महाकालीमा भारतीय आतंक, आफ्नै घर प्रवेश गर्न १ हजार भारु तिर्दै नेपाली

श्याम भट्ट

कञ्चनपुर

कोरोना भाइरसका कारण विश्व आक्रान्त भएको बेला केही महाकाली पारीका भारतीयले यसमा पनि ब्यापार देखेका छन्। यसको ज्वलन्त उदाहरण यति बेला सुदूरपश्चिमको बैतडी र दार्चुलाकाे सीमा नदी महाकालीमा देखिएकाे छ। 

बैतडीको सदरमुकाम गढीबाट १९ किलोमिटर टाढा रहेकाे नेपालतर्फकाे एेतिहासिक नाका जुलाघाट यति बेला बन्द छ। भारततर्फ झुलाघाट पर्छ। नाका मध्य र सुदूरपश्चिमका पहाडी जिल्ला मुगु, हुम्ला, जुम्ला, बझाङ, बाजुरा र बैतडीका निम्न आय भएका व्यक्तिकाे भारतकाे उत्तराखण्ड र हिमाञ्चलका पिथाैडागढ, चम्पावत, बाघेश्वर, अलमाेडा, नैनिताल, हरिद्धार हुँदै साेलन, सिमलादेखि कुलुमनाली र लद्धाकसम्म काम गर्न जाने नाका हाे।

याे नाका बन्द हुँदा नेपालीहरु अलपत्र परेका छन् भने भारतीयका लागि याे राम्राे ब्यापारकाे माध्यम बनेकाे छ। यही नाकाबाट ५ किलाेमिटर उत्तरमा लेकम पर्दछ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतीय नाका झुलाघाटमा जम्मा भएका सयाैं नेपालीलाई त्यहाँ बस्न दिएकाे छैन। लेकमभन्दा डेढ किलाेमिटर उत्तरदक्षिणमा चमेलिया नदी महाकालीमा गएर मिसिन्छ। याे ठाउँमा पानीकाे बहाव उच्च हुने गर्छ। र, यहाँ सहजै नदी पार गर्न सकिन्न। यसैकाे फाइदा उठाउँदै भारतीयहरूले प्रति व्यक्ति एक हजार भारतीय रुपैयाँ नेपालीसँग लिएर नदी तराउने गरिरहेका छन्। 

यो एसएसबी र स्थानीय भारतीय ब्यापारीको मिलेमतोमा भएको हो कि? ब्यापारीले मात्र यस्तो निन्दनीय काम गरिहेका छन्, त्यसको पुष्टी भने हुन सकेको छैन। तर, मंगलबार २९ जनालाई नदीको दोभान कटाएको बैतडीका डिएसपी डिल्ली नारायण पाण्डेले बिएल नेपाली सेवालाई जानकारी दिए। 

उनले चमेलियाको किनारै किनार क्वारेन्टाइनमा नबसी भारतबाट नेपालीहरू प्रवेश गरिरहेको जानकारी दिए। ‘हामीले मानवीयताको आधारमा २९ जनालाई ट्याक्टरबाट रेस्क्यु गर्‍यौं। अझै भारतपट्टी डेढ सयको हाराहारीमा नेपालीहरू अलपत्र परेको जानकारी आएको छ,’ उनले भने। 

यति बेला कोरोनाको संक्रमणका कारण भारतमा रोजगारी छोडेर थुप्रै नेपाली धमाधम घर फर्किरहेका छन्। 

भारतले मंगलबारदेखि २१ दिनका लागि पुरै देश ‘लक–डाउन’ गर्ने घोषणा गरेपछि सीमामा पैसा कमाउन पल्केकाहरूका लागि ठूलै पर्व आएसरह भएको छ। 

‘भारतीय एसएसबीले गाईगोरु धपाए झै नेपालीहरूलाई दार्चुला प्रवेश गर्न नदिएर लेकम ल्याएर छोडिरहेका छन्। यहाँबाट प्रत्येक नेपालीलाई एक हजार भारतीय रुपैयाँ लिएर नदी कटान गरिदैछ,’ बैतडीका स्थानीय समाजसेवी दीपक जोशीले जानकारी दिए।

नेपाल प्रवेश गर्नेहरू निम्न आँय भएका नेपालीहरू हुन्। उनीहरू दैनिक ज्यालादारी मजदुरीका लागि भारत प्रवेश गरेका थिए। ‘उनीहरूको पिढ्युमा झोला मात्र छ। बेचारा यस्तालाई पनि लुटिरहेका छन्,’ उनले भने। 

भारतबाट प्रवेश गरेका नेपालीहरू बिना क्वारेन्टाइन चमेलियाको किनारै किनार आफ्नो जिल्लातर्फ लाग्दा स्थानीय जिल्लावासीमा पनि त्रास बढेको छ। 
 
 

प्रकाशित मिति: : 2020-03-26 12:10:55

प्रतिकृया दिनुहोस्