शनिबार, २५ अप्रिल २०२६

पूर्वप्रहरी संगठन प्रमुख मञ्चद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्ने सरकारको निर्णयको स्वागत

News Image
• • •

नेपाल प्रहरी पूर्व प्रहरी संगठन प्रमुख मञ्चले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै यसलाई संगठनको दीर्घकालीन हितका लागि महत्वपूर्ण कदम भएको जनाएको छ।

मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको विगतको निर्णयलाई सच्याउने कदमप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषदप्रति कृतज्ञता व्यक्त गरिएको छ। मञ्चका संयोजक पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले जग्गा फिर्ता ल्याउन पहल गर्ने प्रहरी संगठनका नेतृत्व र सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद तथा बधाई दिएका छन्।

‘संगठनको मानवस्रोत व्यवस्थापनमा अनुपम प्रयोग बिन्दुको रूपमा रहेको तत्कालीन सुदूर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) कुनै सरकारी संयन्त्र वा प्रतिष्ठान मात्र थिएन त्यो त प्रत्येक प्रहरी कर्मचारीको आत्मासँग जोडिएको प्रत्यक्ष जिउँदो इतिहास हो। अपुग बजेटमा कसरी प्रहरी कर्मचारी र नागरिकको सहयोगमा स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरणको ‘विश्वविद्यालय’ पनि थियो,’ विज्ञप्तिमा भनिएको छ।

मञ्चले विगतमा उक्त क्षेत्र अन्य सरकारी निकायको विस्तारका लागि प्रयोग गर्ने निर्णयलाई गलत ठहर गर्दै त्यसले संगठनको इतिहास, मर्यादा र मनोबलमा नकारात्मक प्रभाव पार्ने जनाएको छ। त्यस्ता निर्णयविरुद्ध प्रहरी संगठन (वर्तमान र पूर्व) एकजुट भएर सजग र संवेदनशील बन्नुपर्ने अवस्थाको सृजना हुने पनि विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, पूर्व प्रहरी संगठन प्रमुख मञ्चले तत्कालीन राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका पदाधिकारीहरूसमक्ष निर्णय सच्याउन पटक–पटक पहल गरिएको स्मरण गरेको छ।

समाजका विभिन्न वर्ग, नागरिक समाज तथा सञ्चारमाध्यमको सहयोगले उक्त पहललाई बल पुगेको उल्लेख गर्दै मञ्चले प्रहरी प्रशिक्षण संस्थाको गरिमा पुनःस्थापना हुने विश्वास व्यक्त गरेको छ।

‘हाम्रो ऐतिहासिक धरोहर प्रहरी प्रशिक्षण संस्थाको पुनः प्राप्तिमा योगदान पुर्‍याउने सबैप्रति यो मञ्च हार्दिक आभार प्रकट गर्न चाहन्छ,’ मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!