देउवा–माधवको भेटले सत्ता समीकरणमा तरंग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार राती भेटवार्ता भएको छ। 

रातमा भएको भेटले सत्ता समीकरणमा तरंग ल्याइदिएको छ।

किनकी दुई नेताबीचको भेटमा सत्ता फेरबदलका विषयमा गम्भीर छलफल भएको स्रोत बताउँछ। 

काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भएको भेटघाटमा प्रदेश सरकार गठनमा दुई नेताबीच छलफल भएको हो। सुदूरपश्चिममा एमालेले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेपालले देउवासँग भेट गरेको बुझिएको छ। 

स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरु बनाउने विषयमा छलफल भएको छ। काँग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ। 

त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आकलन गरिएको छ । मधेस प्रदेशको सरकार संकटमा पर्ने वित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ।

नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफु तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ।

एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ। देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ। 

प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ। प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउदा प्रचण्डले १५७ मत पाएका थिए। त्यस आधारमा २२ मत कम हुदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन्।

प्रकाशित मिति: : 2024-04-18 10:40:00

प्रतिकृया दिनुहोस्