ओम आचार्य
नेपाली कांग्रेसमा पुनरावलोकनको मुद्दापछि संस्थापनको नेतृत्व गरिरहेका गगन थापा र इतर समूहको नेतृत्व गरिरहेका डा. शशांक कोइराला समूहबीच 'को आधिकारिक?' भन्ने विवाद यथावत् रहेको अवस्थामा निर्वाचन आयोगले गगन थापा सभापति रहेको नेपाली कांग्रेसलाई अध्यावधिक गर्यो। अध्यावधिक हुनेबित्तिकै आधिकारिकता पनि प्राप्त भयो भन्ने अर्थ यो समूहले लिनु हुँदैन।
यही अर्थ बोकेर निर्वाचन आयोगमा आफ्नो सभापतित्वमा रहेको कांग्रेस अध्यावधिक भएपछि गगनको गर्जन एकाएक बढेको देखिन्छ। गर्जन मात्र होइन, गर्जनसँगसँगै बज्र प्रहार गर्ने संकेत पनि गगनको चमकबाट देखिन थालेको छ।
अहिले मूलधारबाट अलग्गिएर कांग्रेसकै ब्यानरमा आफूलाई उभ्याइरहेका जिल्ला, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई आफूले सम्हालिरहेको पदबाट राजीनामा दिएर नआए कारबाही गर्ने उद्घोष गरेका छन्। डा. शशांक कोइराला समूह भने तीव्र रूपमा महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ। साथै, महाधिवेशनपूर्व पार्टी एकताका लागि कुनै वार्ता नगर्ने बताएको छ।
इतर समूहले महाधिवेशन पूरा गरेपछि अब हुने सभापतिको नेतृत्वमा निर्वाचित कार्यसमिति पुनः निर्वाचन आयोगमा पुगेर अध्यावधिकका लागि आवेदन गर्नेछ।
भर्खरै गगन समूहलाई रुख र चारतारा भएको चुनाव चिह्नमा नेपाली कांग्रेसका रूपमा अध्यावधिक गरिसकेको अवस्थामा पुनः त्यही चिह्न र त्यही नाममा डा. शशांक समूहको कांग्रेसलाई निर्वाचन आयोगले अध्यावधिक गर्न सक्छ? अहिले यो प्रश्न कांग्रेसभित्र प्रबल रूपमा उठिरहेको छ।
निर्वाचन आयोगले केन्द्रीय समिति बनाएकै भरमा अथवा यहाँसम्म आइपुग्दाको प्रक्रिया हेरेर नै अध्यावधिक गर्छ त? मूल कुरा, आयोगमा दलको नेतृत्वमा भएको परिवर्तनलाई सूचीकृत गर्ने प्रक्रियालाई नै अध्यावधिक भन्ने गरिन्छ। अब डा. शशांक समूहले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नाम दलसहित निर्वाचन आयोगमा सूचीकृत गर्नुपर्ने हुन्छ र त्यसपछि मात्रै अध्यावधिक हुन्छ?
के अब एउटै पार्टीका दुई प्रतिस्पर्धी समूहका कार्यसमितिलाई अध्यावधिक गर्छ भन्ने पनि होइन होला! निर्वाचन आयोगले गगन समूहले विशेष अधिवेशन बोलाउँदा परेको उजुरीमा जसरी छानबिन र अनुसन्धान गरेको थियो, अब त्यही छानबिन डा. शशांक समूहले मागेको अध्यावधिक प्रक्रियामा पनि पर्न सक्छ।
यस्तो विवाद भएमा निर्वाचन आयोगले गर्ने निर्णय अप्रत्याशित हुन सक्छ। त्यो भनेको रुख र चारतारालाई थाती राखेर अलग चुनाव चिह्न लिएर आउन दुवै समूहलाई भन्न पनि सक्छ। निर्वाचन आयोगले यस्तो निर्णय गर्दा सर्वोच्च अदालतबाट हुने फैसलालाई मध्यनजर गर्नुपर्ने बाध्यताका कारण दुवैलाई आधिकारिकता नदिन पनि सक्छ।
निर्वाचन आयोगले एउटै दल र एउटै निर्वाचन चिह्नमा दुई समूहलाई अध्यावधिक गर्न मिल्छ जस्तो लाग्दैन। यस्तो अवस्थामा डा. शशांक समूहले कि अर्कै दल दर्ता गर्नुपर्छ कि सर्वोच्च अदालतको निर्णय पर्खनुपर्छ। यसको कानुनी निरूपण हुनै पर्छ।
मूल विवाद आधिकारिकतामा
एउटा कुरा, डा. शशांक समूह निर्वाचन आयोगमा अध्यावधिक गर्न गयो भने त्यहाँ प्रश्न के कुरामा आउँछ भने अध्यावधिक गर्नु भनेको दलको नयाँ कार्यसमितिको अभिलेख खडा गर्नु र त्यसलाई अध्यावधिक गर्नु हो। तर अध्यावधिक गर्नुभन्दा पहिले कुन दललाई आधिकारिकता मान्ने भन्ने प्रश्न पनि आउँछ। अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग कुरा हुन्।
अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको मुद्दा विचाराधीन रहेको अवस्थामा कांग्रेसको आधिकारिकतासम्बन्धी निर्णय भइसकेको छैन। यस्तो अवस्थामा डा. शशांक समूहको नयाँ कार्यसमिति पनि अध्यावधिक हुन सक्ने सम्भावना छ कि छैन भन्ने कुरा निर्वाचन आयोगमा डा. शशांक पुगिसकेपछि मात्रै थाहा हुन्छ।
अहिले डा. शशांक समूहले वडादेखि केन्द्रसम्म गरिरहेको अधिवेशन यो समूहको रणनीति कि अलग पार्टी खोल्न सहज बनाउन हो, कि गगन समूह अवैधानिक हो भन्ने देखाउन, कि सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दालाई प्रभाव पार्न वा दबाब दिन हुन सक्छ।
जे होस्, यदि अदालतबाट देउवा समूहले आधिकारिकता पायो भने गगन समूहले के गर्छ? अर्कै पार्टी खोल्छ कि देउवा समूहमा नै विलय हुन्छ? त्यस्तै, गगन समूहले आधिकारिकता पायो भने देउवा समूहले अहिले गरेको अधिवेशनको अवस्था के हुन्छ? यो अधिवेशन गर्दा अहिले नेपाली कांग्रेसमा रहेका क्रियाशील सदस्यहरू नै प्रयोग गरेर गरिएको अधिवेशनको गगन समूहले अदालतबाट आधिकारिकता पाएपछि त्यसको औचित्य के हुन्छ?
नेपाली कांग्रेसका लागि योभन्दा पीडादायी र ठूलो संकट अर्को हुँदैन। अझै पनि कांग्रेसमा एकताको बाटो खोज्न र त्यसका लागि पहल गर्न जरुरी छ।
अन्य राजनीतिक दलहरूले पनि अहिले कांग्रेसमा आएको विपद्पूर्ण परिस्थिति भविष्यमा आफ्ना दलमा नआओस् भनेर समयमै सचेत हुँदै दलको विधान, नीति र नियमअनुसार चल्नुपर्छ। नत्र के हुन्छ भन्न सकिँदैन। अहिले कांग्रेसको आधिकारिकताका सम्बन्धमा निर्वाचन आयोग र सर्वोच्च अदालतबाट हुने फैसला भविष्यमा नजिरका रूपमा स्थापित हुन सक्छ। त्यसैले बेलैमा सबै दलले सोचून्!
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया