लकडाउन : परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द

कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ।
 
कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी) को बैठकले यस्तो सिफारिस गरेको हो। 

'एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिनेछ' उनले भने।
जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा प्रहरी लागेको उनको भनाइ छ।

कोषमा रकम जम्मा 

मेलम्ची नगरपालिका रु २५ लाखको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ। रु २५ लाखको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाई नेपाल बैंक लिमिटेडले रु ३५ हजार सहयोग गरेको उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उनको भनाइ छ।

स्वाथ्यकर्मी २४सै घण्टा काममा
     
सुनकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको छ। गापामा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई काममा खटाइएको गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले जानकारी दिए। 'दैनिक रु एक हजार २०० भत्ता दिएर स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको छ' उनले भने। गापाभर १० स्वास्थ्यचौकी छन् भने ३५ स्वास्थ्यकर्मी कार्यरत छन्। प्रत्येक स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्ट, अहेव र अन्य दुई सहायक कर्मचारी रहेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-04-09 08:59:02

प्रतिकृया दिनुहोस्