मन्त्री बाँस्कोटाले भने– ‘बिएल मिडिया आफैमा एउटा ब्रान्ड हो’

उनले बिएल मिडियाले विभिन्न भाषामा समाचार सम्प्रेषण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समूदायसँग जोड्न खोजेकोमा अग्रिम शुभकामना दिए। 

नेपाल सरकारका सूचना, प्रविधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिएल मिडिया आफैैमा एउटा ‘ब्रान्ड’ भएको बताएका छन्। 

बुधबार राजधानी काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा बाँस्कोटाले भने, ‘अरु मिडियाले नेपाली र अंग्रेजीमा समाचार सम्प्रेषण गर्दै आइरहेका छन्। बिएल मिडियाले ६ वटा (अन्तर्राष्ट्रिय) भाषामा समाचार संम्प्रेषण गर्न लागेको छ। यो आफैंमा एउटा ब्रान्ड भइहाल्यो नि।’

बिएल नेपाली सेवाले बुधबारदेखि ‘ब्रान्ड स्टोरी’ नामक शोको शुभारम्भ गरेको छ। नेपालका स्थापित ‘ब्रान्ड’ लाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रमको मन्त्री बाँस्कोटाले औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरे।

कार्यक्रममा सञ्चार, विज्ञापन र शैक्षिक क्षेत्रका हस्तीहरूको उपस्थिति थियो। मन्त्री बाँस्कोटाले आफू पनि एउटा ‘ब्रान्ड’ भएको भन्दै सोसाइटी निर्मित चिन्तनले फरक पर्ने बताए। 

‘मलाई धेरैले गाली गनुहुन्छ, त्यो मलाई थाहा छ। तर गाली गरेपनि म आफ्नो कुरा छोडदै छोडदिन्,’ मन्त्री बाँस्कोटाले भने, ‘मान्छे जुन फिल्डबाट आउँछ, त्यसले नै ब्रान्ड बन्छ।’ 

उनले ‘ब्रान्डिङ’ आफैमा एउटा नौलो सृष्टी भएको हुनाले यो प्राकृतिक कुरासँग पनि जोडिने बताए। ‘मलाई कसैलाई रिस उठाउँन नपाए हुन्थ्यो जस्तो लाग्छ। तर सबै मलाई उ (उनीहरू) जस्तै होस् भन्ने चाहन्छन्। त्यो सम्भव नै छैन।’

उनले खाली बजारसँग जोडिने कुराको मात्र नभई प्रकृतिसँग जोडिएको कुराको पनि ब्रान्डिङ गर्न आग्रह गरे ।

‘सगरमाथा हामीलाई प्रकृतिले दिएको सबैभन्दा ठूलो ब्रान्ड हो,’ उनले भने। 

उनले बिएल मिडियाले विभिन्न भाषामा समाचार सम्प्रेषण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समूदायसँग जोड्न खोजेकोमा अग्रिम शुभकामना दिए। 

‘हाम्रो देशको विकाशलाई पनि ब्रान्डिङ गर्नु जरुरी छ,’ मन्त्री बाँस्कोटाले भने। बिएल मिडिया ६ महिनाअघि स्थापना भएकाे थियाे। यसकाे नेपाली र अ‌ंग्रेजी भाषाकाे वेभसाइट शुभारम्भ भइसकेकाे छ। हिन्दी भाषाकाे संस्करण आउँदाे महिनादेखि भारतकाे मुम्बईबाट सञ्चालन हुनेछ भने चिनियाँ, उर्दू र स्पेनिस भाषाबाट दुई महिना भित्र सञ्चालनमा आउने छ। 
 

प्रकाशित मिति: : 2020-01-09 08:39:27

प्रतिकृया दिनुहोस्