जेफ बेजोसद्वारा चन्द्रमामा अवतरण गर्ने साधन सार्वजनिक

अमेजोनका मालिक जेफ बेजोसले चन्द्रमा अवतरण गर्ने नयाँ साधन सार्वजनिक गरेका छन् जसले आगामी २०२४ सम्ममा मानिसलाई चन्द्रमासम्म पुर्याउन सक्ने लक्ष्य राखेको छ। नाम नदिइएको तर पुनः प्रयोग गर्न मिल्ने ब्लु मुन यानले स्याटलाइट, वैज्ञानिक उपकरणहरु र यात्रीहरुलाई बोकेर लैजान सक्ने बताइएको छ । यसमा नयाँ रकेट इन्जिन, बीइ–सेभेन जडान गरिएको हुनेछ।  

कार्यक्रममा बोल्दै बेजोसले भने, “चन्द्रमामा जाने समय आइसकेको छ तर यसपटक हामी त्यहाँ टेकेर फर्किने छैनौँ अध्ययनका लागि बस्नेछौँ ।”

राजधानीस्थित वासिङटन कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा उनले आफ्नो कम्पनी, ब्लु ओरिजिनको चन्द्रमा मिसनबारे विस्तृत प्रस्तुती दिएका हुन् जसमा सम्भावित ग्राहकदेखि नासाका अधिकारीहरु समेत उपस्थित रहेको बताइएको छ। यसरी ब्लु मुन ल्यान्डरसँग पृथ्वीबाट चन्द्रमा फर्किन पर्याप्त इन्धन लोड गरिएको हुने बताइएको छ । त्यस्तै यसले चन्द्रमाको पथग्रहमा स्याटलाइट पनि लन्च गर्न सक्ने दाबी गरिएको छ ।  

यसको कूल तौल करिब १५ किलो हुने बताइएको छ जुन पृथ्वीबाट उडेर चन्द्रमा पुग्दा घटेर केबल तीन किलो पुग्नेछ । ब्लु मुनको प्रमुख लक्ष्य भनेको चन्द्रमाको दक्षिणतर्फ अवतरण गर्नु रहेको छ जहाँ रहेका क्रेटर (खाल्डा) मा आइस भेटिएको थियो । यसरी ती आइसबाट प्राप्त हुने पानी मार्फत हाइड्रोजन उत्पादन गर्न सकिनेछ जसले थप अन्तरिक्ष मिसनका लागि यानमा इन्धनको काम गर्न सक्ने बताइएको छ । 

गत मार्चमा ट्रम्प प्रशासनले पनि २०२४ सम्ममा अमेरिकी अन्तरिक्षयात्रीहरुलाई पुनः चन्द्रमामा फर्काउने योजनाबारे घोषणा गरेको थियो । 

यसबीच बेजोसले आफ्नो भाषणमा ट्रम्पले तोकेको समय अवधि भित्र ब्लु ओरिजनले मिसन पूरा गर्न सकिने बताएका छन् । कम्पनीले २०१६ दे्खि नै सो यानको निर्माण र डिजान सुरु गरेको हुनाले नै यो सम्भव हुने उनको भनाइ छ । बेजोसका अनुसार उनी चन्द्रमा सम्मको पहुँचमा सुधार ल्याउन चाहान्छन् । उनीसँग भविष्यबारे आफ्नो छुट्टै दृष्टि छ जहाँ मानिसहरु अन्तरिक्षमा बस्न र काम गर्न सक्नेछन् जुन अहिले सम्भव भइसकेको छैन । 

प्रकाशित मिति: : 2019-05-12 06:47:59

प्रतिकृया दिनुहोस्