लमजुङमा नयाँ पदमार्गको निर्माण शुरु

तस्बिरः एजेन्सी

लमजुङको बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने पदमार्ग निर्माण भइरहेको छ।

पर्यटकीय पदमार्गको निर्माण अन्तर्गत बाटोमा सिँढी निर्माणको काम भइरहेको छ ।

उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए।  उनका अनुसार जेठ १२ गतेबाट शुरु भएको उक्त कार्यको करीब १०० मिटर लामो सिँढी र रेलिङको निर्माण भइसकेको छ । एक मिटर ६० सेन्टिमिटर चौडाइ रहने सिँढी बालुवा र सिमेन्टले निर्माण गरिरहेको निर्माण समितिका अध्यक्ष तथा पुमागाउँ घरबास व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए।

निर्माणाधीन सिँढी गण्डकी प्रदेश सरकारको १० लाख अनुदान, बेँसीशहर नगरपालिकाको साढे एक लाख र स्थानीयवासीको करीब तीन लाख बराबरको श्रमदान हुने गरी निर्माण भइरहेको स्थानीयवासी तथा वडासदस्य गुरुङले जानकारी दिए।

उक्त निर्माणकार्य सम्पन्न गर्नका लागि सो बजेटले आधा मात्रै काम हुने र बाँकी अपुग रकम प्रदेश सरकार, नगरपालिकालगायतसँग माग गरी निर्माण पूरा गरिने समितिले जनाएको छ ।

समितिका अनुसार निर्माणकार्य सम्पन्न गर्नका लागि कम्तीमा पनि रु ५० लाख आवश्यक पर्ने भएको छ । अहिले सहयोग आएको बजेटको काम आगामी असारभित्र सम्पन्न गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको छ ।

 घरबासमा आउने पर्यटक उक्त मन्दिरसम्म जानका लागि सहज होस् र मन्दिरको समेत प्रचारप्रसार पुग्ने उद्देश्यले सिँढी निर्माणकार्य भइरहेको छ । पर्यटकीय एवं धार्मिकस्थल भएर पनि प्रचारप्रसार हुननसकेको स्थानीयवासीले बताएका छन् । उक्त मन्दिरमा महीनाको शुक्रबार र बुधबार दुई दिन मात्रै पूजाआजा हुने गरेको छ। यहाँ विभिन्न मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ ।

प्रकाशित मिति: : 2019-06-12 11:37:25

प्रतिकृया दिनुहोस्