गण्डकीकाे मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

File Photo
File Photo

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आजको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाइ भएको थियो।

आजको सुनुवाइ नसकिएपछि यस रिटलाई 'हेर्दाहेर्दै' मा राखिएको छ।

यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाइ आज गर्न आदेश दिएको थियो।

मुख्यमन्त्री अधिकारीले सरकारको दाबी गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

प्रकाशित मिति: : 2024-04-22 17:12:00

प्रतिकृया दिनुहोस्