जुगल हिमश्रृङ्खलाअन्तर्गत ग्याल्चेन चुली प्रवर्धनमा जोड

काठमाडौं । आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको सिन्धुपाल्चोकको जुगल हिमश्रृङ्खलाअन्तर्गतको ग्याल्चेन चुलीलगायतको प्रवर्धनका लागि सरोकार निकायले चासो देखाएका छन्।

काठमाडौंबाट १४६ किलोमिटर टाढा रहेको ग्याल्चेन चुलीको पहिलो पटक आरोहण खुला गरिएसँगै गत चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा मिलन तामाङ, शर्मिला थापालगायत छ जनाको समूहले सफल आरोहण गरेको थियो। जुगल गाउँपालिका–३ गुम्बास्थित उक्त चुलीको १६ दिनमा आरोहण गरिएको थियो।

ग्याल्चेन चुली जुगल हिमश्रृङ्खलाका ११ चुलीमध्येको एक हो। जुगल हिमाल समुद्री सतहदेखि छ हजार १५१ मिटर उचाइमा पर्छ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको संयुक्त रुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गरेको थियो। आरोहणका लागि करीब रु ५४ लाख खर्च भएको बताइएको छ। प्रथम ग्याल्चेन चुली आरोहीको अनुभव आदानप्रदान तथा आरोहण सम्भावना र चुनौतीबारे सिन्धु पर्यटन परिषद्ले ‘ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल’ (टान) सचिवालयमा आज पत्रकार सम्मेलन गरी चुली प्रवद्र्धनका लागि व्यवसायीसँग छलफल गरेको हो।

पर्यटन प्रवद्र्धनका सम्भाव्यता, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङसम्बन्धी अध्ययन तथा जुगल हिमाल आरोहणलाई प्रवद्र्धन गर्न वृत्तचित्र तयार गरिएको छ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने सन्दर्भमा पनि जुगल हिमालअन्तर्गतका चुली प्रवद्र्धन गर्न जरुरी भएको व्यवसायीको भनाइ छ। कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य निमा लामाले समग्र अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि पर्वतीय पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।

टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष आफैँमा अवसर भएको र यस सन्दर्भमा पहिलो पटक ग्याल्चेन चुलीको सफल आरोहणले नयाँ गन्तव्य प्रवर्धन भएको बताए। उनले पर्वतारोहण र पदयात्राका लागि उपयुक्त गन्तव्य बनेको सिन्धुपाल्चोकको व्यवसायिक पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयास गरिनुपर्नेमा जोड दिए।

आरोही माया गुरुङले राजधानी नजिकको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा रहेको जुगल हिमालको प्रवद्र्धनका लागि योजनावद्ध कार्यक्रम ल्याइनुपर्ने बताए। उनले भ्रमण वर्ष मनाइरहँदा ग्याल्चेन चुलीसहितका अन्य चुली महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने र पर्यटकको सङ्ख्या पनि बढ्ने भएकाले प्रचारप्रसारका साथै पूर्वाधार विकासलाई प्राथमिकता दिइनुपर्ने बताए।

जुगल र लाङटाङ हिमश्रृङ्खलाअन्तर्गत ६ हजार मिटरभन्दा माथि छ हजार ७९९ उचाइसम्मका २६ चुली रहेको र तीमध्ये जुगलअन्तर्गत ११ चुली छन्।

तीमध्ये अझै केही हिमाल आरोहणका लागि खुला गरिएको छैन। प्रदेश ३ को आर्थिक समृद्धिसँग जोडिएको काठमाडौँबाट नजिको ‘पिक’ प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास लिइएको छ। सरकारले ग्याल्चेन चुलीसहित ४१५ हिमाल आरोहणका लागि खुला गरेको छ। अझै एक हजार ३०० हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ।

 

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2019-06-18 19:02:06

प्रतिकृया दिनुहोस्