कोरोनाका कारण नेपालमा हुँदैछ अनलाइन शिक्षामा क्रान्ति 

नवीन अर्याल

काठमाडाैं

स्कुल अफ म्यानेजमेन्टअन्तर्गत एमबीए चौथो ब्याचका सुवास उप्रेतीका लागि इलेक्ट्रोनिक्स डिभाइस मोबाईल र कम्प्युटर कुनै नौलो साधन होइन। उनी दिनमा १० घण्टा जति यो डिभाइसमै व्यस्त रहन्छन्।

साथीभाईसँग च्याट, इमेल र कोर्षका केही रिपोर्ट तयार पार्न उनी प्रायः आफ्नो मोबाईल र कम्प्युटरमा झुम्मिने गर्थे। तर, हिजोआज उनको दैनिकी फेरिएको छ। कोरोना भाइरस संक्रमणको विश्वव्यापी त्रासका कारण दुई सातादेखि देश ‘लकडाउन’ को अवस्थामा छ। र, हालको विश्वव्यापी परिस्थिति हेर्दा यो अझै लम्बिन सक्ने सम्भावना प्रबल बन्दै गइरहेको छ। 

यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायका कक्षाहरू गत आइतबारदेखि अनलाईन प्रविधिमार्फत सुरु भएको छ। र, व्यवस्थापनतर्फ सुवासजस्ता करिब ४ सय विधार्थी यति बेला घर बसीबसी आरामले अनलाइनमार्फत कक्षा लिइरहेका छन्। उनीहरूका लागि अनलाइन कक्षा नौलो भए पनि यसले उत्साही तुल्याएको छ। 

‘विदेशमा अनलाइनबाट पढाई हुन्छ भनेर सुनेको थिए। तर, अनुभव गर्न पाएको थिइन,’ सुवासले भने, ‘रमाइलो हुँदो रहेछ। म उत्साही छु।’

कक्षामा सामूहिक अध्ययन गर्दा ‘साइड टक’ हुने गर्दथ्यो। तर, अनलाइन कक्षामा त्यस्तो नहुने हुँदा पढाईमा एकटकले ध्यान केन्द्रित गर्न सजिलो भएको उनको अनुभव छ। 

यस्तै अनुभव एमबीएका उपनिर्देशक डा.गंगाराम बिश्वकर्माको पनि छ। उनी अहिले आफ्नो घरको एउटा कोठा नै कक्षा कोठामा परिवर्तन भएको अनुभव सुनाउँछन्। ‘मेरो लागि पनि यो नयाँ अनुभव हो। अनलाइनबाट सबैलाई उपस्थित गराएर कक्षा लिँदा रमाइलो हुँदो रहेछ,’ उनले भने, ‘अनलाइनमा सबै विधार्थी आफ्नो ग्याजेटमा हुने हुँदा अरुबाट ‘डिस्टर्ब’ हुने सम्भावना कम हुँदो रहेछ। फेरि उनीहरूले नबुझेको कुरा ‘रेज ह्याण्ड’ एपमा गएर सोध्न पनि सक्ने हुँदा कसले बुझ्यो, कसले बुझेन भन्ने हामीलाई पनि थाहा हुने रहेछ।’

उनी हतारको सूचनाको आधारमा अनलाइन कक्षा सुरु गर्दा हाल ९० प्रतिशत विधार्थीलाई कभर गर्न सकिएको बताउँछन् र अर्को साताभित्र सबै विधार्थी अनलाईन कक्षासँग जुडिसक्ने आशा व्यक्त गर्छन। 

नेपालमा कोरोना भाइरसको संक्रमित फेला परेपछि सरकारले चैत ९ देखि ‘लकडाउन’ को घोषणा गरेको थियो। हाल नेपालमा कोरोनाका ९ जना संक्रमित देखिएका छन् भने कोरोनाको अवस्था दोस्रो चरणमा पुगेको छ। 

यसैले तत्काल लकडाउन खुल्ने स्थिति नदेखेपछि व्यवस्थापन संकायका डिन प्रोफेसर डा.डिल्लीराज शर्माको पहलमा अनलाइन कक्षा सुरु भएको हो। 

‘हामीले पहिलो पल्ट यसको प्रयोग एमफिल्डबाट गर्‍यौं। लकडाउन भएको दोस्रो दिनमै डिन कार्यालयबाट अनलाइन कक्षाको सुरुवात गर्‍यौं,’ प्राडा शर्माले बिएल नेपाली सेवासँग भने, ‘एमफिल्डको प्रयोग सफल भएपछि ‘स्कुल अफ म्यानेजमेन्ट’ का सबै संकायका सम्बन्धित सरहरूलाई बोलाएर बैठक गरेका थियौं। यसैको उपलब्धी हो, अनलाइन कक्षा।’

नेपालमा एमबीए–आईटी, एमबीए–जिएलएमका कक्षाहरू ग्लोबल लिडरसीप कार्यक्रमअन्तर्गत दक्षिण कोरियाको हान्दुम विश्वविद्यालय र चीनको सुफी विश्वविद्यालयका प्रोफेसरले अनलाइनमार्फत अध्यापन गराउने गरेका थिए। 

तर, क्लासको रूपमा व्यवस्थापन संकायले पहिलो प्रयोग गरेको हो। ‘हामीसँग आफ्नै उच्च प्राविधिक छैनन्। त्यसैले कक्षा सञ्चालन गर्न केही गाह्रो परिरहेको छ तर आइटी विभागलगायत विशेषज्ञसँग सल्लाह गरेर समस्या समाधानतर्फ अगाडी बढिरहेका छौ। सबैबाट राम्रो प्रतिक्रिया आएको छ,’ प्राडा शर्माले भने। 

हाल ‘स्कुल अफ म्यानेजमेन्ट’ अन्तर्गत एमफिल्ड र एमबीएका कक्षा अनलाइनमार्फत धमाधम पढाई भइरहेको छ। 

‘अहिले धरान र बुटबलबाट पनि अनलाइन कक्षाका लागि कलेजका प्रमुखहरूले हामीसँग सुझाव मागिरहनु भएको छ। छिट्टै सुरु गर्छो,’ शर्माले भने–‘व्यवस्थापनमा २६ वटा कार्यक्रम छन्। हामी सम्भव भएसम्म सबैलाई अनलाइनमा लैजाने प्रयास गरिरहेका छौं। यसले ‘लकडाउन’ को अवस्थामा ४–५ महिनाको समय बचत हुने विश्वास लिएका छौं।’

हाल कलेजहरूले ‘जुम–एफ’ प्लेटफर्ममार्फत अनलाइनबाट कक्षा लिइरहेका छन्। तर, यो ४० मिनेटमै ब्रेक हुने हुँदा २–३ घण्टा अनवरत कक्षा चलाउन गाह्रो परिरहेको एमबीएका उपनिर्देशक डा. बिश्वकर्माको अनुभव छ। तर, यसलाई सुचारु गर्न आईटीका प्रोफेसरसँग कुरा भइरहेको उनले बताए। ‘छिट्टै समस्या समाधान हुन्छ होला,’ उनले भने।

उनी अनलाइनमा पढाई हुने विषयको बारेमा पहिल्यै नै विधार्थीहरूलाई अवगत गराउने कारण बुझाउन सहज भएको बताउँछन्। 

‘जुम–एप’ प्लेटफर्मअन्तर्गत एकपल्टमा सय जनालाई अध्यापन गराउन सकिन्छ। प्राध्यापकले अध्ययन गराउँदा विधार्थीले आफ्नो माइक र क्यामरा बन्द गर्नुपर्ने हुन्छ। 

‘हामीलाई सरहरूले पहिले नै मेल र गुगलमार्फत पासवर्ड र कक्षाको समय निर्धारण गरेर पठाइसक्नु भएको थियो। पढ्ने समयमा हामी आफ्नो मोबाईल वा कम्प्युटरमा उपस्थित भइसकेका हुन्छौं,’ एमबीए चौथो सेमिष्टरका विधार्थी सुवासले भने, ‘हामीले केही सोध्नु पर्‍यो भने जुम–एपभित्र ‘रेज ह्याण्ड’ अप्सन क्लिक गरे पुग्छ।’

नेपालमा अनलाइन शिक्षाको विषयमा धेरै अगाडिदेखि कुरा उठे पनि त्यसतर्फ त्रिभुवन विश्वविद्यालयको खासै ध्यान गएको थिएन। प्रयोगको रुपमा एक–दुईवटा कक्षा सञ्चालन भए पनि त्यो त्यति प्रभावशाली देखिएको थिएन। तर अहिले कोरोना भाइरसको निहुँमै सही अब यसको सुरुवात भएको छ।   
 

प्रकाशित मिति: : 2020-04-08 11:13:25

प्रतिकृया दिनुहोस्