पहिलो र दोस्रो विश्वयुद्धपछि कोरोनाका कारण ओलम्पिक रद्ध

एजेन्सी

टाेकियाे

चार महिनापछि जापानको टोकियो शहरमा आयोजना हुन लागेको ओलम्पिकलाई कोरोना भाइरसको ग्रहण लागेको छ। 

जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच २४ जुलाई २०२० मा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो खेल मेलालाई अर्को वर्षका लागि सार्न तयार भएका छन्। 

‘विश्वका लागि चुनौति बनेको कोरोना भाइरस संक्रमणका कारण खेललाई स्थगित गर्नुबाहेक हामीसँग अर्को विकल्प थिएन’, जापानी प्रधानमन्त्री आबेले भनेका छन्, ‘बाच र हामी सतप्रतिशत खेललाई स्थगित गर्न सहमत भएका हौं।’

स्थगित भएको प्रतियोगिता २०२१ मा टोकियो शहरमै आयोजना हुनेछ। ओलम्पिक इतिहासमा यो तेस्रो अवसर हो, प्रतियोगिता स्थगित भएको। यसअघि पहिलो र दोस्रो विश्व युद्धमा ओलम्पिक खेललाई स्थगित गरिएको थियो। 

सन् २०१६ मा आयोजना गर्नुपर्ने ओलम्पिक पहिलो विश्वयुद्धको छायाँमा परेको थियो। यस्तै, सन् १९४० र १९४४ मा आयोजना गर्नुपर्ने दुई वटा ओलम्पिक पनि दोस्रो विश्वयुद्धले प्रभावित बनेको थियो। 

आधुनिक ओलम्पिकको इतिहास १ सय २४ वर्ष पुरानो छ। यसलाई खेलकुदको महाकुम्भ पनि मानिन्छ। कोरोना भाइरसको प्रभावले गर्दा यसअघि नै अमेरिका, क्यानडा, इरान, अस्ट्रेलिया, ब्राजिल, जर्मनीलगायत थुप्रै देशले खेल स्थगित गर्न आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसामू आग्रह गरेका थिए। 

यो समेत चौथो पल्ट ओलम्पिक तय गरिएको तालिकाअनुसार आयोजना नभएको हो। 
 

प्रकाशित मिति: : 2020-03-25 08:34:16

प्रतिकृया दिनुहोस्