले त लागु मात्र गरिदिएका हौं। त्यसैले शुल्क अनिवार्य रुपमा लाग्छ’, बिएल नेपाली सेवासँग उनले भने। 

उनका अनुसार काठमाडौंमा सञ्चालित अंग्रेजी विद्यालयहरूको नाम परिवर्तन गराउन महानगरको लागि चूनौतीपूर्ण छैन। तर विद्यालयहरूको लागि धेरै चूनौतीपूर्ण छ।

‘अंग्रेजी नाम राखेर चलाइरहेका विद्यालयहरूले आफ्नो साइन बोर्डदेखि ल्याएर धेरै कुराहरूमा परिवर्तन गर्नुपर्छ। त्यसैले नाम परिवर्नन गर्ने काम विद्यालयहरूको लागि चूनौतीपूर्ण छ’, उनले भने, ‘तर ३५ दिनसम्म अंग्रेजी नाम परिवर्तन नभए कानुनअनुसारको कारवाही हुन्छ।’

३५ दिनभित्र विद्यालयको नाम फेर्न असम्भव

नेपालीपन झल्किनेगरी विद्यालयको नाम राख्ने कुरा स्वागतनीय रहेको बताउँछन्, निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)काअध्यक्ष राजन श्रेष्ठ। 

उनका अनुसार महानगरले गरेको निर्णय सकारात्मक छ तर विद्यालयको नाम परिवर्तन गर्ने म्याद कम छ। 

कम्पनी दर्तादेखि परीक्षा बोर्ड लगायत सम्बिन्धत निकायहरूमा स्कुलहको नाम पुरानै रहेको बताउँदै महानगरले तोकेको ३५ दिन म्याद कम भएको उनको भनाइ छ। 

‘ढिला चाँडो भएपनि विद्यालयहरूको नाममा नेपालीपन झल्किनैपर्थ्यो। त्यो राम्रो पक्ष हो। तर महानगरले भनेअनुसारको दिनमा स्कुलहरूको नाम परिवर्तन गर्न सकिदैंन’, उनी भन्छन्, ‘महानगरले गरेको निर्णय ठिक हो तर विद्यालयहरूलाई समय दिनुपर्छ।’

महानगरले बिना कुनै तयारी यस्तो निर्णय गरेको श्रेष्ठको बुझाइ छ। उनका अनुसार  महानगरले सरकारवालासँग छलफल गरेर विद्यालयको नाम राख्न विकल्पहरू दिनुपर्छ। 

महानगरले ३५ दिनको अडान त्यागनुपर्ने बताउँदै उनले भने, ‘३५ दिनभित्र विद्यालयहरूको नाम फेर्नु असम्भव छ। धम्कीपूर्ण आदेश दिनुको सट्टा हातेमालो गरेर अगाडि बढ्नुपर्छ। होइन भने नियम खारेज गर्नुपर्छ कि महानगरले ६ महिनासम्मको म्याद दिनुपर्छ।’

भिडियाे :

प्रकाशित मिति: : 2024-04-09 21:00:00

प्रतिकृया दिनुहोस्