सहकारी प्रकरणबाट छुटेका दीपेश पुन सुन प्रकरणमा फेरि पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा सहकारी ठगी प्रकरणमा छुटे लगत्तै सुनकाण्डमा फेरि पक्राउ परेका छन्।

शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको ४ लाख धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका हुन्। 

उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी)मा पठाएको छ। यद्यपि रुपन्देही प्रहरीले यसलाई पक्राउ भनेको छैन। 

‘उनी (दीपेश पुन) अदालतबाट छुटे। अदालतबाट छुटेपछि सिआइबीले यहाँ बुझाउनु भनेर पत्राचार गरेको थियो। साेहीअनुसार रुपन्देही प्रहरीले आफ्नै प्रवन्ध गरेर सिआइबी पठाइदिएको हो’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिएल नेपाली सेवासँग भने। 

उनले यसलाई पक्राउ भनेर ब्याख्या गर्न नमिल्ने बताए। ‘यसलाई पक्राउ भनेर भन्न मिल्दैन’, उनले भने, ‘सिआइबीले त्यो मुद्धा (सहकारी प्रकरण)मा छुटेपनि अर्को मुद्धामा अनुसन्धान गर्नुपर्ने भएकाले पुन: सिआइबीमा पठाउने भनेकाले प्रहरीले आफ्नै प्रवन्ध गरेर पठाएको हो।’

दीपेश पुनमाथि ६० केजी सुन तस्करीमा जोडिएको आरोप छ। साेही आरोपमा उनी बुटवलस्थित सुप्रिम सहकारी ठगीमा छुटेपनि फेरि पक्राउ परेका हुन्। 

उनलाई जिल्ला अदालत रुपन्देहीले वैशाख ७ गते ४ लाख धरौटीमा छाड्न अदेश दिएको थियो। तर उनी पैसा बुझाउन नसकेपछि कारागार चलान भएका थिए।

शुक्रबार रुपन्देही अदालतमा ४ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका दीपेश पक्राउ परेका हुन्। 

सुन तस्करीका थप समाचार पढ्नुस्–
 
प्रकाशित मिति: : 2024-04-26 21:50:00

प्रतिकृया दिनुहोस्