शुक्रबार, ११ जुलाई २०२५

साकार हुँदै आदर्शको ‘ड्रिम प्रोजेक्ट’

बिएल संवाददाता

बिएल संवाददाता

दाङ
2024-06-20 19:01:00
Break n Links
• • •

‘आदर्श’को एउटा सपना थियो– ‘लेकको बाटो’ खोल्ने। वन–जंगल र गाउँबस्ती छिचोल्दै ‘गाडी–मोटर’ कुदाउने। दाङ, रोल्पा र रुकुमको दूरी घटाउने। रोल्पा, रुकुम र सल्यानको पश्चिम भेगलाई ‘कृषि हब’ बनाउने। निगालपानी, कोइला, झ्याम, पातिहाल्न र खौलामा ‘माटो सुहाउँदो पहाडी सहर’ बसाउने।

यो ‘सोच र सपना’ तिनै व्यक्तिको हो, जो कहिल्यै सत्ता स्वार्थको शिखर चढेनन्। राज्यको सम्पत्ति लुट्ने वा जनताको ‘रगत–पसिना’ चुस्ने दाउमा लागेनन्। बरु उनी ‘जातिवादी र गुटवादी’ सांसद, मन्त्री वा नेतासँग भिडिरहे। जनताको हक र अधिकार माग्नेतर्फ लागिरहे। उल्टै आफ्ना पूर्वसहकर्मीहरूसँग विद्रोह गर्दा जेलसम्मै पुगे।

अब भनिहालौँ– पंक्तिकारले देखाउन खोजेका व्यक्ति चुडामणि ओली ‘आदर्श’ हुन्, जसलाई राप्ती भेगका मानिसहरू ‘दाङको तुल्सीपुर, सल्यानको कपुरकोट हुँदै रोल्पाको निगालपानी, कोइला, झ्याम, पातिहाल्न, महानेटा, दलसिंङे, रुकुमको खौला जोड्ने ‘पहाडी मार्ग’को परिकल्पनाकार भन्छन्।

पक्कै पनि! ‘यो मार्ग’को चर्चा हुँदा राजनीतिज्ञ आदर्श पनि छुटाइँदैनन्। डिपीआर गर्दा होस् या बजेट जुटाउँदा उनले पटकपटक धेरैतिरबाट हन्डर खाएका छन्। ‘लेकको बाटो’ निर्माण गर्ने योजनालाई सामान्य रुपमा बुझे पनि रुकुम, रोल्पा र सल्यानका नागरिकहरूको ‘लाइफ लाइन’का रुपमा लिइन्छ।

त्यस्तै, सल्यानको लान्ती, लेखपोखरा, दमाचौर, रोल्पाको जिनाबाङ, घर्तीगाउँ, माडीचौर र लिबाङ जोड्ने मोटरबाटोको पनि उनकै पहलमा स्तरोन्नति भइरहेको छ।

०००

‘अग्लो कद। चर्को स्वर। पहाडै थर्काउने हाँसो। सेताम्मे कपाल।’

आदर्शका अनेकन् परिचय छन्। वैज्ञानिक समाजवादको सपना छ। सामान्य परिवारबाट उठेको गर्वलाग्दो संघर्ष र बेग्लै राजनैतिक इतिहास छ। र, दशवर्षे जनयुद्धमा कान्छो भाइ गुमाउँदाको अथाह पीडा छ। उनको ‘क्रान्तिकारी जीवन’लाई एक पंक्तिमा खुम्च्याउँदा अन्याय हुन्छ।

अब ‘आदर्श’लाई यहीँनेर बिट मार्दै ‘दाङको तुल्सीपुर, सल्यानको कपुरकोट, रोल्पाको कोइलादेखि जिनाबाङ हुँदै रुकुमको खौला’ जाेड्ने सडकको चर्चा गरौँ। अनि, अलिकति चर्चा थपौँ– बाटो खन्नुअघिको।

०००

सपना देख्दादेख्दै! ‘लेकको बाटो’ हुँदै गाडी गुडाउने, छिटो यात्रा गर्ने, पश्चिम रोल्पामा उत्पादन भएको स्याउ–आलु, दूध–घिउ र खसी–बोकालाई दाङ, बुटवल र नेपालगञ्जसम्म लैजाने सपना लगभग पूरा हुँदैछ।

त्यसो त बर्सेनि तुलसीपुरदेखि रोल्पाको जिनाबाङसम्मको दूरी घट्दैछ। बेलामौकामा सडकको स्तरोन्नति भइरहेको छ। कहिलेकाहीँ बर्खामा रोकिएपनि अहिले गाडी–मोटर चलिरहेका छन्। एक हिसाबले भन्नुपर्दा जिनाबाङ भेगका यात्रुलाई दाङसम्म आउजाउ गर्न निकै सहज छ।

स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयले यो सडकमा नजर लगाइरहेका छन्। कृषि पर्यटनको राम्रो सम्भावना बोकेको यो क्षेत्रलाई राज्यको थप मद्दतकाे खाँचो छ।

हिजोआज निगालपानी–जिनाबाङ सडकखण्डलाई ‘जान्ने–मान्ने’हरू कृषि सडक पनि भन्छन्। कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको रोल्पाको पश्चिम भेगको पहुँचका लागि क्रमागत, बहुवर्षीय वा समपुरक योजनाअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेको छ।

तर, रोचक कुराचाहिँ के छ भने– एकताका चुडामणि ओली र उल्लेखित सडकखण्डको नाम देख्यो कि ‘बजेट काट्न तम्सिने’हरू अहिले एकखाले भ्रम फिँजाइरहेका छन्। मानौँ कि ‘दाङको तुल्सीपुर, सल्यानको कपुरकोट, रोल्पाको जिनाबाङ हुँदै रुकुमको खौला’ जोड्ने सडकको योजनाकार वा परिकल्पनाकार पनि उनीहरू नै हुन्! यो शतप्रतिशत भ्रम हो!

यो सडकको एकमात्र परिकल्पनाकार उनै आदर्श हुन्। उनी गंगादेव वा पश्चिम रोल्पाका साझा विकासप्रेमी नेता हुन्। कतिसम्म भने एमाले, कांग्रेस वा माओवादीका कतिपय नेताहरू लेकको बाटोलाई ‘आदर्श मार्ग’ पनि भन्छन्। तर यस्ता कुरामा आदर्शको कुनै रुचि छैन। तर उनी के चाहन्छन् भने– ‘सडक छिटो बनोस्। दुई लेनको बनोस्। स्तरीय बनोस्। गंगादेवमा उत्पादन भएका वस्तुभाउ दाङ लगेर बेच्न पाइयोस्। गाउँमै रोजगारी सिर्जना होस्। बसाइँसराइँ रोकियोस्।’

०००

अन्त्यमा, ‘लेकको बाटो’मा अहिलेसम्म जे–जति प्रगति भइरहेको छ, त्यो सबैको केन्द्रमा छन् चुडामणि। उनी जिनाबाङ्गी जनताको सपनाको रुपमा रहेको ‘ड्रिम प्रोजेक्ट’का सारथि हुन्। डीपीआरको फाइल बोकेर उनी सडक विभाग प्यूठानदेखि सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयमा पटकपटक धाएका छन्।

र, पार्टी वा नेताको झोला बोकेकै भरमा, मासु–भात र रक्सी दिएकै भरमा, स्वकीय सचिव वा एक कप चिया पिलाएकै भरमा सत्यलाई तोडमोड नगरौँ। अर्को अर्थमा भन्नुपर्दा ‘दाङको तुल्सीपुर, सल्यानको कपुरकोट, रोल्पाको जिनाबाङ हुँदै रुकुमको खौला’ जाने सडकमा कसैको पनि योगदान छैन। क्रमागत, बहुवर्षीय वा समपुरक योजनाअन्तर्गत जे–जति बजेट छ, त्यो रकम ल्याउनुमा एउटै व्यक्तिको पसिना छ। उनैकाे योगदान छ।

गतवर्ष नाउलीमा आयोजित एक कार्यक्रममा ‘आदर्श’ले बोलेको एक पंक्ति– शासकहरूलाई हेक्का हाेस्, बरू खरानी भइन्छ तर जनतालाई धाेका दिइँदैन। राजनीतिमा इमान्दारीता हुन्छ। सधैं धाेका पनि चल्दैन। याे युगका नागरिकहरू सचेत छन्। धाेका दिएपनि एक इन्च पछि नहटी अगाडि गइन्छ। रगत हाम्राे मात्रै बग्ने छैन, लडाइँ गर्न खाेज्नेहरूकाे पनि बग्न सक्छ!

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?