कोरोना भाइरसः रोनाल्डो र उनका एजेन्टले गरे साढे दश लाख अमेरिकी डलर सहयोग

क्रिश्चियानो रोनाल्डो तथा उनका एजेन्ट जर्ज मेन्डिसले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलका दुई अस्पतालका तीन आइसियू इकाइलाई १०‍.०८ लाख अमेरिकी डलर सहयोग प्रदान गरेका छन्।

याे रकमले लिस्वनकाे सान्टा मारिया अस्पताल र पोर्टोमा रहेको सान्टो एन्टोनियो अस्पतालमा चाहिने अत्यावश्यक उपकरण किन्न उपयोग हुने उनीहरूले विश्वास लिएका छन्।

‘हामीलाई जर्ज मेन्डिसले सम्पर्क गर्नुभएको थियो, उहाँले क्रिश्चियानो रोनाल्डोसँग मिलेर हाम्रो अस्पतालको दुई इकाइमा कोरोनाका विरामीका लागि बनाइएको आइसियूलाई सहयोग गर्नुभयो,’ सहयोग पाएपछि सान्टा मारिया अस्पतालका अध्यक्ष ड्यानियल फेरोले भने।

रोनाल्डोका एजेन्ट मेन्डिसले यसअघि पोर्टोमा रहेको सो जुओ अस्पताललाई एक हजार मास्क र दुई लाख सुरक्षात्मक गाउन दिएका थिए। यसैगरी उनले पोर्चुगलभर बाँड्नका लागि आठ वटा भेटिलेटरको अर्डरसमेत गरेका छन्।

मंगलबार लिओनल मेसी र पेप गार्डियोलाले पनि स्पेनको बार्सिलोना शहरमा रहेका अस्पतालका लागि जनही १/१ मिलियन युरो सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2020-03-25 22:20:26

प्रतिकृया दिनुहोस्