अरशदलाई जोनको उपहार–१२ लाखको बाइक

फिल्म सुटिङको बेला अरशदको मोटरसाइकल प्रेम देखेपछि जोन प्रभावित भएका थिए। यी दुबै ‘पागलपन्ती’ फिल्मको सुटिङको बेला मोटरसाइकलमा आउँथे।

एजेन्सी

मुम्बई

जोन अब्राहम बलिउडमा सबैभन्दा ठूलो मोटरसाइकल पारखी अभिनेताको रूपमा चिनिने गर्छन्। उनले बलिउडमा आफू जस्तै मोटरसाइकलको अर्को पारखी अभिनेता भेटेपछि उनलाई मोटरसाइकल नै उपहार दिएका छन्। त्यो पनि महंगो। १२ लाख भारु पर्ने। 

यो घटना हो, गत साताको। जोनले बलिउडका अर्का चर्चित अभिनेता अरशद वारसीलाई मोटरसाइकल उपहार दिएका छन्। त्यो पनि ‘बिएमडब्ल्यू ७५० जीएस’। 

फिल्म सुटिङको बेला अरशदको मोटरसाइकल प्रेम देखेपछि जोन प्रभावित भएका थिए। यी दुबै ‘पागलपन्ती’ फिल्मको सुटिङको बेला मोटरसाइकलमा आउँथे। जोनले आफ्नो घरमै मोटरसाइकलको डिलिभरी गराएको अरशदले बताए। 

उनले भने,‘जोन एउटा नयाँ बाइक किन्ने सोचमा थिए। उनले मलाई बीएमडब्लू बाइकको फोटो पठाए र सोधे कस्तो लाग्यो? मलाई लाग्यो उनी अर्को बाइक किन्ने अभियानमा छन्। तर, उनले बाइक मेरो लागि किन्न चाहेको बताएपछि म चकित परे।’

अरशदले सुरुमा आफूले जोनको प्रस्ताव अस्विकार गरेको बताए। ‘तर, मलाई दबाब दिँदै उनले ट्राई गर्न बाइक नै मेरो घर पठाए,’ उनले भने। 

अरशदले आफ्ना नजिकका व्यक्तिलाई उपहार प्रदान गर्ने जोनको अनौठो तरिकाको तारिफ गरे। ‘म उसलाई भन्ने पनि गर्छु। आफ्नो लागि पनि खर्च गर। उनी चप्पल, टिसर्ट र जिन्समै खुसी देखिन्छन्। मलाई थाहा छैन, उनीसँग पहिरिन एउटा ढंगको सुट पनि छ वा छैन?’ जोनका विषयमा अरशदले भने। 

अरशदको बिहे १९९९ मा भएको थियो। बिहे पश्चात उनको श्रीमतिले बाइक चलाउन उनलाई रोक लगाएकी थिइन। सन् २००६ मा ‘काबुल एक्सप्रेस’ को सुटिङमा व्यस्त हुँदा जोनले बाइक चलाउन किन बन्द गरेको भनेर अरशदसँग प्रश्न गरेका थिए। 

त्यति बेला उनले आफ्नो श्रीमति मारियाका कारण बन्द गरेको खुलासा गरेका थिए। यसपछि जोनले मारियालाई फोनबाट आफ्नो श्रीमानलाई बाइक चलाउन स्विकृति दिन आग्रह गरेका थिए। ‘यसका लागि म जोनलाई धन्यबाद भन्न चाहन्छु,’ अरशदले भने। 
 

प्रकाशित मिति: : 2020-01-17 15:18:03

प्रतिकृया दिनुहोस्