छोएर जीवनलाई

सजीव झैँ लाग्ने मान्छेका भिडमा उभिएर

म आज आफ्नै मूल्य खोजिरहेछु ।

 

यस्तो लाग्छ

गर्मीको रापिलो हावा मेरो हो

शरीरभरि फैलिरहने सिरेटोको परकम्पन मेरो हो

घमलङ्ग रातको कम्बल ओढेका

रुखका छायाजस्ता मान्छेहरु मेरा हुन

चिसो आकाशको त्रिपालमुनिका निःश्वासहरु मेरा मात्रै हुन् ।

 

ओ ! यस युगका महानायकहरु

म मेरो एक मुठ्ठी मुटुमा रहेका

असङ्ख्य मृदु भावहरुको जगमा आफूलाई उभ्याएर

न्याना र सुकोमल भावनाका बिम्बहरु बाँड्न चाहन्छु ।

 

म मेरा अक्षरहरुलाई

अँध्यारा बस्तीमा दियो बनाएर प्रदीप्त बनाउनेछु

र शब्दहरुलाई

बिहानीको पर्दा उघार्ने मिर्मिरे बनाउनेछु ।

 

साँच्चिकै अब बुझ्नु जरुरी छ

वर्षौँदेखि असिनासरह बर्सिरहेका

ति झुठका वाणीहरुलाई परास्त गर्न

एउटा कलम नै काफी हुन्छ ।

 

हो कहिले घामको छाता ओढेर

कहिले वर्षाको छत्रे टोपी लगाएर

उकाली ओराली हिँडिरहने जिन्दगीका व्यथाहरु

कलमले मात्रै देख्दोरहेछ ।

 

त्यसैले अहिले म

मूर्तिजस्ता मान्छेको जमातबाट अलग्गिँदै

पिलपिले बत्तीको छायामा

शीतैशीत बेरेर आफ्ना शरीर डल्याइरहेका

मान्छेका लहरमा जान चाहन्छु ।

 

जहाँ पत्थरहरु मुस्कुराऊन्

पहाडले मल्हम लगाइदेओस्

हिमालले सारा वेदनालाई आत्मीयता प्रदान गरोस्

र यही परिवेशमा यस्तो कविता लेख्न सकूँ

कि जसका कारण बिहान भइसक्दा

धरमरिएका छायाहरु जुरुक्क उठेर

उज्यालोको अर्थ खोजिरहून्

यो मुलुकभरि आफूलाई भेटिरहून् ।

प्रकाशित मिति: : 2020-01-19 05:14:14