बुधबार, १४ अक्टोबर २०२६

खगेन्द्रसँग जोडिएका साउदीका प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट ‘अस्वीकृत’

News Image
• • •

साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ।

महिला हिंसा र आर्थिक असुलीलगायतका गम्भीर आरोपहरूको चित्तबुझ्दो जवाफ दिन नसकेपछि बुधबार बसेको समितिको बैठकले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।

सुनुवाइकै क्रममा सांसदहरूले सुनारमाथि नैतिक आचरण र फौजदारी प्रकृतिका गम्भीर आरोपहरू लागेको भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले सुनारमाथि घरेलु हिंसा, आर्थिक लेनदेन र राजनीतिक निष्पक्षतासम्बन्धी प्रश्न उठाएका थिए।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद चौलागाईंले सुनारमाथि महिलासँगको घरेलु हिंसासम्बन्धी आरोपमा प्रहरीसम्म पुगेर मिलापत्र गरेको तथा विभिन्न पदमा बढुवा र सांसद पद मिलाइदिने भन्दै रकम असुल गरेको आरोपबारे स्पष्ट पार्न माग गरेका थिए।

चौलागाईंले सुनारमाथि दलित अभियन्ताका रूपमा काम गर्ने क्रममा करोडौँ रुपैयाँ असुल गरेको आरोपसमेत लागेको उल्लेख गरे।

‘तपाईंमाथि महिलासँगको घरेलु हिंसाको आरोप र उक्त मुद्दामा ललितपुर प्रहरीसम्म पुगेर मिलापत्र गरेको भन्ने आरोप छ। दोस्रो, तपाईं दलित अभियन्ताका रूपमा काम गर्दै गर्दा करोडौँ रुपैयाँ असुल गर्नुभयो भन्ने आरोप छ। नेपाल प्रहरीका एक डीआईजीलाई एआईजीमा बढुवा गराइदिन्छु भनेर पैसा असुल गर्नुभयो, संसद् पद मिलाइदिन्छु भनेर पनि पैसा असुल गर्नुभयो भन्ने गम्भीर प्रकृतिका आर्थिक आरोपहरू छन्। यो विषयमा स्पष्ट पारिदिनुहोला,’ उनले सोधेका थिए।

चौलागाईंले सुनारको राजनीतिक आबद्धतामाथि पनि प्रश्न उठाएका थिए। हाम्रो नेपाल पार्टीको केन्द्रीय सदस्यका रूपमा आबद्ध रहेको अवस्थामा राजनीतिक निष्पक्षताका आधारमा राजदूत पदका लागि योग्य हुने वा नहुने विषय स्पष्ट पार्न उनले माग गरेका थिए।

सांसद चौलागाईंका प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत सुनारले आफू महिला हिंसाविरुद्धको अभियानमा संलग्न रहेको दाबी गरेका थिए। उनले विभिन्न सञ्चारमाध्यममा आफ्नो अभियानबारे सकारात्मक समाचार तथा लेख प्रकाशित भएको उल्लेख गर्दै महिलाको अधिकार र मानव बेचबिखनका विषयमा पनि लेख लेखेको बताएका थिए।

सुनारले आफू राजदूतमा सिफारिस भएपछि १३ वर्षअघिको घटनालाई उठाइएको भन्दै उल्टै प्रश्न गरेका थिए।

‘आज राजदूत सिफारिस हुँदै गर्दा १३ वर्षपहिलाको कुरालाई आजको दिनमा निकाल्नु भनेको के नियत हो? मेरो सबैका लागि प्रश्न छ,’ उनले भनेका थिए, ‘१३ वर्षपहिला हामीबीच प्रेम थियो। त्यसको बीचमा उहाँ कुनै देशमा जानुभयो। हाम्रो लेनदेनको कुरा थियो, फोनमा भनाभन भएको हो।’

उनले आफ्नो विरुद्ध हालसम्म कुनै जाहेरी (एफआईआर) दर्ता नभएको दाबीसमेत गरेका थिए।

‘यहाँले पावर अफ अटर्नी लिएर मेरो विरुद्धमा बोल्दै हुनुहुन्छ। मेरो आजको दिनसम्म मेरो विरुद्ध कहीँ एफआईआर दर्ता भएको छैन,’ सुनारले भनेका थिए।

तर संसदीय समितिले सुनारको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीमाथिका आरोपहरू गम्भीर प्रकृतिका रहेको ठहर गर्दै उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!