दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, दुई घाइते

दाङको देउखुरीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षीय विरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी ए.ए.ए ८७०० नम्बरको सरकारी मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा३प ८२४५ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे लमही नगरपालिका–१ नर्तीमा एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका थिए।

घाइतेमध्ये खड्काको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे। सोही ठाउँका ५७ वर्षीय कमानसिंह खत्री र रुपन्देहीको गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको अहिले उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
 

प्रकाशित मिति: : 2024-05-22 17:44:00

प्रतिकृया दिनुहोस्