सवारी ज्यान मुद्दामा फरार भएका व्यक्ति १३ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैद सजायको फैसला सुनाइएका एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय पथरीको टोलीले कानेपोखरी गाउँपालिका–४ का ३८ वर्षीय भोलाबहादुर धिमाललाईमोरङको कानेपोखरीबाट शुक्रबार बिहान ५ बजे पक्राउ गरेको हो। 

धिमाल विरुद्ध जिल्ला अदालत चितवनले सवारी ज्यान मुद्दामा २०६३ साल कात्तिक २६ गते दुई वर्ष कैदको फैसला सुनाएको पथरीका डीएसपी दिलिप गिरीले बताए। 

घटनाअनुसार काठमाडौंबाट झापाको काँकडभिट्टा आउँदै गरेको उनले चलाएको बा १ ज ८९९४ नम्बरको माइक्रो बस र सडकमा गुडिरहेको ट्रक चितवनको भण्डारामा ठोक्किको थियो। अनियन्त्रित भएर विपरित दिशामा पुगेको माइक्रोले ट्रकलाई ठक्कर दिँदा २०६२ साल भदौ २५ गते माइक्रोमा सवार दुई जनाको मृत्यु भएको थियो । घटनापछि माइक्रो चालक फरार भएका लथिए । 

खुट्टा भाँचिएर चालक पनि गम्भीर घाइते भएका थिए। उनको चितवनको भरतपुर र काठमाडौंमा एक वर्षसम्म उपचार भए पनि प्रहरीले भेउ पाएन। 

प्रहरीले माइक्रो चालकलाई फरारको सूचीमा राखेर सवारी ज्यान मुद्दा चलाएको थियो। धिमाललाई प्रहरीले शुक्रबार नै जिल्ला अदालत मोरङमा पेस गरेको छ। 
 

प्रकाशित मिति: : 2020-01-11 00:49:04

प्रतिकृया दिनुहोस्