टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सोमबार टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ। सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नयाँ मिति तय गरेको हो।  

कोरोना भाइरस संक्रमणका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक २३ जुलाई २०२१ मा शुरू हुने भएको छ। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को कार्यसमिती बैठकले सोमबार यस्तो निर्णय गरेको हो। एक वर्ष पछि सरेर २०२१ मा हुने भए पनि यसको नाम टोकियो २०२० नै रहने छ। प्रतियोगिता ८ अगष्टसम्म चल्नेछ। पाराओलम्पिक भने २०२१ को २४ अगष्टबाट ५ सेप्टेम्बरसम्म हुने भएको छ। यसअघि यो २०२० को २४ अगष्टमा हुने तय थियो। 

‘‘टोकियो २०२० आयोजक कमिटी, टोकियो महानगरपालिका र जापान सरकार तथा सम्पुर्ण सरोकारवालासँग मिलेर यो अभुतपुर्ण चुनौतीलाई सफलतापुर्वक पार लगाउनेमा म विश्वस्त छु,’’ आइओसीका अध्यक्ष थोमस बाचले भने, ‘‘मानवजाति अहिले अध्यारो सुरूङमा फसेका छन्। ओलम्पिक गेम्स टोकियो २०२० ले सुरूको अन्त्यमा उज्यालो प्रदान गर्नेछ।’’

अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीका अध्यक्ष एन्ड्रयु पर्सनले अर्को वर्ष टोकियोमा पाराओलम्पिक हुँदा मानवताको एक विशेष रुप प्रदर्शीत हुने र मानव लचकता तथा खेलको सनसनीखेज प्रदर्शन हुने बताएका छन्। 

प्रतियोगितामा सहभागी हुने प्रत्यकको स्वास्थ्य सुरक्षा र कोभिड–१९ भाइरसविरुद्धको लडाईमा एक्यवद्धता जनाउनका लागि ओलम्पिक र पाराओलम्पिक एक वर्ष पछि सारिएको थियो। 

ओलम्पिकको नयाँ मिति अन्य प्रतियोगिताको मितिलाई पनि मध्यनजर गरेर तोकिएको हो। युरोपियन च्याम्पियनसिप पनि २०२१ मा सारिएको छ। त्यस्ते विश्व एथलेटिक्स च्याम्पियनसिप पनि एक वर्षका लागि स्थगित गरिएको छ। २०२१ को ६ देखी १५ अगष्टसम्म हुने भनिएको प्रतियोगिता २०२२ मा सारिएको छ। 

प्रकाशित मिति: : 2020-03-30 23:12:18

प्रतिकृया दिनुहोस्