शुक्रबार, ०३ अप्रिल २०२६

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर, अप्रमाणित टिप्पणी नगर्न आग्रह

तेजन खड्का

तेजन खड्का

काठमाडौं
News Image
• • •

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

चिकित्सकको काउन्सिलिङअनुसार उनलाई ब्रेन ह्यामरेज भएको र सोही कारणले घटना भएको जानकारी प्राप्त भएको छ। हाल उनी बेहोस अवस्थामै छन् र स्वास्थ्यमा कुनै सुधार नआएको पारिवारिक स्रोतले जनाएको छ।

विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आएका फरक–फरक विषय र टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक धारणा बिना यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबैमा अनुरोध गरिएको छ। 

ग्राण्डी अस्पतालले हालसम्म घटनाबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। परिवार तथा नजिकका सहकर्मीहरू अस्पतालसँग निरन्तर सम्पर्कमा रहँदै आधिकारिक जानकारीको प्रतिक्षामा रहेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै चलचित्र पत्रकार मदन रिजालले संवेदनशील घडीमा जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताए।

उनले भने, “दिनेश सिटौला हाम्रो पत्रकारिता क्षेत्रका अनुभवी र सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्थाबारे अहिले विभिन्न अड्कल र अफवाह फैलिनु दुःखद कुरा हो। हामी पारिवारिक टिमसँग निरन्तर सम्पर्कमा छौं। अस्पतालको आधिकारिक धारणा नआएसम्म भ्रामक समाचार र टिप्पणी नगर्न म सबै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्छु।”

परिवारका अनुसार चिकित्सकहरूले भोलि बिहान ७ बजेसम्म धैर्य गर्न आग्रह गरेका छन्। हालसम्मको अवस्थाबारे यही जानकारी यथार्थ भएको र यसबाहेक अन्य कुरा अप्रमाणित भएको स्पष्ट गरिएको छ।

चलचित्र पत्रकारिता क्षेत्र, शुभेच्छुक तथा आम नागरिकले दिनेश सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!