बिएल संवाददाता
बेलायतका पूर्व राजकुमार एन्ड्र्यु फेरि एपस्टिन काण्डले घेरिएका छन्।
तस्बिरहरू अमेरिकी न्याय विभागले शुक्रबार सार्वजनिक गरेका जेफ्री एपस्टिनसम्बन्धी फाइलहरूमा समावेश लाखौँ नयाँ कागजातहरूमध्ये एन्ड्र्युको आपत्तिजनक तस्बिरहरू पनि सार्वजनिक भएको हो।
नयाँ सार्वजनिक गरिएका फाइलहरूमा एक महिला भुइँमा पल्टिएको अवस्थामा पूर्व राजकुमार उनीमाथि चार हात–खुट्टामा टेक्दै बसेको फोटो सार्वजनिक भएको हो।
ती फाइलहरूमा सन् २०१० मा एपस्टिनले तत्कालीन राजकुमार एन्ड्र्युलाई एक रुसी महिलासँग भेट गराउने प्रस्ताव गरेको विवरण पनि समावेश छ।
पूर्व राजकुमार हाल एन्ड्र्यु (माउन्टब्याटन–विन्डसर) लामो समयदेखि एपस्टिनसँगको सम्बन्धका कारण विवादमा तानिँदै आएका छन्। एपस्टिनले नाबालिगमाथि यौन अपराधको मुद्धा खेपिरहेको अवस्थामा सन् २०१९ मा जेलमै आत्महत्या गरेका थिए।
६५ वर्षीय बेलायती नागरिक एन्ड्र्युले बारम्बार कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन्, तर एपस्टिनसँगको सम्बन्धका कारण शाही जिम्मेवारीबाट पछि हटेका थिए।
गत अक्टोबरमा राजा चार्ल्स तृतीयले उनका सबै शाही उपाधि र सम्मान खोसेका थिए। यो निर्णय एपस्टिनबाट पीडित भर्जिनिया जिउफ्रेको मृत्युपछि प्रकाशित आत्मकथामा पूर्व राजकुमारविरुद्ध गम्भीर आरोपहरू सार्वजनिक भएपछि आएको हो।
अमेरिकी तथा अस्ट्रेलियन नागरिक जिउफ्रेले गत वर्ष आत्महत्या गरेकी थिइन्। उनले आफूलाई १७ वर्षको उमेरमा दुई पटकसहित तीन पटक एन्ड्र्युसँग यौन सम्पर्क गराउन मानव तस्करी गरिएको आरोप लगाएकी थिइन्।
जिउफ्रेले मुद्दा दायर गरेपछि एन्ड्र्युले सन् २०२२ मा दोष स्वीकार नगरी मल्टी–मिलियन पाउन्ड क्षतिपूर्ति तिरेका थिए।
‘सुन्दर, भरपर्दो’
वाशिङ्टनमा सार्वजनिक भएका नयाँ खुलासासँगै एपस्टिनको गतिविधिबारे एन्ड्र्युमाथि अमेरिकामा बयान दिन दबाब पनि बढ्ने देखिन्छ।
मिति नखुलेको एक तस्बिरमा, एन्ड्र्यु र पहिचान नखुलेकी महिला (दुवै लुगा लगाएका) देखिन्छन्, जसमा पूर्व ड्युकले महिलाको पेट छोइरहेको जस्तो देखिन्छ। अर्को तस्बिरमा उनी महिलामाथि झुकेर सिधै क्यामेरातर्फ हेरिरहेका छन्।
ती तस्बिरहरू कहिले र कहाँ खिचिएका हुन् भन्ने कुनै सन्दर्भ दिइएको छैन।
यसैबीच, सन् २०१० को अगस्टमा पठाइएको इमेलमा एपस्टिनले “द ड्युक” भनेर सम्बोधन गर्दै एन्ड्र्युलाई लन्डनमा “उनलाई मन पर्न सक्ने” एक महिलासँग डिनरको प्रस्ताव गरेका थिए।
इमेल आदान–प्रदानमा एपस्टिनले ती महिला “२६ वर्षकी, रुसी, चतुर, सुन्दर र भरोसायोग्य” रहेको उल्लेख गर्दै एन्ड्र्युको इमेल ठेगाना आफूले उनलाई दिएको बताएका थिए।
एन्ड्र्युले जवाफमा आफू “उनलाई भेट्न पाउँदा खुसी हुने” लेखेका थिए।
त्यसपछि भेट भएको थियो कि थिएन भन्ने स्पष्ट छैन।
केही हप्ता पछि, एपस्टिनले लन्डनमा रहँदा एन्ड्र्युलाई सम्पर्क गर्दै “निजी समय” चाहिएको बताएका थिए, जसपछि दुवैले बकिङ्घम दरबारमा डिनर गर्नेबारे छलफल गरेका देखिन्छन्।
एन्ड्र्युले जवाफमा “बकिङ्घम दरबारमा डिनर र पूर्ण गोपनीयता” मिल्ने बताएका थिए।
दुई दिनपछि उनले फेरि इमेल गर्दै “तपाईं BP (बकिङ्घम दरबार) आउनुहुन्छ भने म खुशी हुनेछु” भनेका थिए। “जसलाई लिएर आउनु भए पनि हुन्छ…” उनले थपेका थिए।
तर तत्कालीन रानी एलिजाबेथ द्वितीयको आधिकारिक लन्डन निवास बकिङ्घम दरबारमा वास्तवमै डिनर भयो कि भएन भन्ने स्पष्ट छैन।
२०१९ मा बीबीसीसँगको अन्तर्वार्तामा एन्ड्र्युले डिसेम्बर २०१० पछि एपस्टिनसँग सम्बन्ध तोडेको दाबी गरेका थिए, तर पछि सार्वजनिक अदालतका कागजातहरूले उनीहरूबीच सम्पर्क जारी रहेको देखाएको थियो।
गत वर्ष सार्वजनिक अन्य कागजातहरू र जिउफ्रेको आत्मकथाले एन्ड्र्यु–एपस्टिन सम्बन्धप्रति बेलायतमा फेरि आक्रोश बढाएको छ।
नयाँ फाइलहरूले एपस्टिन र अमेरिकाका लागि पूर्व बेलायती राजदूत तथा मन्त्री पिटर म्यान्डेलसनबीचको सम्बन्धलाई पनि पुनः उजागर गरेका छन्।
म्यान्डेलसनले अमेरिकी अपराधी सन् २००८ मा दोषी ठहर भएपछि पनि मित्रवत् सम्पर्क कायम राखेको देखाउने इमेल सार्वजनिक भएपछि गत वर्ष आफ्नो पदबाट राजीनामा दिएका थिए।
नयाँ खुलासाअनुसार, एपस्टिनले सन् २००९ मा म्यान्डेलसनका श्रीमानको अस्टियोप्याथी अध्ययन शुल्क तिर्न अनुरोध गरेपछि उनलाई हजारौँ पाउन्ड रकम पठाएका थिए। म्यान्डेलसन समलिङ्गी हुन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया