कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

File Photo
File Photo

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन्।

कार्कीले ९ बुँदे माग राख्दै मंगलबार कोशी प्रदेशसभा अगाडि अनशन सुरु गरेका हुन्। उक्त स्थानमा यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेपनि त्यसलाई बेवास्ता गर्दै कार्की आफ्ना समर्थककाे साथमा अनशन बसेका हुन्।

वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेकोउनकाे गुनासाे छ।

अनशनस्थलमा प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, केही प्रदेशसभा सदस्यहरू, नेपाली कांग्रेसका जिल्ला तहका नेताहरू पनि पुगेका छन्। साे स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

पूर्वमुख्यमन्त्री कार्कीले आइतबार प्रदेशसभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए। त्यसपछि कार्कीले आज दिउँसो ४ बजेदेखि अनशन थालेका हुन्। आफ्नो माग पूरा नभएसम्म अनशन फिर्ता नलिने उनले बताएका छन्।

उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माणलगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशनमा बसेका हुन्।

प्रकाशित मिति: : 2024-09-10 16:33:00

प्रतिकृया दिनुहोस्