राजा! फर्की आउलान् र? (भिडियाेसहित)

Break n Links
Break n Links

फागुन ७ गतेको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा सन्देश दिए।

कैयौं बलिदान अनि राणा शासकसँग कठिन लडाईं लडेर जनताले २००७ सालमा ल्याएको प्रजातन्त्र दिवस नेपालको इतिहासमा एउटा महत्वपूर्ण दिन हो। 

ज्ञानेन्द्रको त्यो भिडियो सन्देश अलि फरक थियो। उनको सन्देशको अर्थ निकै गहिरो थियो। उनको हाउभाउमा अलिअलि ‘कन्फिडेन्स’ पनि झल्किन्थ्यो। 

त्यसको केही दिनसम्म राजावादी चिनिएका राजेन्द्र लिङ्देनको ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ कलम थापाको ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल’ले दीपावली पनि गरे। 

राजा ज्ञानेन्द्रले घुमाइफिराई फेरि एकपटक आफूहरूलाई साथ दिनका लागि आह्वान गरेका थिए। त्यही आह्वानको स्वागत गर्न राजावादीहरूले दीपावली गरे। 

त्यसपछि राजा ज्ञानेन्द्र फेरि तीर्थाटनमा लागे। पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा पुगेर आफ्नो कूल देउवासँगै थुप्रै मठमन्दिरहरू पुगेर उनी बुधबार नै काठमाडौं फर्किएका छन्। उनका छोरा पारस शाह हृदयघात भएर नर्भिक अस्पतालमा भर्ना भएका थिए। बिहीबार उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

बुधबार राजधानी काठमाडौंमा लिङ्देनको पार्टी राप्रपाले मोटरसाइकल र्‍याली गरेको थियो। नारायणहिटी दरबार संग्राहलयअघिको सडक नै जाम गरेर भएको त्यो र्‍यालीमा राप्रपाका अध्यक्ष लिङ्देनलगायत पार्टीका वरिष्ठ नेताहरूसमेत मोटर साइकल चलाएका थिए। 

‘राजा’ बोलाउँदै चर्को नारा लगाउँदै त्यो र्‍यालीले केही सडकहरू परिक्रम गरेको थियो। र, त्यसमा निकै विवादित छवि बनाएका मेडिकल व्यवसायी दुर्गा प्रासाईं पनि सहभागी भएका थिए। 

त्यही बेला संसदको बैठक बसिरहेको थियो। सरकारले ल्याएका विधेयकहरूलाई अघि बढाउने कि नबढाउने भनेर सांसदहरूको चर्काचर्की बहस भइरहेको थियो।
केहीबेर संसदमा बसेर बाहिर निस्किरहेका प्रधानमन्त्री केपी ओलीलाई केही पत्रकारले ‘राजा र राजावादी’को आन्दोलनबारे प्रश्न सोधे।

प्रधानमन्त्रीले गाडीमा चढ्दाचढ्दै छोटो जवाफ दिए ‘खुट्टी देखेरै पत्याइयो।’

उनले ‘राजा’लाई गिज्याउँदै भने ‘राजगद्दीजस्तो कुर्सी जहाँ राखिदिए पनि भैगो नि…!’

२०६२/६३ को जनआन्दोलनपछि नारायणहिटी दरबार छोडेर नागार्जुनमा बस्दै आएका ज्ञानेन्द्रको हैसियत संविधानत: आम नागरिककै सरह हो। 

र, पनि उनले आफ्ना केही लिगेसी भने छोडेका छैनन्। हिन्दुका ठूला पर्वहरू तथा ऐतिहासिक दिवसका बेला उनले ‘राष्ट्र र जनताका नाम’मा भनेर सन्देशहरू जारी गर्छन्। 

देशभरि घुम्दै मन्दिर र देवीदेवताको दर्शन अनि पूजाआजा त ज्ञानेन्द्रका नियमित कर्मजस्तै हुन्। केही जहिल्यै देशदेशावर गरिरहन्छन्। कहिलेकाहिँ औषधि गर्न भन्दै थाइल्याण्ड तिर जान्छन्। राजा भएका भुटानजस्ता देशहरूमा पनि पुग्छन्। अनि कहिलेकाहिँ भारतका विभिन्न हिन्दु तीर्थस्थलहरूमा पुग्छन्। 

ज्ञानेन्द्रका सन्देश अनि उनका गतिविधिहरूबाट भने पटक पटक राजनीतिक तरंग ल्याइदिन्छ। उनको सन्देश आउनासाथ वा मठमन्दिर पुग्दा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सुन्दा ‘गणतन्त्रवादी’ भनिने नेताहरूले भने तत्कालै उनको आलोचना गरिहाल्छन्। 

कतिले उनलाई चेतावनी दिन्छन्। कतिले ‘राजा फर्किन्नन्’ भन्ने प्रतिक्रिया दिन्छन्। नेपाली राजनीतिमा दोहोरिइरहने यी नियमित दृश्य हुन्।

तर गत फागुन ७ गते ज्ञानेन्द्रको सन्देशले भने अलि फरकखाले राजनीतिक तरंग ल्याइदिएको छ। 

यो सन्देशपछि राजा चाहने जमात झन् उत्साहित भएका छन्। गणतन्त्रवादीहरू भने उनलाई फेरि चेतावनीका भाषा बोलिरहेका छन्। 

के फेरि राजतन्त्र फर्किन्छ? यो प्रश्न जति सजिलो र सस्तो छ, त्यसको अर्थ अनि जवाफ आफैमा निकै गम्भिर छन्। 

कतिपय विश्लेषकहरूले राजतन्त्रप्रति बढ्न थालेको जनमतलाई ‘अहिलेको व्यवस्था’ र नेताहरूप्रतिको अविश्वास अनि असन्तुष्टीको परिणाम भनेका छन्। 

कतिपयले साँच्चिकै राजतन्त्रप्रतिको ‘क्रेज’ बढ्दै जान थालेको बताएका छन्। 

देशका विभिन्न ठाउँमा सभा, सम्मेलन र यस्ता र्‍यालीहरू गर्दै आएको राप्रपा पनि यतिबेला उत्साहित भएको छ। र, पटक पटक निर्णायक आन्दोलन गर्ने चेतावनी दिइरहेको छ। 

तर यत्तिकैमा राजतन्त्र फर्किदैंन। राजा फर्किन सक्दैनन्। 

त्यसका लागि कि २०६२/६३ वा २०४६ जस्तै जनआन्दोलन चाहिन्छ। 

कि संविधान नै संशोधन गर्नुपर्छ। संविधानमा यो कुनै अपरिवर्तनीय महल होइन। 

संसदमा दुई तिहाइ बहुमत पुर्‍याएर राजतन्त्रात्मक व्यवस्था गर्न सकिन्छ। 

र, यसको पनि सम्भावना छैन। किनकि गर्भसिद्धान्तमै ‘राजसंस्था’ बोकेर आएका राप्रपाको जनमत पुग्दै पुग्दैन। 
 

प्रकाशित मिति: : 2025-03-07 07:30:00

प्रतिकृया दिनुहोस्