सदनदेखि सडकसम्म पुगेको प्रतिपक्षलाई निरन्तर उपेक्षा

जेठ २ गते सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा घोषणा गरिदए– ‘अब संसदमा चुप लागेर बस्ने छैनौँ।’ संसदीय दलको बैठकमा गरिएको यो घोषणा प्रमुख प्रतिपक्ष दल काँग्रेस लक्षित थियो। 

काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गरेपछि ओलीले आफू चुप लागेर नबस्ने उर्दी गरेका थिए। उनले भनेका थिए– ‘काँग्रेस बकबास बोलिरहने। हामी सुनिरहने होइन। अब बकबास सुनिरहन हामी तयार छैनौँ। संसद चल्छ।’ 

ओलीले संसद चल्छ भनेर २ गते घोषणा गरे। ३ गते संसद बैठक बस्यो। काँग्रेसले रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र उनीमाथि छानबिन गर्ने संसदीय समिति माग गरिरहेको थियो। 

३ गते पनि काँग्रेसले सोही अडान छाडेन। संसद अवरुद्ध गर्‍यो। तर सभामुख देवराज घिमिरे काँग्रेससहित प्रतिपक्ष दलको आवाज सुनेनन्। संसद बैठक अगाडी बढाए। 

काँग्रेस वेल घेराउमै उत्रियो। तर पनि सभामुख घिमिरेले बैठक रोक्ने मनसाय देखाएनन्। किनकी २ गते एमाले अध्यक्ष ओलीले भनिदिएका थिए– ‘अब संसद बैठक रोकिदैन। काँग्रेसको बकबास सुनिदैन।’ सायद ओलीको यही आदेश घिमिरेले मानेका हुन् कि, यसअघि सिटबाट प्रतिपक्ष दल उठेर विरोध गरेपनि संसद बैठक रोकेका उनी यसदिन वेल घेराउ हुँदा पनि जबरजस्त अघि बढे। 

काँग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिन मानेको थिएन। वेल घेराउकैबीचमा घिमिरेले लामिछानेलाई रोष्टममा बोल्नका लागि समय दिए। काँग्रेसले लामिछानेलाई छेक्ने प्रयास गर्‍यो। अघिल्लो दिन काँग्रेसको बकबास नसुन्ने बचन गरेका ओलीले काँग्रेससँग मुकाबिला गर्न उठे। संसदमै प्रतिपक्षसँग भिडे। लामिछानेलाई रोष्टममा पुर्‍याउन सघाउन खोजे। 

सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच मुकाबिला भएपछि लामिछानेले बोल्न पाएनन्। र ६ गते प्रतिक्षले लामिछानेलाई बोल्न दियो। त्यसपछि पनि प्रतिपक्ष काँग्रेससहितले चित्तबुझ्दो जवाफ नभएको भन्दै हालसम्म संसद अवरुद्ध गर्दै आइरहेको छ। 

प्रतिपक्षले वेल घेराउ गर्दै संसद अवरुद्ध गरेपनि सरकार भने प्रतिपक्षलाई पेलेरै अगाडी बढ्ने मनसायमा छ। प्रतिपक्षको अवरोधकैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ गते संसदबाट विश्वासको मत लिए।

१३ गते आइतबार संसद अवरुद्धकैबीचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भयो। जसले संसदमा प्रतिपक्षको आवाज दबाउन खोजेको सरकारमाथि आरोप छ। ‘संसदीय प्रणालिमा सत्तापक्ष जहिले बहुमतमा हुन्छ। प्रतिपक्ष अल्पमतमा हुन्छ। अल्पमतमा भएको प्रतिपक्षलाई अहिलेको सरकार दबाएर अघि बढ्न खोजेको छ’, काँग्रेसका महामन्त्री गगन थापाले आइतबार प्रेस युनियनको ३३ औँ स्थापकना दिवसका अवसरमा भने। 

महामन्त्री थापाले भने झै सरकार प्रतिपक्षको आवाजलाई दबाउने कोशिसमा देखिन्छ। संसदीय प्रणालिमा एक जना सांसदको विरोधकाबीचमा संसद चल्नुलाई राम्रो मानिदैन। यहाँ सभामुख घिमिरे सबै प्रतिपक्ष दलको विरोधकाबीचमा संसद चलाइ रहेका छन्।  

उनले सभामुखको भूमिका भन्दा पनि पार्टीको भूमिका निर्वाह त गरिरेहेका छैनन् भन्ने प्रश्न उठ्न थालेको छ। सभामुख कुनै पार्टीसँग जोडिएको हुँदैनन्। तर एमालेबाट सभामुखमा पुगेका उनी ओलीले भनेको झै प्रतिपक्ष दल काँग्रेसको आवाजलाई बकबास बुझिरहेका छन्।

जसले काँग्रेस संदनदेखि सडकमा विरोध प्रदर्शनमा उत्रिएको छ। सरकारको यो कदलमलाई काँग्रेसका महामन्त्री थापा निरङ्कुशताको बाटोमा अघि बढेको रुपमा ब्याख्या गर्छन्। ‘यो सरकारको जुनकिसिमको गठजोड छ। यसले जुन किसिमको रवैया देखाउँदै छ। यो रवैया निरङ्कुशताउन्मुख छ। अनुदारवादी छ’, उनले भने। 

सरकारले यसरी नै प्रतिपक्षको आवाज दबाउनु भनेको व्यवस्थामाथि नै खतराको रुपमा थापा व्याख्या गर्छन्। ‘सरकारको यो रवैले हामीले प्राप्त गरेको व्यवस्था गुमाउने खतरा छ’, उनले भने, ‘त्यसले गर्दा अब बोल्ने बेला आयो। सत्तामा बसेकालाई झकझकाउने बेला आयो। हिजो हामी सदनमा थियौँ। अब सडकमा आएका छौँ।’

फागुन २३ गते प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरण फेर्दै एमाले र रास्वपासँग मिलेर सरकार बनाएपछि काँग्रेस प्रतिपक्षमा छ। सत्ता गुमेको पिरमा काँग्रेस पनि सरकारलाई कसरी गलाउन सकिन्छ भन्ने ध्यावन्नमा छ। 

यसैबेला लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि काँग्रेसले निरन्तर उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने मागलाई उठाइरहेको छ। र समिति पनि गठन भएको छ। 

तर त्यसको कार्यादेश कस्तो हुने भन्नेमा सत्तापक्ष र प्रतिपक्षबीच कार्यादेशमा दर्जनपटक छलफल भएपनि सहमति जुट्न सकेको छैन। जसले गर्दा काँग्रेसको संसद अवरुद्ध निरन्तर छ। 

अब काँग्रेस संसद मात्र होइन। सडकमा पनि पुगेको छ। आइतबार भृकुटीमण्डमा प्रदर्शन गर्दै काँग्रेसले सरकारलाई सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी दिएको छ। 

‘संसदको मोर्चामा बलपूर्वक उभिन्छौँ। सरकारको बलमिचाइ बढिरहेमा आज भातगाउँलेको प्रदर्शन मात्र भइरहेको छ। चाँडैनै ठुलो आन्दोन आह्वान हुन्छ। गाउँगाउँ उठेर आउने छन्’ काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘सिंहदरबार अगाडी, बालुवाटार अगाडी घर्ने आउन नपरोस्।’

उनले गृहमन्त्रीलाई जोगाउने बहानामा केपी ओलीले सहकारी ठगीमा परेका आफ्नालाई बचाउन पनि चाहेको आरोप लगाए।

प्रकाशित मिति: : 2024-05-26 20:10:00

प्रतिकृया दिनुहोस्