पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले पाए सफाइ

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले दुरुत्साहन सम्बन्धी मुद्दामा सफाइ पाएका छन्।

जिल्ला अदालत चितवनमा आइतबार न्यायधीस हेमन्त रावलको इजलाशमा भएको बहसमाउनीहरुले सफाइ पाएका हुन्। 

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो।

जिल्ला अदालत चितवनले गएकाे भदौ ९ गते सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको विरुद्धमा उनीहरु दुवैले गएको भाद्र १७ गते निवेदन दर्ता गराएका  थिए।

सञ्चारकर्मीद्वयले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेकोले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम आदेश बदर गरी साधारण तारेखमा मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

यस्ताे थियाे घटना 

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका थिए। आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए।

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक लामिछाने र सोही कार्यक्रममा कार्यरत कँडेललाई समातेको थियो। लामिछाने, कँडेल र रुकु भनिने अस्मिता कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका थिए।

साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए।

रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो।
 

प्रकाशित मिति: : 2020-01-20 06:31:38

प्रतिकृया दिनुहोस्