शुक्रबार, २१ अगस्ट २०२६

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर

News Image
• • •

नेपालको राजनीतिक मानचित्रमा कर्णाली एउटा यस्तो भूगोल हो, जसले आफ्नो अस्तित्वका लागि राज्यसँग सबैभन्दा ठूलो विद्रोह गर्‍यो। संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सँगै जब २०७२ सालमा सात प्रदेशको खाका कोरियो, त्यतिबेला कर्णालीका जिल्लाहरूलाई सुदूरपश्चिममा विलय गराउने प्रयास भएको थियो।

तर कर्णालीले त्यो ‘डिजाईन’लाई स्वीकार गरेन। सुर्खेतदेखि जुम्लासम्म र हुम्लादेखि डोल्पासम्म उठेको आन्दोलनको आँधिबेरी र जनआन्दोलनको ज्वारभाटाकै बलमा आजको कर्णाली प्रदेश स्थापित भएको हो। यो प्रदेश केवल प्रशासनिक इकाई मात्र होइन, बरु वर्षौँदेखिको उपेक्षा, गरिबी र विभेदविरुद्धको एउटा बलियो राजनीतिक ‘स्टेटमेन्ट’ हो।

राजनीतिक अन्योल:
केन्द्रको छाया र दास मनोवृत्ति कर्णाली प्रदेश स्थापनाको मुख्य उद्देश्य ‘काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य’ र ‘स्वशासन’ थियो। नागरिकमा ठूलो अपेक्षा थियो कि अब आफ्नै आँगनमा सरकार हुनेछ र आफ्नै आवश्यकता अनुसार नीति बन्नेछन् तर स्थापनाको केही वर्षमै कर्णालीको राजनीतिमा एउटा गम्भीर विचलन देखिएको छ।

प्रदेश स्वायत्त निकाय भए पनि व्यवहारमा यो अझै पनि केन्द्रको राजनीतिक हलचलको ‘गोटी’ बनिरहेको देखिन्छ। काठमाडौंमा समीकरण फेरिँदा सुर्खेतमा सरकार ढल्ने र बन्ने परम्पराले संघीयताको मर्ममाथि नै प्रहार गरेको छ।

नागरिकको चाहना र भावनाभन्दा पनि दल र नेताको स्वार्थ हाबी हुनु र नेतृत्वमा अझै पनि ‘दास मनोवृत्ति’ कायम रहनु कर्णालीको राजनीतिक संघर्षको एउटा दुःखद पाटो हो। स्वायत्तताको अभ्यास गर्नुपर्ने प्रदेश सरकारहरू केन्द्रको आदेश कुरेर बस्ने प्रवृत्तिले कर्णालीको विकासको गतिलाई मन्द बनाएको छ।

पूर्वाधारको शून्य बिन्दु र भौगोलिक चुनौती कर्णालीले आफ्नो यात्रा ‘शून्य’बाट सुरु गरेको थियो। मन्त्रालयका लागि न भवन थिए, न कर्मचारी, न त कुनै कानुनी आधार नै। नयाँ संरचना खडा गर्नु आफैंमा एउटा ठूलो प्रशासनिक युद्ध जित्नु सरह थियो।

कर्णालीको सबैभन्दा ठूलो शत्रु र मित्र दुवै यसको भूगोल हो। हिमाली र पहाडी भूभाग, छरिएका बस्ती र कमजोर सडक सञ्जालले गर्दा यहाँ विकासका योजनाहरू अत्यन्त महँगो र जटिल हुने गरेका छन्।

अझै पनि धेरै बस्तीहरू राष्ट्रिय सडक सञ्जालबाट टाढा छन्। वर्षामा पहिरो र हिउँदमा हिमपातले गर्दा यहाँको जनजीवन ठप्प हुने गर्दछ। सडक पुग्नु मात्र ठूलो कुरा होइन तर त्यो सडकलाई उत्पादन र बजार सँग जोड्न नसक्नु अर्को ठूलो कमजोरी हो। जबसम्म कर्णालीको सडकले यहाँको स्याउ, सिमी र जडीबुटीलाई। बजारसम्म पुर्‍याउँदैन, तबसम्म त्यो सडक केवल धुलो उडाउने बाटो मात्र साबित हुनेछ।

परिचयको संकट
‘समस्या’ बाट ‘सम्भावना’ तर्फको संक्रमण लामो समयदेखि राज्य र बाह्य जगतले कर्णालीलाई केवल ‘पिछडिएको, गरिब र भोकमरीको क्षेत्र’ का रूपमा मात्र चित्रण गरिरह्यो। यो एक प्रकारको ‘न्यारेटिभ’ थियो जसले कर्णालीको आत्मविश्वासलाई सधैं कमजोर बनायो तर सत्य यो हो कि कर्णाली केवल समस्याको थुप्रो होइन बरु यो अपार सम्भावनाको खानी हो।

सिंजा सभ्यता नेपाली भाषा र संस्कृतिको उद्गम स्थल हो। रारा र शे-फोक्सुण्डो जस्ता प्राकृतिक उपहार, कर्णाली नदी प्रणाली, र बहुमूल्य जडीबुटी यहाँको आर्थिक मेरुदण्ड बन्न सक्छन्। पछिल्ला वर्षहरूमा प्रदेश सरकारले विकासको बहसलाई ‘समस्या’बाट ‘सम्भावना’तर्फ लैजाने प्रयत्न त गरेको छ तर त्यो अझै पनि कागज र भाषणमा बढी सीमित देखिन्छ। कर्णालीलाई ‘पछाडि परेको प्रदेश’ भनिरहनुभन्दा ‘सम्भावनाको प्रदेश’ का रूपमा ब्रान्डिङ गर्नु नै आजको मुख्य आवश्यकता हो।

सामाजिक क्षेत्रको कुरुप चित्र
स्वास्थ्य र शिक्षामा संघर्ष कर्णालीको स्वास्थ्य क्षेत्रको अवस्था अझै पनि हृदयविदारक छ। दुर्गम गाउँका गर्भवती महिला र बिरामी बालबालिकाले सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको पूर्ण अन्त्य हुन सकेको छैन। राजधानी सुर्खेतका अस्पतालमा उपकरण थपिएर मात्र स्वास्थ्य नीति सफल हुँदैन। यसको वास्तविक मापन त दुर्गमका नागरिकले गाउँमै पाउने सेवाबाट हुन्छ।

त्यस्तै, शिक्षा क्षेत्रमा पनि केवल भवन निर्माणलाई मात्र विकास मान्ने भ्रमबाट मुक्त हुनुपर्छ। डिजिटल शिक्षा र प्राविधिक शिक्षाको विस्तार नगरेसम्म कर्णालीका युवाहरू केवल श्रम बेच्नका लागि मात्र तयार हुनेछन्। युवालाई आफ्नो गाउँमै अवसर सिर्जना गर्न सक्ने बनाउनु नै प्रदेश सरकारको दीर्घकालीन लक्ष्य हुनुपर्छ।

आर्थिक आधार
माटोको उत्पादन र पर्यटन कर्णालीको समृद्धि यहाँको कृषि र पर्यटनमै अडिएको छ। स्याउ, ओखर, सिमी, र विश्वकै उचाइमा फल्ने ‘मार्सी चामल’ यहाँका हीरा हुन तर परम्परागत कृषि प्रणाली र बजारको अभावले गर्दा युवाहरू पलायन भइरहेका छन्। यदि यी स्थानीय उत्पादनलाई ब्रान्डिङ र प्रशोधन गर्न सके कर्णालीले अरू प्रदेशलाई समेत पाल्न सक्ने क्षमता राख्छ।

पर्यटनको हकमा पनि केवल पर्यटक भित्र्याएर मात्र हुँदैन। पर्यटनबाट हुने आम्दानी स्थानीयको गोजीसम्म पुग्ने प्रणाली (System) निर्माण हुनुपर्छ। होमस्टे, स्थानीय हस्तकला र पथप्रदर्शकको माध्यमबाट युवालाई स्वरोजगार बनाउन सकिन्छ।

आत्मसमीक्षा र आगामी बाटो प्रदेश स्थापना दिवस केवल उत्सव मनाउने दिन मात्र हुनुहुँदैन बरु यो आत्मसमीक्षाको घडी पनि हो। सरकारले कति बजेट खर्च गर्‍योभन्दा पनि त्यो खर्चले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा मुख्य हो। पारदर्शिता, जवाफदेहिता र सार्वजनिक खर्चको प्रभावकारितामा अझै धेरै काम गर्न बाँकी छ।

कर्णाली अब विकासको प्रतीक्षा गरेर बस्ने भूगोल होइन, संघीय सरकारको मुख ताकेर बस्ने प्रवृत्तिलाई त्यागेर आफ्नै स्रोत र साधनको अधिकतम उपयोग गर्दै अघि बढ्नुपर्छ। कर्णालीको सफलता मन्त्रालयका भवन वा योजनाको संख्याले होइन बरु हुम्लाको एउटा कुनामा बस्ने नागरिकको मुहारमा आउने चमकले मापन हुनेछ।

निष्कर्ष कर्णालीको संघर्ष जारी छ पहिचानका लागि सुरु भएको संघर्ष अब समृद्धिका लागि केन्द्रित हुनुपर्छ। राजनीतिक अस्थिरता र केन्द्रमुखी मानसिकताबाट मुक्त भएर, उत्पादनमा आधारित अर्थतन्त्र र गुणस्तरीय सामाजिक सेवालाई प्राथमिकता दिँदै अघि बढ्नु नै कर्णालीको उज्ज्वल भविष्यको एक मात्र मार्गचित्र हो। कर्णालीले अब आफ्नो इतिहासको दुखान्त होइन, भविष्यको सुखान्त कथा लेख्नुपर्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!