नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो सञ्चालन गरेको छ।

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो सञ्चालन गरेको छ।

'ब्राण्ड स्टोरी' नाम दिइएको यस शो मा कुनै पनि नेपाली ब्राण्डहरूको समग्र जीवन कथा भनिने छ । ब्राण्ड कम्पनी पनि हुन सक्छ वा कुनै कम्पनीको उत्पादन वा सेवा मात्र पनि हुन सक्छ।

'यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्राण्डिङ गरियो? यी सबैको उत्तर त्यस कथामा हुनेछ', शोको परिकल्पनाकार मुना श्रेष्ठले भनिन्।

लामो समय विज्ञापन क्षेत्रमा बिताएकी श्रेष्ठले नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन यो सो अत्यान्त आवश्यक रहेको बताइन्।

'नेपालकै ब्राण्डिङ त नभएको अवस्थामा यसका कम्पनी र उत्पादनहरूको खासै ब्राण्डिङ नहुनु स्वभाविकै हो। तर, अब नेपाली ब्याण्डको पनि ब्राण्डिङ हुन आवश्यक छ', उनले भनिन्।

यस शोलाई एक फरक खाले शो बनाउन लागि परेकी श्रेष्ठ भन्छिन्, 'नेपाल आफैंमा एक ठूलो ब्राण्ड हो। यसका अनकौ फिचर छन्। तर,  हामीले यसलाई विश्वसामू राम्ररी ब्राण्डिङ गर्न सकेका छैनौं। यदि हामीले गर्न सकेको भए वर्षमा २० लाख पर्यटक भित्र्याउन नेपाल भ्रमण वर्षको अभियान सञ्चालन गर्नुनै पर्ने  थिएन।'

नेपालमै पहिलो पटक ब्याण्ड स्टोरी सो को सुरूवात ब्रेकएनलिङ्सले गर्न लागेकोमा यसको अवधारणा सुनेरै नेपाली एड गुरू अभय पाण्डे खुशी छन्।

'मानिसको कथाजस्तै हरेक ब्राण्डको पनि आफ्नो कथा हुन्छ। त्यही कथा भन्ने रहेछ द ब्राण्ड स्टोरीले,' पाण्डेले यो अवधारणाले नयाँ सिर्जना गरेको भन्दै अगाडि भने, 'म यो शो को प्रतिक्षा गर्नेछु, मलाई लाग्छ यो एउटा सफल र सिर्जनात्मक शो हुनेछ। र दोहोर्‍याएर भन्छु, यो सो नेपालमा पहिलो सो हो।'

प्रा. डा. कुन्दनदत्त कोइरालाले  नेपाललाई नयाँ युनिक सेलिङ पोइन्ट दिएर ब्राण्डिङ् गर्न जरूरी रहेको औल्याए।

'नेपाललाई सगरमाथाको देश, वुद्धको देश, वीर गोर्खाको देश भन्नु नेपालको परम्परागत ब्राण्डिङ गर्ने प्रयास हो। अब नेपाललाई नयाँ युनिक सेलिङ पोइन्ट दिएर ब्राण्डिङ् गर्न जरूरी छ', उनले भने।

नेपालमा राष्ट्रिय स्तरका मात्र हैन, अन्तर्राष्ट्रिय स्तरका पनि थुप्रै ब्राण्ड भएको बताउँदै अर्यालले अगाडि भने, 'वाइवाइ, एनसेल, एनटीसी, सीजी, पञ्चकन्या नेपालका स्थापित ब्राण्ड हुन्। यिनीहरूको ब्राण्ड भेल्यू पनि ठूलै छ।'

उनले अब नेपाली उद्यमीले पनि ब्राण्डमा लगानी गर्ने बेला भइसकेको बताए।

मार्केटिङको संसारमा एउटा बहुचर्चित भनाइ छ, 'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।' नेपाली उद्यमी व्यवसायीहरूसँग पनि उम्दा ब्राण्ड त छ, तर त्यसको बारेमा बोलिएको छैन। त्यो बोल्ने प्लेटफर्म मिलेकाले नेपाली उद्यमी व्यवसायीले यसको उपयोग गर्ने अपेक्षा गर्न सकिन्छ।

मन्त्री बाँस्कोटाले भने– ‘बिएल मिडिया आफैमा एउटा ब्रान्ड हो’

नेपाल सरकारका सूचना, प्रविधि तथा संचार मन्त्री गोकूलप्रसाद बाँस्कोटाले बिएल मिडिया आफैैमा एउटा ‘ब्रान्ड’ भएको बताएका छन्। 

बुधबार राजधानी काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा बाँस्कोटाले भने, ‘अरु मिडियाले नेपाली र अंग्रेजीमा समाचार सम्प्रेषण गर्दै आइरहेका छन्। बिएल मिडियाले ६ वटा (अन्तर्राष्ट्रिय) भाषामा समाचार संम्प्रेषण गर्न लागेको छ। यो आफैंमा एउटा ब्रान्ड भइहाल्यो नि।’

बिएल नेपाली सेवाले बुधबारदेखि ‘ब्रान्ड स्टोरी’ नामक शोको शुभारम्भ गरेको छ। नेपालका स्थापित ‘ब्रान्ड’ लाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रमको मन्त्री बाँस्कोटाले औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरे।

कार्यक्रममा सञ्चार, विज्ञापन र शैक्षिक क्षेत्रका हस्तीहरूको उपस्थिति थियो। मन्त्री बाँस्कोटाले आफू पनि एउटा ‘ब्रान्ड’ भएको भन्दै सोसाइटी निर्मित चिन्तनले फरक पर्ने बताए। 

‘मलाई धेरैले गाली गनुहुन्छ, त्यो मलाई थाहा छ। तर गाली गरेपनि म आफ्नो कुरा छोडदै छोडदिन्,’ मन्त्री बाँस्कोटाले भने, ‘मान्छे जुन फिल्डबाट आउँछ, त्यसले नै ब्रान्ड बन्छ।’ 

 

उनले ‘ब्रान्डिङ’ आफैमा एउटा नौलो सृष्टी भएको हुनाले यो प्राकृतिक कुरासँग पनि जोडिने बताए। ‘मलाई कसैलाई रिस उठाउँन नपाए हुन्थ्यो जस्तो लाग्छ। तर सबै मलाई उ –उनीहरू) जस्तै होस् भन्ने चाहन्छन्। त्यो सम्भव नै छैन।’

उनले खाली बजारसँग जोडिने कुराको मात्र नभई प्रकृतिसँग जोडिएको कुराको पनि ब्रान्डिङ गर्न आग्रह गरे। ‘सगरमाथा हामीलाई प्रकृतिले दिएको सबैभन्दा ठूलो ब्रान्ड हो,’ उनले भने। 

उनले बिएल मिडियाले विभिन्न भाषामा समाचार सम्प्रेषण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समूदायसँग जोड्न खोजेकोमा अग्रिम शुभकामना दिए। 

‘हाम्रो देशको विकाशलाई पनि ब्रान्डिङ गर्नु जरुरी छ,’ मन्त्री बाँस्कोटाले भने। बिएल मिडिया ६ महिनाअघि स्ठापना भएको थियो। यसको नेपाली र अंग्रेजी भाषाको वेभसाइट शुभारम्भ भइसकेको छ। हिन्दी भाषाको संस्करण आउँदो महिनादेखि भारतको मुम्बईबाट सञ्चालन हुनेछ भने चिनियाँ, उर्दू र स्पेनिस भाषाबाट दुई महिना भित्र सञ्चालनमा आउने छ। 

ब्राण्ड भनेको कुनै पनि संस्था तथा व्यवसायको व्यक्तित्व होः दुर्गा रिजाल

ब्राण्ड भनेको कुनै पनि संस्था तथा व्यवसायको व्यक्तित्व भएको एपेक्स कलेजकी निर्देशक दुर्गा रिजालले बताएकी छन्।

बिएल मिडियाले बुधबार राजधानीमा आयोजना गरेको ब्राण्ड स्टोरी सार्वजनिकिकरण कार्यक्रममा बोल्दै निर्देशक रिजालले ब्राण्ड भनेको कुनै पनि संस्था तथा व्यवसायको व्यक्तित्व भएको स्पष्ट पारेकी हुन्।

‘जसरी हामीले विभिन्न तरिकाले आफ्नो खाले व्यक्तित्व विकास गर्न मेहनत गर्छौ, तयारी गर्छौ। त्यसैगरी संघ संस्थाहरूले पनि आफ्नो व्यक्तित्व विकासका लागि विभिन्न तरिकाहरू अपनाएको हुन्छ। जस्तो म आवद्ध शैक्षिक संस्था एपेक्स कलेजजस्तै शिक्षा क्षेत्रमा पनि विभिन्न कलेजहरू छन्। कलेजै पिच्छे व्यक्तित्व फरक-फरक हुन्छ। कुनै एकदम कडा खालका हुन्छन् भने कुनै खेलकुदमा एकदम अब्बल हुन्छन्’, उनले भनिन्, ‘त्यो सबै गर्नका लागि हामीले संस्था सुरू गरेदेखिनै कुनै व्यक्तिको आइडिया हुन्छ। के चै बनाउन खोजेको हो त? शैक्षिक संस्था हो या मेरो व्यवसायिक संस्था हो।’

हरेक व्यक्ति वा संस्थाको फरक फरक व्यक्तित्व हुने भन्दै उनले आफ्नो संस्थाले के चै दिन खोजेको हो त? त्यहीँ इन्डस्ट्री, त्यही नेचरको संस्था हुन्छ तर कसरी व्यक्तित्व फरक फरक हुन्छ? भन्ने ब्राण्डले भन्ने बताइन्।

‘ब्याण्ड स्टोरीले ब्राण्ड सुरू गरेदेखिको संस्थाको संघर्ष, संस्थाको सुख- दुःख, उनीहरूले दिएको नयाँ सेवा, क्रियाकलाप तथा नयाँ उत्पादन त्यो सबै कुरालाई सबैको सामू ल्याउन सहयोग गर्छ’, उनले भनिन्, ‘त्यसैले जसले आफ्नो ब्राण्ड स्टोरी भन्छ। उसलाई पनि एक प्रकारको उत्साह आउँछ किनिक, आफूले अहिले सम्म के के सफलता पाएँ त? भन्ने कुराको फर्केर हेर्ने बाटो हुन्छ। र जसले ब्राण्ड स्टोरी सुन्छ त्यसले मेरो संस्था पनि यसैगरि तलमाथि र यस्तै गरि सुख-दुःखमा जाँदैछ भन्ने एउटा उत्साहको बाटो हुन्छ।’

हामीले बजारमा आएको प्रोडक्ट देख्छौं। बजारमा आएको सर्भिस देख्छौं। तर त्यो कसरी त्यहाँसम्म पुग्यो भन्ने स्टोरी सुन्दा हामीले त्यो सँग आफूलाई एक प्रकारले आवद्धता गर्ने दाबी गरिन्।

‘एउटा उत्पादक र ग्राहकसँग सामिप्यता ल्याउने ब्राण्ड स्टोरीनै एउटा गतिलो माध्यम भएको उनले बताइन्।

‘ब्राण्ड स्टोरी जुन एक प्रकारको नौलो कार्यक्रम हो। यसलाई बिएल मिडियाले सुरूवात गरेको छ। हरेक संस्थाको त्यसको उपभोक्तासँग कुनै न कुनै देखिने गरी सम्बन्ध हुनुपर्छ। यसले हाम्रो एक प्रकारको उपभोक्तासँग लिङ्क गराउँछ’, उनले भनिन्।

ब्राण्ड स्टोरीपछि अर्कै कोही हो भन्ने हिसाबले हेर्नुको सट्टा त्यसको र मेरो बिचमा पनि सम्बन्ध छ है भन्ने उपभोक्तालाई महशुस गराउँने उनले बताइन्। उनले ब्राण्ड स्टोरीकै कारणले बस्तुकफ उपभोक्तासँगको लेभल र आइडिन्टी बढेर जाने विश्वास व्यक्त गरिन्।

 

समय सापेक्ष ब्राण्डबारे जानकारी नभए नोकिया जस्तै हराएर जान सक्छः डिल्लीराम अधिकारी

कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कुनै पनि संस्था वा व्यवसायको ब्राण्ड स्टोरीले जुनसुकै प्रोडक्टहरू उपभोक्तासामू पुर्‍याउन निकै ठूलो मद्धत पुग्ने बताए।

‘यो ब्राण्ड भन्ने चिज ओभरनाइट बन्ने चिज होइन। एउटा व्यक्ति बन्नलाई कति गाह्रो हुन्छ। जन्मेर नमरेसम्म व्यक्ति बन्नका लागि एउटा ठूलो योगदान गर्नुपर्ने हुन्छ, त्यस्तै ब्राण्ड बन्नका लागि पनि धेरै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ’, अधिकारीले भने।

कुनै पनि ब्राण्ड बन्नका लागि व्यक्तिले आफ्नै कामले र समाजले उसका कामको मूल्याङ्कनबाट मात्र सम्भव हुन्छ। समाजमा मान्छेले गरेका क्रियाकलापले नै उसको पर्सनालिटी बन्ने भन्दै अधिकारीले कुनै पनि संघ संस्थाको ब्राण्ड पर्सनालिटी पनि त्यही हिसाबले बन्ने स्पष्ट पारे।

‘हामी संसारमा एप्पल भन्छौ। त्यो यतिकै बनेको ब्राण्ड होइन। यसको पनि जन्म, हुर्काइ, बढाइ र आम सोसाइटीमा त्यसले छोडेको प्रभावले इमेज क्रिएट गर्छ।  जब इमेज क्रिएट गरिसक्छ। त्यसले प्रोडक्ट सेलमा धेरै ठूलो मद्धत गर्छ।  जस्तो एपलले कुनै एउटा नयाँ प्रोडक्ट ल्यायो भने त्यसको मार्केटिङ गर्नै पर्दैन एप्पलको भन्दिए भइहाल्यो’, उनले भने, ‘अहिले संसारमा ब्राण्डको मूल्याङ्कन कति छ। त्यो ब्राण्डले कुन पोजिसनमा समाजमा काम गरेको छ भन्ने कुरा लेखाजोखा गर्छ। यसैको आधारमा उसले उपभोक्तालाई आकर्षण गर्छ।’

नेपालमा अहिलेसम्म कुन ब्राण्डको मूल्य कति छ भनेर हिसाब नभएको दाबी गर्दै उनले जुन ब्राण्डले समाजमा राम्रो छाप छोडेको छ। त्यसैले आफ्नो उत्पादजहरू उपभोक्तासामू पुर्‍याउन निकै सहज भएको बताए।

नेपाल टेलिकम एउटा स्ट्रङ ब्राण्ड भए पनि अझै आम मानसमा कसैले नेपाल टेलिकम, कसैले एनटिसी, कसैले दूरसञ्चार मात्र भन्ने गरेको बताए।

उनले सय वर्षभन्दा बढीको इतिहास बोकेर आएको सबैभन्दा बलियो र स्थापित संस्थालाई ब्राण्ड स्टोरी महत्वपूर्ण हुने तर्क गरे।

उनले सबै उपभोक्ताको भावनासँग जोडिनका लागि ब्राण्ड  स्टोरीले थप सहयोग पुग्ने उनले विश्वास लिए।  

उनले आफ्नो ब्राण्डलाई पनि अन्तर्राष्ट्रिय लेभलमा मार्केटिङ गर्नका लागि यो अवसर सबैभन्दा उत्तम भएको तर्क गरे।

सय वर्षदेखि आम पब्लिकमा रहेको आफ्नो इमेजलाई बचाइराख्न समयसापेक्ष गरेका परिवर्तवबारे उपभोक्तालाई जानकारी गराउन र आफूलाई अझै नजिक बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

‘हामीले सुनेको छौ। नोकिया भन्ने एकदमै ठूलो ब्राण्ड हो। जसले पब्लिकलाई बुझ्न नसक्दा पछि परेको छ। उसले फेरि अब आफ्नो गुमेको ब्राण्ड भ्यालुलाई क्रिएट गर्न खोजिरहेको छ। त्यही भएकाले हामीजस्तो टेक्नोलोजिको क्षेत्रमा काम गर्नेले टेक्नोलोजीलाई अझै विस्तार गर्दै आम उपभोक्ताको इच्छा चाहना र आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने निरन्तरता दिन यो उत्तम थलो हुनेछ,’ उनले भने।

आफ्नो ब्राण्डलाई विकास गर्न र उपभोक्ताले खोजेका इच्छा र आकांक्षालाई पुरा गर्न निरन्तर खटिरहनूपर्ने भन्दै उनले कुनै पनि दिन निर्णय प्रक्रियामा त्रूटि हुने बित्तिकै प्रविधिका कम्पनीहरू कुनै पनि बेला कोल्याप्स हुने बताए।

यस्तो अवस्थामा ब्राण्डलाई सुरक्षित बनाउन समयसापेक्ष आफूलाई परिचित गराउँदै लानुपर्ने समय आएको उनले बताए।

‘यो एक आफैंमा ब्राण्ड हो। तर राष्ट्रको सञ्चार भन्ने स्लोगन भएकाले राष्ट्रको सुरक्षालाई पनि सम्बोधन गरेको छ।  लिपुलेकमा कुनै सर्विस छ भने नेपाल टेलिकमको सिडिएमएको सेवा छ। हामी लिपुलेक होस वा दक्षिणमा भारतीय सीमा क्षेत्र नै किन नहोस् सबैलाई एकै ठाउँमा जोड्नका लागि हाम्रा सेवाबारे अवगत गराउनुपर्ने हुन्छ’, उनले भने,‘ यी क्षेत्रमा पनि समयअनुसारका सेवा र सुविधा पुर्‍याउनुपर्छ।’

यो ब्राण्डलाई अझै बलियो बनाउनका लागि आम उपभोक्ता, नेपाली जनता र नेपाल र सरकार  र सम्बन्ध निकाय सबैको उत्तिकै महत्वपूर्ण हुनाले नेपाल टेलिकम आफ्नो ब्राण्ड प्रमोसनका लागि सधै अपेक्षा गर्ने उनले बताए।

अभय पाण्डे

नेपाली एड गुरू अभय पाण्डेले विज्ञापन र ब्राण्डको धर्म र धर्मशास्त्रको जस्तै सम्बन्ध रहेको बताए।

बुधबार बिएल मिडियाले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन्।

ब्राण्ड स्टोको कुरा बारे व्यङ्ग्य गर्दै पाण्डेले कतिपयलाई लाग्ला यो ब्राण्डको पनि स्टोरी हुन्छ?, यस्तो एउटा जाबो यो फूलको पनि स्टोरी हुन्छ?  एउटा चाउचाउको पनि स्टोरी हुन्छ? भने जस्तो लाग्ला। तर सबैको स्टोरी हुनेमा उनले विश्वस्त तुल्याए।

‘म अलिकति फिलोसोफिकल हुन चाहन्छु। यो मानवीय गुण रहेछ। हामी हरेक कुरालाई मानवीयकरण गर्छौ। हामी देवतालाईसमेत चरित्र देखाउँछौ। हामी सबै कुरालाई मानवीय गुण र चरित्रले देख्छौ। हाम्रो गुणै छ सबै कुरालाई चरित्र देख्ने। बादल हेर्‍यौ भने मान्छेको आकृति दख्छौ। गाडीमा आकृति देख्छ। हाम्रो चरित्रै छ। हरेक कुरालाई आफूजस्तै बनाउने। मान्छेको जिन्दगी र ब्राण्डको जीन्दगी लगभग एउटै हो। यो हिसाबले यी दुई बिचमा धेरै सिमिलारिटी हुन्छ।  किनकि हामीले आफ्नै कुरा दिएको हो त्यो ब्राण्डलाई,’ उनले भने।

जन्म मृत्यु र ग्रोथ हाम्रो आफ्नै कारणले हुने भन्दै उनले ब्राण्डको स्टोरी पनि हामी सबैले मिलेर दिने बताए। उनले स्टोरी उत्पादकले मात्र जन्माउने होइन। उत्पादक उपभोक्ता सबै मिलेर जन्माउने दाबी गरे।

‘धर्मलाई संसारको सबैभन्दा ठूलो ब्राण्ड मानिन्छ। किनकि त्यो भन्दा शक्तिशाली अर्को कुनै ब्राण्ड छैन। हरेक ब्राण्डको एउटा उद्धेश्य के हुन्छ भने एउटा यस्तो अन्धभक्त पैदा गरौं यस्तो जमात पैदा गरौ। जसले जस्तोसुकै अवस्थामा यसको फलो गरिरहोस्। जस्तो कि धर्म,’ उनले भने।

धर्म जस्तो त कुनै पनि ब्राण्ड हुनसक्दैन भन्दै उनले हरेक ब्राण्डको प्रयत्न आफ्नो ब्राण्डलाई धर्मसरह बनाउने हुने स्पष्ट पारे। उनले जति पनि ब्राण्डहरू बजारमा आएपनि हरेकको चाहना आफूलाई धर्मजस्तो ब्राण्ड बनाउनु रहेको तर्क गरे।

‘यस्तो फलोअर्स बनाउनुपर्‍यो कि जस्तोसुकै अवस्थामा पनि नडगमगाउनुहोस्। अर्को धर्मप्रति नलागोस् वा अर्को ब्राण्डतिर नलागोस्’, उनले भने।  

प्रकाशित मिति: : 2020-01-08 23:37:12

प्रतिकृया दिनुहोस्