बाघका फोटोग्राफर

सबै तस्बिरः दिपक राजवंशी

बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ। त्यहाँ ८५ वटा बयस्क बाघ छन्। स–साना डम्मरुको संख्या पनि उल्लेख्य छ। निकुञ्जमा चैतदेखि असारसम्म बाघ हेर्न सकिन्छ। गर्मीमा ती पानी खान र डुबुल्कि मार्न निकुञ्जका खोलामा आउँछन्। घन्टौं बस्छन्। त्यतिबेला टाढैबाट तिनका तस्बिर खिच्न सकिन्छ। धेरैले यस्ता तस्बिर खिचेका छन्।

पछिल्लो समय बर्दियाकै रैथाने दिपक राजवंशी बाघका आकर्षक तस्बिर खिचेर चर्चामा आएका छन्। चार वर्षदेखि नेचर गाइडका रुपमा काम गर्दै आएका राजबंशीले फोटोग्राफी गर्न थालेको पनि त्यति नै वर्ष भयो। उनका नेचर गाइड गुरु मामा राजमान चौधरी हुन् भने फोटोग्राफीका गुरु ओम यादव।

क्यामेरा बोकेर उनी हरेक दिन जंगल जान्छन्। जनाबर देख्ने वित्तिकै लेन्स सोझ्याइहाल्छन्। बाघका धेरै खाले तस्बिर खिचेका छन् उनले। नजिकैबाट पनि खिचेका छन्। मन र मुटु दरो बनाएर खिच्छन्। बाघको मात्र होइन, जंगली हात्ती, गैंडा, चराचुरुङी लगायत थारु संस्कृति र जीवनशैलीका थुप्रै तस्बिर खिचेका छन् उनले।

संरक्षणको भावना र शौखले उनी जंगली जनावर र पंछीका तस्बिर खिचिरहेका छन्। यसबाट आम्दानी लिन भने सकेका छैनन्। यही वर्ष काठमाडौंमा उनका तस्बिरहरू हेर्न पाइने छ। बर्दिया भ्रमण वर्ष २०७६ को अबसरमा प्रदर्शनी गर्न उनलाई शुभेच्छुकहरूले हौस्याइरहेका छन्।

ठाकुरबाबा नगरपालिका र पर्यापर्यटन विकास मञ्च मिलेर वर्ष २०७६ लाई ‘बर्दिया भ्रमण वर्ष’का रूपमा मनाइँदै छ। भ्रमण वर्षको लक्ष्य आन्तरिक पर्यटक बढाउनु भएको मञ्चका अध्यक्ष मोहनलाल चौधरी बताउँछन्। 

बर्दियामा बाघ मात्र होइन, अरु जनाबर पनि छन्। ४१ वटा एक सिंगे गैडा, १२० वटा भन्दा बढी जंगली हात्ती छन्। सयौं थरि चरा पनि छन्। खासमा बर्दिया विगतमा राजा÷महाराजाको शिकार खेल्ने थलो थियो। निकुञ्ज ९६८ वर्ग किलोमिटरमा फैलेको छ। सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापना गरिएकामा सन् १९८८ मा यसलाई निकुञ्ज बनाइएको हो।

भर्खर २५ वर्षमा हिँड्दै गरेका तन्नेरी फोटोग्राफर दिपक राजबंशी बर्दियाका अघोषित पर्यटन दूत हुन्। उनलाई धेरैधेरै शुभकामना। 

हेर्नुहोस् उनका तस्बिरहरू

प्रकाशित मिति: : 2019-06-15 08:55:17

प्रतिकृया दिनुहोस्